'ह्युस्टनमा ट्रम्पको तमासा', 'चुनाव प्रचारक बने मोदी' !

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अन्य देशको चुनावमा दखल दिएको आरोप लागेको छ । यो आरोप अरु कसैले नभई उनकै देशका प्रतिपक्षी सांसदले लगाएका हुन् । 

हिजो साँझ अमेरिकाको टेक्ससमा अमेरिकी–भारतीयहरुले आयोजना गरेको विशाल कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खुलेरै एकअर्काको तारिफ गरेका थिए । त्यसै क्रममा मोदीले ट्रम्पले विश्वकै लागि लाभदायक नीतिहरु लिएको भन्दै अबको चुनावमा ट्रम्प नै विजयी हुने विश्वास प्रकट गरेका थिए । 

कार्यक्रममा उनले ‘अबकी बार ट्रम्प सरकार’ (अबको पालो ट्रम्प सरकारको) सम्म भन्न भ्याएका थिए । उनको यही अभिव्यक्तिलाई लिएर भारतीय कांग्रेसका नेता तथा राज्यसभा सांसद आनन्द शर्माले मोदीलाई ट्रम्पको चुनाव प्रचारक बनेको आरोप लगाएका हुन् ।

‘मोदी हाम्रो प्रधानमन्त्रीका रुपमा अमेरिका गएका हुन्, न कि स्टार चुनाव प्रचारकका रुपमा,’ आनन्दको टिप्पणी छ, ‘प्रधानमन्त्री मोदीले बाहिरी देशको चुनावमा हस्तक्षेप गरेका छन् । यो भारतीय विदेश नीतिको उल्लंघन हो ।’

उता, अमेरिकी मिडियाहरुले भने टेक्ससमा भारतीय मूलका अमेरिकीहरुले गरेको ‘हाउडी मोदी’ कार्यक्रमलाई राष्ट्रपति ट्रम्पले अनावश्यक महत्व दिएको टिप्पणी गरेका छन् । 

‘द वाल स्ट्रिट’ जर्नलले त कार्यक्रममा ट्रम्पको उपस्थितिलाई ‘ह्युस्टनमा ट्रम्पको तमासा’ नै भनेको छ । न्युयोर्क टाइम्सले यसलाई भारतीय–अमेरिकीको भोट सोहोर्ने ट्रम्पको प्रयास भन्दै मोदीको अपिलपछि पनि ट्रम्पका लागि यो समुदायको भोट हासिल गर्न सहज नहुने टिप्पणी गरेको छ । 





  • प्रकाशित मिति : असोज ६, २०७६ साेमबार १८:५०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया