काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ कार्यसमिति चुनेको छ । शनिबार भएको निर्वाचनपछि क्यानले नयाँ नेतृत्व पाएको हो ।
क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् । उनले निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी विनयराज पाण्डेलाई पराजित गरेका हुन् । चन्दले ४४ मत ल्याउँदा पाण्डेले १५ मत मात्र ल्याएका छन् ।
त्यस्तै, उपाध्यषमा राजुबाबु श्रेष्ठले मिङ्मा डन्डु शेर्पालाई हराएका छन् । उनीहरुले क्रमशः ४१ र १७ मत ल्याएका छन् ।
सचिवमा विनोद मैनालीलाई पराजित गर्दै अशोकनाथ प्याकुरेल विजयी भएका छन् । प्याकुरेलले ४३ मत ल्याउँदा मैनालीले १५ मत ल्याए । कोषाध्यक्षमा रोशनकुमार सिंहले ४५ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी उपेन्द्र भट्टराईले १३ मत ल्याए।
त्यस्तै, सदस्यमा प्रदेश १ मा कैलाश विष्ट र प्रदेश ३ मा अमीरवीर पाण्डे विजयी भए । प्रदेश २ बाट दाउद अन्सारी, प्रदेश ४ बाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रशान्त मल्ल, प्रदेश ६ बाट पदम खड्का र प्रदेश ७ बाट विक्रम विष्ट निर्विरोध चयन भएका थिए ।
त्यस्तै, महिला सदस्यमा जयन्ती भट्ट पनि निर्विरोध भएकी थिइन्। उनी एक्ली महिला प्रतिनिधि भएकाले उम्मेवादरी दिए लगत्तै निर्विरोध भएकी हुन् । केन्द्रीय समितिमा एक जना महिला सदस्य अनिवार्य हुने प्रावधान छ । खुला सदस्यमा भने वीरेन्द्र बहादुर चन्द, दुर्गा पाठक करण क्षेत्री माधव कर्माचार्य र सञ्चय सिंह चयन भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।