२० भदौ २०७६ ।
वीरगन्जकी मुस्कान खातुन पढ्नका लागि घरबाट बाहिर निस्किएकी मात्र थिइन् । केही पर उनलाई ‘प्रेमको प्रस्ताव’ राखेका एक युवा र उनका साथी गणेशमान चोकमा भेटिए ।
ती युवाको प्रस्ताव मुस्कानले अस्वीकार गरेकी थिइन् । आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेकोमा ती युवलाई ‘जलन’ भइरहेको थियो । फलस्वरुपः ती युवाले मुस्कानमाथि एसिड आक्रमण गरे ।
१५ वर्षीय खातुनलाई तत्काल उपचारका लागि काठमाडौं ल्याइयो । उनीमाथि एसिड आक्रमण गर्ने दुई युवा प्रहरीको नियन्त्रणमा पुगे । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
यता, एसिड आक्रमणमा परेकी मुस्कान कीर्तिपुरस्थित अस्पतालमा उपचार गराइरहेकी छिन् । वीरगन्जको हनुमान माध्यमिक विद्यालयमा ९ कक्षामा पढ्ने मुस्कान हिन्दी फिल्महरु पनि बारम्बार हेर्थिन् । र, उनलाई मन पर्ने कलाकार हुन्— कृति सेनन र वरुण धवन ।
अभिनेत्री सेनन र अभिनेता धवनको अब मुस्कानसँग सम्पर्क भएको छ । कृतिले त मुस्कानसँग भिडियो कल नै गरेकी छिन् भने वरुणले भिडियो सन्देश पठाएका छन् । भिडियो सन्देशमा वरुणले मुस्कानलाई ठीक भएपछि आफूसँग भेट्न आउन पनि अनुरोध गरेका छन् ।
वरुणले भिडियो सन्देशमात्र पठाएका छैनन्, ट्विटरमा मुस्कानबारे पनि लेखेका छन् । उनलाई यो जानकारी कृति सेननले नै दिएकी हुन् । खासमा कृतिसँग भिडियो कल हुँदा मुस्कानले नै आफूलाई मन पर्ने कलाकार वरुण धवन भएको जानकारी दिएकी थिइन् । सेननले पनि आफ्नो ट्विटरमा लेखेकी छिन्, ‘उनी बहादुर युवती हुन् । भगवानले उनलाई आर्शिवाद दिउन्, मलाई खुसी लागेको छ कि यो अवस्थामा उनको अनुहारमा मुस्कान देख्न सकियो । उनी ठीक भएपछि उनलाई भेट्न मन छ ।’
वरुणले चाहिँ आफ्नो ट्विटर एकाउन्टमा सेननलाई मुस्कानबारे जानकारी दिएकोमा धन्यवाद दिँदै लेखेका छन्, ‘मुस्कानलाई प्रेम र छिटो ठिक होस् भन्ने प्राथना । म उनलाई व्यक्तिगतरुपमा भेट्न चाहन्छु ।’
भारतका निर्देशक तथा निर्माता जुनैद मेननले यसबारे जानकारी आफ्नो ट्विटरमा पनि राखेका छन् । सेननसँग भिडियो कल गर्दा मुस्कान निकै उत्साहित देखिन्छिन् ।
After @Varun_dvn learned about her diehard fan from @kritisanon he immediately made a video for Muskan and sent it to her. The emotion is unexplainable. The girl has got new life and she wants to live all over again and hoping to meet Varun soon. Thank you guys for your efforts. pic.twitter.com/y2a9nwnTh3
— Farmer Zunaid Memon जुनैद (@JunaidFarmer) September 25, 2019
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।