काठमाडौं– पूर्वसांसद हरि वैरागी दाहालको ६२ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । विसं २०५१ को मध्यावधि निर्वाचनमा सङ्खुवासभा निर्वाचन क्षेत्र नं २ बाट नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) को प्रतिनिधित्व गर्दै उनी सांसद निर्वाचित भएका थिए ।
राजनीतिका अलावा साना जलविद्युत् विकासको अभियानकर्मीका रुपमा स्थापित दाहाल ‘कोलेस्ट्रोल’ रोगबाट पीडित भएको पारिवारिक सदस्य योगेन्द्रविजय दाहालले जानकारी दिए । पूर्वसांसद दाहालको उपचारका क्रममा मनमोहन कार्डियोलोजी अस्पताल महाराजगञ्जमा शुक्रबार बिहान निधन भएको हो ।
विसं २०१४ कात्तिक २८ गते मादी गाउँपालिका–५ सङ्खुवासभामा माता फाल्गुकुमारी र पिता यज्ञरत्न दाहालको कोखबाट उनको जन्म भएको थियो । उनका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।
दाहालको पार्थिव शरीरलाई अहिले धुम्बाराहीस्थित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिएको छ । पार्टी महासचिव विष्णु पौडेलले पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पण गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।