काङ्‌ग्रेसमा गच्छदार समूहलाई ११ केन्द्रीय सदस्य

काठमाडाैं— कांग्रेससँग एकीकरण गरेको तत्कालीन विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट ११ केन्द्रीय सदस्य थपिएका छन् । यसअघि नै गच्छदार उपसभापति भएबाहेक अन्य ११ केन्द्रीय सदस्य थपिएका हुन् । थपिएका केन्द्रीय सदस्यको नाम  सार्वजनिक गरिएको छैन । 

गत निर्वाचनअघि तत्कालीन फोरमले कांग्रेससँग एकता गरेको थियो । एकता दुई वर्षपछि टुंग्याउँदै समायोजन समितिले केन्द्रदेखि पार्टीको वडा तहसम्मकै समायोजन टुंग्याएको हो । समायोजन समितिले गरेको प्रस्तावलाई शुक्रबार बसेको केन्द्रीय समिति बैठकले पास गरेको छ ।

केन्द्रीय कार्यसम्पादन समिति गठन गर्दा समायोजनको प्रस्तावलाई समेत ध्यानमा राखी सहमतिका आधारमा समावेश गर्ने निर्णय कांग्रेसले गरेको छ । यसबाहेक महासमिति सदस्य दुई सयजना, महाधिवेशन प्रतिनिधि ६ सयजना सो समूहले पाएको छ । यसबाहेक केन्द्रीय विभाग र प्रदेश समिति गठन गर्दा समायोजनको प्रस्तावसमेतलाई ध्यानमा राखी सहमतिका आधारमा समावेश गर्ने निर्णय कांग्रेसले गरेको छ । 

भ्रातृ संघको केन्द्र र प्रदेश तहको समायोजनको हकमा पार्टीको केन्द्रीय कार्यसमितिले तथा जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेश सभा क्षेत्र, नगर, गाउँ कार्यसमितिको समायोजनको हकमा सम्बन्धित भ्रातृ संघको केन्द्रीय कार्यसमितिले निर्णय गरेबमोजिम हुनेछ ।

तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट केन्द्रमा प्राप्त भई जिल्लामा पठाइएका क्रियाशील सदस्यता छानबिन र अद्यावधि गरी जिल्लाबाट केन्द्रमा प्राप्त भएपछि अन्तिम निर्णय गर्ने भएको छ । यस सम्बन्धमा ५१ वटै जिल्लालाई छानबिन र अद्यावधि गरी शीघ्रातिशीघ्र क्रियाशील सदस्यताको नामावलीको सूची अनिवार्य रूपमा केन्द्रमा पठाउन पुनः कांग्रेसले निर्देश गरेको छ ।

गच्छदार समूहले जिल्ला कार्यसमितितर्फ मोरङ जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य १५ जना, सुनसरी जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ११ जना, कैलाली जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ११ जना, बर्दिया जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ५ जना, सप्तरी जिल्ला कार्यसमितिमा उपसभापति १, सह–सचिव १ र सदस्य ५ जना, सर्लाही, दाङ, पर्सा र काभ्रे जिल्ला कार्यसमितिमा उपसभापति १/१ र सदस्य ७/७ जना पाउने भएको छ । 



त्यस्तै, झापा र रुपन्देही जिल्ला कार्यसमितिमा उपसभापति १/१ र सदस्य ५/५ जना, वारा र बाँके जिल्ला कार्यसमितिमा उप–सभापति १/१ र सदस्य ३/३ जना, ओखलढुंगा, सिरहा, धनुषा, रौतहट, चितवन, कपिलवस्तु र कञ्चनपुर जिल्ला कार्यसमितिमा सहसचिव १/१ र सदस्य ३/३ जना पाउने भएको छ । काठमाडौं र पश्चिम नवलपरासीमा पछि निर्णय लिने सहमति भएको छ । उदयपुर र महोत्तरी जिल्ला कार्यसमितिमा सह–सचिव १/१ र सदस्य २/२ जना गच्छदार समूहले पाएको छ ।

तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट जिल्ला कार्यसमितिको पदाधिकारी र सदस्यमा नाम सिफारिस गर्दा जिल्लाभित्रका प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा भौगोलिक बनावटलाई समेत समेट्ने गरी नाम छनोट गर्ने समझदारी भएको छ । 



  • प्रकाशित मिति : असोज ११, २०७६ शनिबार १०:४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया