एजेन्सी— अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीबीच भएको फोन वार्ताको स्क्रिप्ट बाहिर ल्याएको छ । योसँगसँगै ट्रम्पविरुद्ध महाभियोगको प्रक्रिया पनि सुरु भएको छ ।
यो कुराकानी ट्रम्प र जेलेन्स्कीबीच २५ जुलाईमा भएको थियो । उनीहरुबीच डेमोक्रेटिक पार्टीका सम्भावित राष्ट्रपति उम्मेदवार जो वाइडेन र एउटा युक्रेनी ग्यास फर्ममा काम गर्ने उनका छोराबीच छानबिन गर्न सुरु गर्ने विषयमा कुराकानी भएको थियो ।
त्यसो त ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो वाइडेनविरुद्ध अभियान चलाएको आरोपमा युक्रेनमा अमेरिकाले दिँदै आएको सैन्य सहयोग बन्द गर्ने विषय उठाएका छन् । तर, उनी र युक्रेनी राष्ट्रपतिबीच भएको कुराकानीलाई अहिले अमेरिकामा विशेष चासोका साथ हेरिँदै छ ।
यस विषयमा प्रश्नहरु उठ्न थालेपछि ट्रम्पले गत मंगलबार वाचा गरेका थिए, ‘युक्रेनी राष्ट्रपतिसँग भएको कुराकानीको पूरै स्क्रिप्ट जारी गरिनेछ ।’ तर, बुधबार जे विवरण बाहिर आएको छ, त्यो अमेरिकी अधिकारीले लिएका नोट्समात्र हुन् ।
ट्रम्पले जेलेन्स्कीसँग भएको यो फोन वार्तामा भनेका छन् कि अमेरिकी उपराष्ट्रपति जो वाइडेनले युक्रेनका शीर्ष सरकारी वकिल भिक्टर शौकिलाई हटाउन दबाब दिएका थिए । शौकिनले त्यो ग्यास फर्मको छानबिन सुरु गरेका थिए जहाँ वाइडेनका छोरा हन्टर वाइडेन पनि संलग्न छन् । तर, अन्य अधिकारीहरुले चाहिँ शौकिनले भ्रष्टाचारीहरुलाई प्रश्रय दिएकाले हटाएको बताएका छन् ।
ट्रम्पले आफ्नो कुराकानीमा भनेका छन्, ‘दोस्रो कुरा यो हो कि वाइडेनका छोराबारे निकै धेरै चर्चा छ । वाइडेनले त्यो छानबिन रोकिदिएका थिए । तर, तपाईं जे गर्न सक्नुहुन्छ, त्यो राम्रो हुनेछ ।’ उनले युक्रेनी राष्ट्रपतिलाई यो विषय आफूलाई अचम्ममा पार्ने विषय भएको पनि बताएका थिए ।
अमेरिकी संविधानअनुसार राष्ट्रपति देशद्रोह, घुस तथा अन्य संगीन अपराधमा संलग्न भएमा महाभियोगको सामना गर्नु पर्ने हुन्छ । अमेरिकामा महाभियोग प्रक्रिया हाउस अफ रिप्रिजेन्टेटिभ्समा सुरु हुन्छ । यो प्रस्तावलाई पारित गर्न सामान्य बहुमतको आवश्यकता पर्छ ।
यसबारे त्यहाँको सिनेटमा एउटा सुनुवाई पनि हुन्छ तर त्यहाँ महाभियोगका लागि स्वीकृति दिन दुई तिहाई बहुमतको आवश्यकता पर्छ । अमेरिकी इतिहासमा अहिलेसम्म कुनै पनि राष्ट्रपतिलाई महाभियोग लगाएर हटाइएको छैन ।
अमेरिकामा प्रतिनिधिसभाकी सभामुख न्यान्सी पोलोसीले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रक्रिया औपचारिक रुपमा सुरु गरिदिएकी छिन् । अब यो तल्लो सदनमा पारित हुनसक्ने अनुमान धेरैले गरेका छन् । तर, यसका लागि उपल्लो सदन अर्थात् सिनेटमा पनि दुई तिहाईको आवश्यकता हुन्छ । तर, अमेरिकी सिनेटमा अहिले रिपब्लिकनको बाहुल्यता छ ।
त्यसो त यसअघि पनि सन् २०१६ मा भएको निर्वाचनमा ट्रम्पले रुससँग सहयोग लिएको भन्दै ट्रम्पविरुद्ध महाभियोग चलाउनले विषयमा कुराकानी भएको थियो ।
अमेरिकी इतिहासमा कयौँ पटक महाभियोगको कुराहरु आउने गरेका छन् । तर, अहिलेसम्म दुई राष्ट्रपतिले मात्र यसको सामना गर्नु परेको छ । यसरी महाभियोगको सामाना अमेरिकाका ४२ औं राष्ट्रपति बिल क्लिन्टनले पनि सामना गरेका थिए । त्यसअघि अर्का राष्ट्रपति एन्ड्र्यु जोन्सनले पनि महाभियोगको सामाना गरेका थिए । उनी अमेरिकाका १७ औं राष्ट्रपति थिए । उनी यो महाभियोगमा एक भोटका कारण मात्र बचेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।