मासु नपकाइदिएको निहुँमा कैँची प्रहार गरी श्रीमतीको हत्या, छोराछोरी बिचल्लीमा

दीपायल– दीपायल–सिलगढी नगरपालिका वडा नं ३ बस्ने कृष्ण नेपालीले कैँची प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । गत असार २ गते  उनले श्रीमतीको हत्या गरेपछि अहिले छोराछोरी बिचल्लीमा परेका छन् ।

मासु नपकाइदिएको भन्दै रक्सीले मातिएका उनले अन्धाधुन्ध कैँची प्रहार गरी श्रीमतीको हत्या गरेका थिए । हत्यापछि अहिले कृष्ण जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

हत्या अभियोगमा कारागार चलान भएपछि अहिले कृष्णका चार छोराछोरी बिचल्लीमा परेका छन् । कृष्णकी आमा पार्वतीलाई अहिले आफ्ना नाति–नातिनीको साँझ–बिहानको भोक मार्ने चिन्ताले गाँजेको छ ।

कृष्णका छोराछोरीको गत असारदेखि पढाइ पनि अलपत्र परेको छ । स्थानीयवासी भरत द्वारियाका अनुसार पार्वतीलाई बाथरोगले ग्रसित बनाएको छ । पार्वतीको घरमा खानलाई अन्नको दाना पनि छैन । काम गरी कमाएर कलिला नातिनातिनालाई पाल्न सक्ने ताकत उनमा छैन ।

रक्सीले मातेका बुवाले आखै अगाडि आमाको वीभत्स हत्या गरेको देखेका कृष्णका छोरा–छोरी अहिले कसैसँग बोल्न समेत डराउँछन् । आमाको हत्यापछि बिचल्लीमा परेका उनीहरुको पढाइको जिम्मा दीपायल नगर प्रमुख मञ्जु मलासीले लिने प्रतिबद्धता गरेको पार्वतीले बताइन् ।

उनले भनिन्, 'नातिनातिनालाई पढाउँछु त भन्नुभएको हो, तर पछि आउनुभएन के पो भयो ।' तत्कालको समयमा नगरपालिका र वडा कार्यालयले किरिया खर्चबापत भनेर पार्वतीका परिवारलाई ३५ हजार राहत दिएको थियो ।





  • प्रकाशित मिति : असोज ८, २०७६ बुधबार १५:०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया