पहिले सिराहा, अहिले कीर्तिपुर किन लाग्छ प्रचण्डलाई आफ्नो माइत ?

काठमाडौं— नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले आफूलाई कीर्तिपुर आउँदा माइती आएजस्तो लाग्ने बताएका छन् । 

शनिबार कीर्तिपुरको पाँगास्थित जनसेवा माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटन गर्दै प्रचण्डले भने, ‘कीर्तिपुर आउँदा मलाई माइती आएजस्तै लाग्छ । झन्, पाँगा त मेरो माइतीघर नै हो जस्तो लाग्छ ।’

आफू युवाअवस्थामा कीर्तिपुरमा बसेको, त्यही ठाउँबाट पहिलो संविधानसभाको निर्वाचन जितेर प्रधानमन्त्री बनेकोले पनि भावनात्मक रुपमा आफूलाई कीर्तिपुर माइतीजस्तो लागेको उनले बताएका हुन् । 

यसअघि २८ माघ २०७५ मा महनौरामा एउटा स्वास्थ्य चौकी उद्घाटन गर्दा प्रचण्डले भनेका थिए, ‘सिराहा आउँदा मलाई एउटा छोरी माइत आएजस्तै लाग्छ, म यहाँ आउँदा माइत नै आएको हुँ ।’ उनले आफू कुनै कालखण्डमा सिराहामा नै सक्रिय भएको पनि स्मरण गरेका थिए । 

त्यसो त २०७० सालको संविधानसभा निर्वाचन सिराहाबाट नै उम्मेदवारी दिएका प्रचण्डले त्यहाँ भाषण गर्ने क्रममा आफू मधेशसँगको लभमा परेको बताएका थिए । 

नेपाली संस्कारअनुसार विवाह गरेकी महिला आफ्नो जन्मघर फर्किँदा र बुवाआमासँग भेट्दा पक्कै खुसी हुन्छन् । विवाहपछि जन्मघरलाई माइत भनिने प्रचलनमात्र नभएर यसबारे अनेक कथाहरु नेपाली समाजमा सुन्न पाइन्छ । 



तर, प्रचण्ड चाहिँ सिराहालाई किन आफ्नो माइतीघर मान्छन् त ? 

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने, ‘त्यहाँबाट चुनाव उठ्नु, त्यहाँका जनताले जिताउनुमात्रै भन्दा पनि पूर्वी मधेशमा कम्युनिस्ट आन्दोलनको उर्वर भूमी सिराहा भएकाले प्रचण्डले यसलाई आफ्नो माइतीजस्तै प्यारो मान्नुहुन्छ ।’



सापकोटाका अनुसार प्रचण्डले सिराहालाई कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भूमिका रुपमा लिन्छन् । २०५२ मा माओवादीले सशस्त्र युद्ध सुरु गर्नुअघि र सुरु गरेलगत्तै पनि प्रचण्डले लामो समय सिराहामा बिताएको र त्यहाँको एफेक्सन भएकाले प्रचण्डलाई सिराहा नजिक लाग्ने सापकोटाको तर्क थियो ।

तर, अब फेरि प्रचण्डले किन कीर्तिपुरलाई पनि आफ्नो माइती माने त ? 

‘पहिलो पटक निर्वाचनमा त्यहाँबाट नै लडेर प्रधानमन्त्री बनेकाले त्यस्तो भन्नुभएको होला,’ प्रचण्डनिकट एक नेताले भने, ‘माइती भनेको एक महिलाको भावना जोडिएको ठाउँ हो, विगतको सम्झना जोडिएको, बाल्यकालका स्मृतिहरु जोडिएको ठाउँ हो । प्रचण्ड कमरेडको पनि धेरै स्मृतिहरु कीर्तिपुरसँग जोडिएका छन् । उहाँले लामो समय कीर्तिपुरमा बिताएकाले त्यो भावना आउँदा त्यसो भन्नुभएको हुनसक्छ ।’

  • प्रकाशित मिति : असोज ४, २०७६ शनिबार १३:३६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया