दशैंमा किन छापिन्छ नयाँ नोट ?

काठमाडाैं– दशैं आयो,
खाउँला पिउँला, 
नयाँ लुगा लाउँला ।

 

यी पंक्ति अहिले पनि सहरबजार तथा गाउँघरमा दशैं नजिकिँदै गर्दा बालबालिकाहरुले सबैभन्दा बढी दोहोर्याउँछन् । त्यसो त अहिले नेपाली समाजको आर्थिक अवस्था र दशैं मनाउने परिपाटीमा ठूलो परिवर्तन आइसकेको छ ।

यही दशैं नजिकिँदै गर्दा नेपाल राष्ट्र बैंकमा नजानिँदो पारामा निकै ठूलो भीडभाड जम्मा हुन्छ । अन्य बैंकहरुमा पनि चेक लिएर पुगेका व्यक्तिहरुले चासो दिन्छन्– नयाँ नोट आएको छैन ?

नेपाल राष्ट्र बैंकले दशैंको छेको पारेर बजारमा वर्षनी नयाँ नोट पठाउने गर्छ ।  

नेपाल राष्ट्र बैंकले काठमाडौंसँगै देशका विभिन्न स्थानबाट आजदेखि नयाँ नोटको सटही सेवा उपलब्ध गराएको छ । राष्ट्र बैंकसँगै अन्य बैंकले नयाँ नोट वितरण थालेपछि बिहानैदेखि बैंकहरूमा भीड लागेको छ । दशैंमा हुने नयाँ नोटको मागलाई मध्यनजर गर्दै आजदेखि सटही सुविधा उपलब्ध गराइएको राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।  राष्ट्र बैंकका अनुसार याे सुविधा असाेज १०–१७ गतेसम्म उपलब्ध हुनेछ ।

नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका अनुसार, उपत्यकाभित्र विभिन्न बैंकसँग मिलेर ५, १०, २०, ५० र १०० दरका नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । उपत्यका बाहिर भने आफ्ना कार्यालयबाट मात्रै त्यस्तो सुविधा उपलब्ध गराएको छ । राष्ट्र बैंककाे मुद्रा व्यवस्थापन विभाग, बालुवाटारबाट मात्रै यसपटक नयाँ नाेट वितरण गरिएकाे छ । 



पछिल्ला केही वर्ष कस्तो भइसकेको छ भने दशैंमा नयाँ नोट चाहिन्छ नै भन्ने ‘लहड’ नेपालमा बढेको छ ।

खासमा दशैंमा किन निकाल्छ त राष्ट्र बैंक नयाँ नोट ? के दशैं र नयाँ नोटको कुनै सम्बन्ध छ ?



यसको सोझो उत्तर हो– छैन । तर, अहिले मनोविज्ञान कस्तो भइसकेको छ भने मानिसहरु दशैं आए पछि नयाँ नोटको व्यवस्थापन गर्न लाग्छन् ।

‘दशैं र नयाँ नोटको सम्बन्ध भनेको नयाँ कपडा र दशैंको जस्तो मात्र हो, ’ नेपाल राष्ट्र बैंकका एक उच्च तहका अधिकारीले भने ‘इस्टमित्र र बालबालिकालाई दक्षिणा दिँदा नयाँ नोट दिने प्रचलन बढेको हो, दशैं र नयाँ नोट वा राष्ट्र बैंकको त्यस्तो ठूलो सम्बन्ध छैन ।’

 

के दशैंमा मात्र छापिने हो नयाँ नोट ?

नेपाल राष्ट्र बैंकले दशैंमा जति नयाँ नोट बजारमा पठाउँछ, त्यति धेरै नयाँ नोट वर्षको अरु कुनै समयमा पठाउँदैन । यस्तो किन भने नेपाली बजार दशैंमा चलायामान हुन्छ । 

दशैंको आउनै लाग्दा नेपाली बैंकहरुमा निक्षेप निकै धेरै बढ्छ । सँगसँगै घरेलु किनमेलका लागि पैसा धेरै बजारमा पनि जान्छ । यही मौका छोपेर नेपाल राष्ट्र बैंकले नयाँ नोट बजारमा धेरै पठाउँछ । 

यसको अर्थ के हो भने नेपाल राष्ट्र बैंकले अरु समयमा पनि नयाँ नोट बैंकहरुमा ‘सर्कुलेट’ त गरिरहेको हुन्छ, तर दशैंमा चाहिँ उसले निकै धेरै नयाँ नोटहरु निस्कासन गर्छ । यही समयमा नयाँ नोटको माग बढी हुने भएकाले पनि राष्ट्र बैंकले यो समयमा धेरै नयाँ नोट बजारमा पठाउने हो । त्यसरी पठाउने नयाँ नोट अहिले नै छापिएको भन्ने चाहिँ हुँदैन । ती नयाँ नोट निकै पहिले छापिएका पनि हुनसक्छन् जुन राष्ट्र बैंकको स्टकमा राखिएको हुन्छ ।

 

नेपाली नयाँ नोटको आयु कति हो ?

नेपाल राष्ट्र बैंकले नयाँ नोट छाप्दा तीन वर्ष तीन महिनाको मागको प्रक्षेपण गर्छ । र, त्यो प्रक्षेपणअनुसार नयाँ नोट छाप्न ग्लोबल टेन्डर आह्वान गरेर विदेशी छापाखानामा पठाउँछ । 

नेपालका सबै नोट एउटै कम्पनीबाट नै छापिएका हुन्छन् भन्ने चाहिँ छैन । विभिन्न मुद्रा विभिन्न कम्पनीबाट छापिएका पनि हुन सक्छन् । 

यो वर्ष राष्ट्र बैंकले निस्कासन गर्ने नयाँ नोटमध्ये ५, १०, २०, ५० र १०० का नोटको आयु दुई वर्ष हुने अनुमान गरेको छ । पाँच सय र हजारका नोटको आयु साढे तीन वर्ष हुने अनुमान राष्ट्र बैंकको छ ।

  • प्रकाशित मिति : असोज १०, २०७६ शुक्रबार ११:४५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया