काठमण्डौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्राध्यापक केआर खम्बूको जीवनकथा ‘छायाँको लस्कर’ सार्वजनिक गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले खम्बूको पुस्तकले आफूलाई विगतका संगर्षशील दिनहरू सम्झना गराएको उल्लेख गरे ।
प्राध्यापक खम्बू झापाको वामपन्थी आन्दोलनदेखि नै राजनीतिमा क्रियाशील व्यक्ति हुन् । उनी झापा आन्दोलनताका वेला प्रधानमन्त्री केपी ओलीलगायत नेतासँग निकट रहेर काम गरेका राजनीतिकर्मी पनि हुन् । पछिल्लो चरणमा भने उनी प्राज्ञिक क्षेत्रमा क्रियाशील छन् ।
‘यो पुस्तकले मलाई आफ्नो विगतको सम्झना गरायो । यस पुस्तकले एउटा राजनीतिक आन्दोलनको कथा समेटेको छ,’ प्रधानमन्त्रीले आफ्नो मन्तव्यको क्रममा भने, ‘यो पुस्तकको नाम ‘छायाँको लस्कर’ छ । यहाँ अनुहारहरूको कुरा छैन छायाँको कुरा छ, किनभने खम्बूजीको स्मृतिमा अहिले अनुहारहरू होइनन्, छायाँहरू छन् र उहाँले तपाईं हामी कसैलाई पनि वा खुद उनकी जीवनसाथी शुभलक्ष्मीलाई पनि छायाँको रुपमा मात्र महसुस गर्न सक्नुहुन्छ ।’
आँखाको ज्योति गुमेका प्राध्यापक केआर खम्बूको वर्तमान अवस्थालाई संकेत गर्दै प्रम ओलीले भने, ‘तर खम्बूजीले देख्न छाड्नुभएको छैन । उहाँको अन्तरदृष्टि खुलस्त छ ।‘ प्रधानमन्त्रीको प्रतिक्रिया सुनिरहेका लेखक केआर खम्बू शिर हल्लाउँदै सहमति दर्शाइरहेका देखिन्थे ।
मन्तव्यका क्रममा प्रधानमन्त्री ओलीले आफू भूमिगत हुँदा लेखकसँग निकट रहेको जानकारी मात्र गराएनन्, उनले आफ्नै परिचित शैलीमा केआर खम्बूसँगको संगत र निकटताको प्रसंग कोट्याउँदै केही रोचक क्षणहरूको सम्झना गरे । उनका रोचक प्रसंगले सभा हलमा हाँसोको लहर फैलिएको थियो ।
‘यो किताबमा उहाँको संघर्षशील जीवनको गाथा, व्यथा प्रकट भएको छ । झापा आन्दोलन र त्यसको विस्तारमा र साथै कोअर्डिनेसन कमिटी बनाउँदाताकादेखि खम्बूजीसँग मेरो संगत हो । तर, यो पुस्तकमा मेरो मात्र होइन, धेरैको कथा समेटिएको छ ।’
कार्यक्रमा पुस्तक ‘छायाँको लस्कर’ र लेखकका बारेमा प्राध्यापक जंगब चौहानले परिचयात्मक टिप्पणी गरेका थिए । केआर खम्बू आफ्नो मन मिल्ने सहपाठी भएको जानकारी गराउँदै प्राध्यापक जंगबले पनि विगतका दिनहरूको सम्झना गरे । उनले विराटनगरमा क्याम्पस पढ्दाका दिनहरू सम्झँदै लेखक खम्बूबारे आफ्नो धारणा राखे ।
प्रधानमन्त्रीबाट आफ्नो पुस्तक सार्वजनिक गराउन पाएकोमा आफू प्रफुल्ल भएको भन्दै प्राध्यापक खम्बूले किताबको रचनागर्भको बारे प्रस्ट्याएका थिए ।
विमोचन कार्यक्रमलाई प्रकाशन संस्था नेपालयकातर्फबाट युवासाहित्यकार भूषिता वशिष्ठले प्रकाशकीय धारणा राखेकी थिइन् । कार्यक्रम सञ्चालनकै क्रममा भूषिताले किताबमा रहेका रोचक उद्दरणहरू वाचन पनि गरेकी थिइन् । उनले पुस्तकका लेखकको संगतका वेला कालीचरणका नाममा प्रधानमन्त्री ओलीले लेखेको कविता पनि वाचन गरेकी थिइन् । सो कविता विमोचित पुस्तक ‘छायाँको लस्कर’मा संकलित छ ।
नेपालय पब्लिकेसन्सले प्रकाशन गरेको ‘छायाँको लस्कर’ ३७० पृष्ठमा समेटिएको छ । पुस्तकको मूल्य ५४५ रुपैयाँ रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।