[भाइरल भिडियो] दाइजोका लागि बुहारी कुट्दै भारतीय पूर्वन्यायाधीश !

नयाँ दिल्ली–  सामाजिक सञ्जालमा भारतीयहरुमाझ एउटा भिडियो भाइरल भइरहेको छ, भिडियोमा एक वृद्ध एउटी युवतीको हात समातेर लछारपछार गरिरहेका छन् र एक युवक उनीमाथि कुटपिट गरिरहेका छन् ।

ती वृद्ध हुन्, हैदरावाद उच्च अदालतका पूर्वन्यायाधीश नुटी राजमोहन राव । उनी आफ्ना छोरासित मिलेर बुहारी सिन्धुलाई लछारपछार पारिरहेका छन् । छोराचाहिँ पत्नीलाई भकुरिरहेको छ । 

सँगै दुई महिला यताउती गर्दै, कसैलाई हपार्दै जस्तो देखिन्छन् । तीमध्ये एक न्यायाधीश रावकी पत्नी हुन् भने अर्की उनको घरमा काम गर्ने महिला । 

शुक्रबार यो भिडियो बाहिरिनुअघि नै राव परिवारमाथि दाइजोका लागि बुहारीलाई दुर्व्यवहार गरेको अभियोग लागिसकेको थियो । सिन्धुले केही महिनाअघि नै हैदरावाद प्रहरीसमक्ष दुर्व्यवहारको उजुरी दिएकी थिइन् । २६ अप्रिलमा पूर्वन्यायाधीश, उनकी पत्नी, छोरा र एक घरेलु कामदारविरुद्ध दाइजो उत्पीडनको मुद्दा दायर गरिएको थियो । 

शुक्रबार यो सिसिटिभी फुटेज सार्वजनिक भएपछि भने मुद्दाबारे व्यापक चर्चा भइरहेको छ । उच्च अदालतको न्यायाधीश भइसकेका भेटेरान न्यायमूर्ति नै यस्तो हिंसामा उत्रिएको दृश्य चर्चाको विषय नबन्ने कुरा पनि त भएन ! 



‘क्रूरता, हिंसा र आपराधिक षड्यन्त्रका साथ दाइजो प्रताडना’को मुद्दा लागेका पूर्वन्यायाधीश राव र उनको परिवारविरुद्ध प्रहरीले सर्च वारेन्ट जारी गरेको छ । यो मुद्दामा सोमबार सुनुवाइ हुने बताइएको छ । भिडियो सार्वजनिक भएसँगै अदालतले सिन्धुका दुवै सन्तानको रेखदेखको जिम्मा सिन्धुलाई नै सुम्पने आदेश दिएको छ । यसअघि दुवै सन्तान राव परिवारसँगै थिए । 
 



  • प्रकाशित मिति : असोज ४, २०७६ शनिबार २३:४२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया