बिक्रीका लागि घरघरै जर्किनमा पेट्रोल, सिंगाे गाउँ नै असुरक्षित

नेपालगन्ज– बाँकेको नरैनापुर गाउँपालिकामा एउटा पनि व्यवस्थित पेट्रोलपम्प छैन । तर, यहाँका घरैपिच्छे पेट्रोल खरिद–बिक्री हुन्छ । घरघरै जर्किनमा पेट्रोल राख्ने प्रचलन रहिआएको छ । यसले कारोबार र आम्दानी त राम्रै भएको छ । तर, यहाँका प्रत्येक घर असुरक्षित बन्दै गइरहेका छन् ।

भर्खरै सडक विस्तार भएपछि यातायातका साधन बाक्लिँदै गएको नरैनापुर अहिले पनि बाँकेका अन्य स्थानीय तहको तुलनामा दुर्गम मानिँदै आएको छ । यहाँ विकासका पूर्वाधार छैनन् । हुलाकी सडक भर्खरै जोडिँदै छ । विद्युत् पुगेको छैन । केही वडामा सोलार जडान गरिएको छ । सडक सञ्जालले जोडिएपछि यहाँ यातायात साधन बढेका छन् ।
 
तर, गाउँपालिकामै व्यवस्थित पेट्रोलपम्प छैन । गाउँमा सवारी साधन बढेसँगै तेलको माग हुन थालेपछि नरैनापुर–२ का ६३ वर्षे जेब्रिल खाँले पाँच वर्षदेखि घरमै पेट्रोल बेच्दै आएका छन् । । तर, उनी आफैँ सुरक्षित महसुस भने गर्न नसकेको बताउँछन् । 'पेट्रोल राखिएको नजिकै ओछ्यान लगाएर सुत्छु,' उनले भने, 'प्रायः त यहाँ पेट्रोल चोरी हुने गर्छ ।'

उनका अनुसार चोरी हुन नदिन पेट्रोल छेउमै सुत्ने अधिकांश व्यापारी कसैले रिसले आगो लगाइदिने हो कि भन्ने त्रासमा हुन्छन् । नरैनापुर–२ का ४० वर्षीय श्रीश बाबाले दुई वर्षदेखि पेट्रोल बेच्न थालेका छन् । एक लिटर पेट्रोलमा १० देखि २० रुपैयाँसम्म नाफा देखेपछि यहाँका अधिकांश गाउँले पेट्रोल बिक्रीमा संलग्न भइरहेका छन् ।
 
यहाँ दैनिक १० देखि २० लिटर पेट्रोल बिक्री हुँदै आएको कारोबारमा संलग्नहरुको भनाइ छ । 'आगोबाट जोगाउनु मुख्य चुनौती छ,' बाबाले भने, 'ठूलै पम्प खोलेर व्यवस्थित रूपमा व्यापार गर्न लगानी छैन ।' खुलेआम पेट्रोल बेच्नु सिंगाे गाउँ नै असुरक्षित हुनु हो । यस्तो अवस्थामा स्थानीय तह बढी सचेत हुनुपर्ने देखिएको छ ।

खुला पेट्रोल व्यापारले सबैभन्दा बढी खतरा आगलागीको हुने नेपाल आयल निगम बाँकेका प्रमुख नवविनोद पोखरेलले बताए । उनका अनुसार गुणस्तरीय पेट्रोल नपाउनु, मात्रामा घटी हुनुले ग्राहक ठगिने सम्भावना पनि उत्तिकै बढी हुन्छ । स्थानीय तह, प्रहरी प्रशासन र निगमले यस विषयमा जनचेतना फैलाउनु जरुरी रहेको उनको भनाइ छ ।

नरैनापुरमा खुलेआम पेट्रोल बिक्री वितरण भइरहँदा स्थानीय तह र प्रहरी प्रशासनले रोकथामका लागि भने यस विषयमा चासो देखाएको छैन । खुलेआम पेट्रोल बेच्दा बस्ती नै असुरक्षित भएको नरैनापुर इलाका प्रहरी कार्यालयका प्रमुख भूपालसिंह ठकुरीले बताए । तर, यसको रोकथामका लागि भने प्रहरी मौन बसिरहेको स्थानीयवासीको गुनासो छ ।

प्रशासनले खुलेआम पेट्रोल बेच्नेलाई रोक लगाउन निर्देशन दिए पनि प्रहरीको बेवास्ता र स्थानीय तह मौन बस्दा खुलेआम पेट्रोल बिक्री रोकथाम हुनसकेको छैन । नरैनापुरको सिंगाे गाउँपालिकामै पेट्रोलपम्प नभएको गाउँपालिका अध्यक्ष मोहम्द इश्तियाक शाहले बताए । घरघरमा असुरक्षित पेट्रोल बिक्री नियन्त्रणको सम्भावना नभएको भन्दै उनले सुरक्षित बिक्रीका लागि सचेतना आवश्यक रहेको बताए ।





  • प्रकाशित मिति : असोज ९, २०७६ बिहीबार १५:२२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया