जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलगायतलाई स–सम्मान जेलमुक्त गर्न लागिएको प्रचण्डको खुलासा

सुनसरी– टीकापुर घटनाका मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढेको खुलासा भएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केहीदिन अघि बालुवाटारमा यसबारे छलफल भइसकेको खुलासा गरेका हुन् । 

जितिया पर्वका अवसरमा सुनसरीमा आइतबार आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘टीकापुर घटनाको सन्दर्भमा भर्खरै हामीले यो विषयमा छलफल गरी सबै झुठा मुद्दा खारेज गर्ने सैद्धान्तिक निर्णय गरेका छौँ ।’ केही समयपछि झुठा मुद्दा खारेज हुने र अहिले बन्दी अवस्थामा रहेका थारूहरू मुक्त हुनेमा आफूले विश्वास लिएको उनले बताए । 

टीकापुर घटनाकाको मुद्दामा अहिले राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रेशम चौधरीलगायत अहिले जेलमा छन् । उनीहरू सबैलाई स–सम्मान जेलमुक्त गर्न लागिएको संकेत गर्दै उनले भने, ‘जनताको मतबाट जितेका माननीयहरूलाई स–सम्मान ल्याउने वातावरण बन्छ भन्ने मेरो विश्वास पनि तपाईंहरूको अगाडि राख्न चाहन्छु ।’ 

२०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठजना प्रहरी र १ नाबालकको ज्यान गएको थियो । सोही मुद्दामा चौधरीसहित ५८ जना विरूद्ध अदालतमा मुद्दा परेको थियो ।

कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै  सांसद चौधरीलाई जन्मकैदको सजाय तोकेको छ । न्यायाधीश परशुराम भट्टराईको इजलासले चौधरीसहित ११ जनालाई जन्मकैद, १२ जनालाई ३ वर्ष, एक जनालाई ६ महिना र तीन जनालाई सफाई हुने फैसला गरेको हो । 

चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी वीरबहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भन्ने सिताराम चौधरी,गंगाराम डगौरा चौधरी, श्रवण चौधरीलाई जन्मकैद हुने फैसलामा उल्लेख छ। 





  • प्रकाशित मिति : असोज ५, २०७६ आइतबार १६:५३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया