काठमाडौं— राजधानीको होटल याक एन्ड यतिमा नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘सी जिनपिङ विचारधारबारे कम्युनिस्ट पार्टीको धारणा तथा नेपाल कम्युनिस्ट पार्टीबीच विचारात्मक छलफल कार्यक्रम’ सुरु भएको छ । दुई दिनसम्म चल्ने यो कार्यक्रममा भाग लिन चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओ नेपाल आएका छन् ।
कार्यक्रममा ताओले कम्युनिस्ट पार्टीको पहिलो उद्देश्य भनेको जनतालाई सेवा दिनु भएको बताए । उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालसँग हातमा हात मिलाएर आगडि बढ्न चाहेको पनि उल्लेख गरे । ‘हामी अब पार्टीभित्र पनि कडा नीति लिएर अगाडि बढिरहेका छौँ,’ कार्यक्रममा उनले भने, ‘यहाँ कम्युनिस्ट पार्टी पनि कडा नीति नै लिएर आफ्नो एकता पूरा गर्दैछ ।’
‘हामी समावेशी र आपसी हितमा हुने काम गर्न चाहन्छौँ,’ उनले भने, ‘सीको सपना पनि त्यही नै छ ।’ सीको विचारधारा भनेको जनतालाई प्रमुख स्थानमा राख्ने भएको पनि उनले बताए । चीन र नेपाल दुवै देशमा कम्युनिस्ट पार्टीको शासन रहेको भन्दै ताओले कम्युनिस्ट पार्टीभित्र शुद्धीकरणमा विशेष जोड दिनु पर्ने आजको आवश्यकता रहेको पनि बताए ।
यही कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले पनि आआफ्ना कुरा राखेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रममा चीनले जति शक्ति आर्जन गरे पनि अन्य देशमा थिचोमिचो नगरेको र हस्तक्षेप नगरेको बताएका थिए । प्रचण्डले चाहिँ नेपाल एक चीन नीतिमा अडिग रहेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।