[जलवायु संकट] यो वर्ष एउटै टापुको हिउँले एक मिलिमिटरभन्दा बढी उकासियो समुद्री सतह

कोपन हेगन– विश्वकै ठूलो टापु ग्रिनल्यान्डको हिउँ अत्यधिक तीव्र गतिमा पग्लिरहेको भन्दै वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन् । वैज्ञानिकहरुका अनुसार यो वर्ष ग्रिनल्यान्डबाट पग्लेर समुद्रमा मिलेका बरफका चाक्लाले मात्रै पूरै विश्वको समुद्री सतह एक मिलिमिटरभन्दा बढीले उकासियो । 

खोजकर्ताहरुले पछिल्लो समय ह्वात्तै बढेको हिउँ पग्लने दरले आफूहरुलाई अचम्ममा पारेको बताएका छन् । सँगै, उनीहरुले समुद्री किनाराका सहरहरुको भविष्यबारे चिन्ता प्रकट गरेका छन् । 

दक्षिणी ग्रिनल्यान्डको एक हिमनदीको सतह सन् २००४ यता मात्रै १०० मिटरभन्दा बढी घटिसकेको छ । 

उत्तर एटलान्टिक र आर्कटिक महासागरका बीच झन्डै २२ लाख वर्गकिलोमिटरमा फैलिएको विशाल द्वीप ग्रिनल्यान्ड विश्वकै लागि महत्वपूर्ण छ । ग्रिनल्यान्डले नेपालभन्दा झन्डै १२ गुणा ठूलो, ३ किलोमिटर बाक्लो हिउँको च्यादर ओडेको छ । यसले विश्वको १० प्रतिशत ताजा पानी बोकेको छ ।

पछिल्लो समय यो टापु जलवायु परिवर्तनको असरसँग जुधिरहेको छ । जुलाईमा यहाँ भारी मात्रामा हिउँ पग्लिएको थियो, त्यतिखेर मात्रै यहाँको झन्डै १२ अर्ब टन बरफ बगेर समुद्रमा मिलेको थियो । 

डेनमार्कको एक स्वायत्त क्षेत्रका रुपमा रहेको ग्रिनल्यान्डलाई आफ्नो बनाउन अमेरिकाले पहिलेदेखि नै पहल गरिरहेको छ । दुई साताअघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड किन्न राखेको प्रस्ताव डेनमार्कले अस्वीकार गरेको खबर आएको थियो । 





  • प्रकाशित मिति : असोज ८, २०७६ बुधबार २१:२१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया