चाडवाडको आसपासमा किन बढ्छ तरकारीको मूल्य ?

काठमाडौं— चाडवाडको ‘मौसम’ सुरु भइसकेको छ । नेपालमा वर्षेनी चाडवाडको समय सुरु भएपछि आम गुनासो सुनिन्छ– महंगी बढ्यो । 

हुन पनि वर्षेनी खाद्य वस्तुको मूल्य बढिरहेको छ । 

एउटा उदाहरण हुनसक्छ, गोलभेँडा । ठूलो गोलभेँडाको अहिलेको मूल्य गत वर्षको वा गत महिनासँगको तुलना गर्ने हो भने महंगीको वृद्धिदर सहज आँकलन गर्न सकिन्छ । 

गत वर्ष असोज महिनामा ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो ४६ रुपैयाँ थियो । अहिले बजारमा ठूलो गोलभेँडाको मूल्य ८५ रुपैयाँ प्रति किलो छ । यो गत वर्षको तुलनामा ८४ प्रतिशत बढी हो । 

गोलभेँडाको मात्र होइन, आलुको भाउमा पनि त्यस्तै वृद्धि देखिएको छ । गत वर्ष असोज महिनामा रातो आलु प्रति किलो ७३ रुपैयाँ थियो । गत महिना यसको भाउ ५८ रुपैयाँ प्रतिकिलो मात्र थियो । तर, यो महिना आलुको भाउ आकासिएको छ । एक किलो आलुमा १७ रुपैयाँ बढेर आइतबार कालिमाटी तरकारी बजारमा आलु प्रति किलो ७५ रुपैयाँको दरमा बिक्री गरियो ।

त्यस्तै, नेपाली भान्सामा अनिवार्य रुपमा प्रयोग गरिने प्याजको मूल्यमा पनि निकै ठूलो वृद्धि आएको छ । अहिले एक किलो प्याजको औसत खुद्रा मूल्य १ सय २५ रुपैयाँ रहेको छ । भदौको पहिलो सातासम्म प्याज प्रति किलो ६५ रुपैयाँमात्र थियो । झन्डै दोब्बर मूल्यवृद्धि भएको प्याजको मूल्य अझै बढ्दै जाने देखिन्छ । 



‘हामीकहाँ खपत हुने प्याज सबै भारतबाट आउँछ,’ कालिमाटी तरकारी तथा फलफूल बजार व्यवस्थापन समितिका सूचना अधिकृत विनय श्रेष्ठले भने, ‘दशैंको मुखैमा झन् बढ्ने देखिन्छ । अर्कोतिर भारतमा पनि प्याजको मूल्य बढेको छ । उता, भारतमा पनि प्याज पाकिस्तान, अफगानिस्तानलगायतका देशबाट आयात गर्ने कुरा चलिरहेको छ ।’

विनयका अनुसार नेपाली बजारमा माग हुने तरकारी तथा फलफूल नेपालको उत्पादनले थेग्न सक्दैन । त्यसैले भारतमा निर्धारण हुने मूल्यले नेपाली बजारलाई पनि प्रभाव पारिरहेको हुन्छ । 



श्रेष्ठले त आफूहरुले तरकारीको मूल्य निर्धारण नगर्ने भइ बजारको मागले निर्धारण गर्ने गरेको बताउँछन् । ‘खासमा बजारमा कति डिमान्ड छ र कति आपूर्ति छ भन्ने कुराले यसको निर्धारण गर्छ,’ श्रेष्ठले भने, ‘अहिले बेमौसममा पानी परेकाले पनि तरकारीहरुको मूल्य बढिरहेको छ । यसले अभाव पनि क्रियट गरेको छ । त्यसैले गत वर्षको तुलनामा यो वर्ष तरकारीको मूल्य बढेको हो ।’

श्रेष्ठ अब दशैं आउन लागेकाले अहिलेको तरकारी मूल्य यथावत रहन सक्ने अनुमान गर्छन् । ‘दशैंको पहिलो सातामा मूल्य बढ्न थाल्छ,’ श्रेष्ठले यसको कारण दिए, ‘किसानहरुले पनि कृषिबाट विश्राम लिने र दशैं मनाउने भएकाले बजारको मागअनुसार तरकारी तथा फलफूल पठाउन सकिँदैन, अनि भाउ थोरै बढ्छ ।’ तर, दशैं सकिएलगत्तै यो मूल्य फेरि पुरानै मूल्यमा झर्न सक्ने अनुमान उनले गरेका छन् ।  

दशैंमा नेपालमा मासुको खपत निकै बढ्छ । यसले ताजा हरियो तरकारीको मूल्य भने घटाउँदैन । ‘बरु लसुन, प्याज, टमाटरलगायत केही तरकारी तथा मसलाहरुको मूल्य बढ्छ,’ विनयले भने, ‘अहिले सोह्रश्राद्धको समय भएकाले अहिले तरकारीहरुको माग पनि बढेको छ र केही तरकारीहरुको मूल्य पनि बढेको छ ।’

अर्कोतिर, नेपालमा यसपटक मनसुन ढिलो गरि भित्रिएको छ । ढिलो भित्रिएको मनसुनका कारण मौसमविद्हरुले अझै एक साता वा दुई साता पानी पर्न सक्ने अनुमान गरेका छन् । यसले तरकारी उत्पादनमा तथा ढुवानीमा समस्या पारेकाले तरकारीको मूल्य अझ बढ्न सक्ने अनुमान विनयले गरेका छन् । 

  • प्रकाशित मिति : असोज ६, २०७६ साेमबार १२:५२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया