गाई मारिएको घटना : सिडिओदेखि मेयरसम्मलाई कारबाही सिफारिस

काठमाडौ– नेपालगन्जबाट दैलेख लैजानेक्रममा २४ गाईगोरु मारिएको घटनामा लापरबाही गरेको भन्दै सिडिओ, नगरपालिकाका मेयर र कार्यकारी अधिकृतमाथि कारबाही गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले यो घटना नियोजित हत्या नभई लापरबाहीको उपज भएको बताएको छ । 

उपसचिव सागरमणि पाठक नेतृत्वको छानबिन समितिले बुधबार गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको छ । नगर प्रहरीदेखि मेयरसम्मको लापरबाहीका कारण सो घटना भएको छानबिन समितिको ठहर छ । लापरबाही गर्ने बाँकेका तत्कालीन सिडिओ मदन भुजेल, नगरपालिकाका कार्यकारी अधिकृत हरि प्याकुरेल तथा धवलशमशेर राणामाथिसमेत विभागीय कारबाही गर्न समितिले सिफारिस गरेको छ । 

सुरक्षित रूपमा गाईगोरु ओसार्नका लागि सतर्कता नअपनाएको भन्दै समितिले उनीहरूलाई कारबाही गर्नुपर्ने सिफारिस गरेको हो । नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई गाईगोरु ओसार्न पत्राचार गरेको थियो । तर, कुनै अध्ययन नै नगरी सिडिओ भुजेलले अनुमति दिएका थिए । उनीहरूको कमजोर व्यवस्थापकीय क्षमताका कारण सो घटना भएको गृहका एक अधिकारीले बताए । बाँकेका तत्कालीन सिडिओ भुजेल हाल मोरङमा कार्यरत छन् । 

नगरपालिकाले बेवारिसे गाईगोरु राख्दै आएको कान्जी हाउसबाट दैलेखको जंगलमा लैजानेक्रममा शंकास्पद ढंगले गाईगोरुको मृत्यु भएको थियो । नियोजित रूपमा हत्या गरिएको आशंका गरिएपछि गृहले छानबिन थालेको हो । महानगरपालिकाले कान्जी हाउसमा धेरै गाईगोरु भएपछि ठेकेदारमार्फत दैलेख लैजाने जिम्मा दिएको थियो । ठेकेदारले एउटै ट्रकमा अत्यधिक गाईगोरु राखेपछि ट्रकभित्रै किचिएर मृत्यु भएको थियो । कतिपय घाइते भएका थिए । 





  • प्रकाशित मिति : असोज १०, २०७६ शुक्रबार ९:२४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया