काठमाडौं– सरकारले संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा याेगदान गर्ने व्यक्तिहरुलाई विभूषित गर्ने गरेकाे छ । यस्ताे विभूषण ज्युँदाे हुँदा मात्र हाेइन, व्यक्तिकाे याेगदान हेरेर मरणाेपरान्त पनि दिइन्छ ।
सरकारले विभूषण पाउनेहरूको सूची शुक्रबार सार्वजनिक गरेको छ । जसअनुसार राष्ट्रकै सबैभन्दा ठूलाे मानिएकाे महाउजज्ज्वल राष्ट्रदीप पदक यस वर्ष साहित्यकार स्वर्गीय मदनमणि दीक्षित र तत्कालीन पर्यटन उड्डयन तथा नागरिक उड्डयनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीले पाएका छन् ।
यसपटककाे पदवी पाउनेमा प्रधानमन्त्रीका निजी डाक्टरदेखि उनकाे उपचारमा सलग्न भारत र सिंगापुरका डाक्टर पनि परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा उपचारमा संलग्न सिंगापुरकी डाक्टर अनन्थरमन भाथसालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री पदकले विभूषित गरिएको छ ।
उनी नेसनल युनिभर्सिटी हस्पिटल सिंगापुरकी डाक्टर हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा उपचार गरेकी थिइन् । डाक्टर अनन्थरमन प्रधानमन्त्री ओली गत साउन र भदौमा उपचारका लागि सिंगापुर जाँदा दुवैपटक उपचारमा संलग्न थिइन् ।
सिंगापुर मात्र हाेइन, यसरी पदवी पाउनेमा भारतका तीन चिकित्सक पनि परेका छन् । म्याक्स ग्रुप अफ हस्पिटल भारतका अनन्त कुमार, इन्स्टिच्युट अफ एडल्ट रिकन्सट्रक्सन, स्पोर्टस् इन्जुरी एन्ड ज्वाइन्ट रिप्लेसमेन्टका राजीवकुमार शर्मा र एपोलो हस्पिटल दिल्लीका प्रमुख हर्ष दुवाले सिंगापुरकी डाक्टर अनन्थरमनसरहकै पदवी पाएका छन् ।
प्रधानमन्त्री ओलीका निजी चिकित्सक दिव्या सिंह शाहलाई पनि सोही मानपदवी दिएको छ । सोही मानपदवीबाट स्वर्गीय पर्यटन व्यवसायी आङछिरिङ शेर्पा र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई दिइएको छ ।
सरकारले रक्षामन्त्रीको ईश्वर पोख्रेलको अध्यक्षतामा विभूषण छनोट समिति गठन गरेको थियो । पोख्रेलको समितिले अन्तिम नामावली पठाएपछि मंगलबार साँझ मन्त्रिपरिषद बैठकले पदवी वितरणकाे निर्णय गरेको थियो ।
यस वर्षकाे संविधान दिवसको अवसरमा ६ सय ३४ जना विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।