के हो कब्जियत ? कसरी पाउने छुटकारा ?


हामी संसारमा थरीथरीका मानिस भेट्छौँ, जो बाहिरबाट एकदम फ्रेस र चम्किला देखिन्छन्, तर उनीहरुको शरीरभित्रको अवस्था उनीहरुबाहेक अरु कसैलाई थाहा हुँदैन । अझ कतिपयलाई त आफैँलाई पनि थाहा नहुन सक्छ । एउटा पुरानो भनाइ छ– जसको पेट सफा छ, जोमाथि ऋणको भार छैन ऊ नै संसारको सबैभन्दा सुखी व्यक्ति हो ।

शरीरको भित्री सौन्दर्य ताजगी बनाउन त उसको स्वास्थ्य राम्रो हुनु जरुरी छ । शरीरभित्र हुने थुप्रै समस्यामध्ये एक समस्या हो, ‘कब्जियत’ । जसलाइ अंग्रेजीमा ‘कन्सटिपेसन’ पनि भनिन्छ । कब्जियत पाचन प्रणालीसँग जोडिएको एउटा यस्तो समस्या हो, जुन हरेक उमेर वर्गका मानिसमा हुन सक्छ । यस अवस्थामा भएका मानिसले केही घरेलु उपचार अपनाएर आफ्नो स्वास्थ्यमा सुधार ल्याउन सक्छन् ।  

के हो कब्जियत ?

कब्जियतका कारण पीडित व्यक्तिको पेट राम्रोसँग सफा हुन पाउँदैन । जसका कारण तल्लो आन्द्राले तरल पदार्थ सोस्न बढी समय लाग्छ, जसबाट सुख्खा र कडा मल जम्मा हुने क्रम बढ्दै जान्छ र उसलाइ मल त्याग गर्न कठिनाइ हुन्छ । कब्जियतको समस्या हुनेलाई राम्रोसँग दिसा हुँदैन, दिसा सुक्खा हुन्छ र थोरै मात्र बाहिर आउँछ । 

सामान्यतयामा मानिसले दिनमा एकपटक त दिसा गरेकै हुन्छ । तर, जसलाई कब्जियतको समस्या छ, उसले लगातार धेरै दिनसम्म मल त्याग नगरेको हुन सक्छ । सजिलो भाषामा भन्नुपर्दा कब्जियत हुनुको अर्थ शरीरमा तरल पदार्थको कमी हुनु हो ।

यसकारण हुन्छ कब्जियतका



–वेला न कुवेला खाना खाने बानी
–तेलमा तारेका मैदाका परिकार, अत्यधिक पिरो मसलेदार चटपटे खाना खानु
–लगातार पेनकिलर, नार्कोटिक्स वा दुःख कम गर्ने औषधि सेवन
–हर्मोन्सको गडबडी, थाइराइड वा मधुमेहको बिरामी हुनु
–पहिला खाएको खाना पच्न नपाँउदै फेरि खाना खानु
–पानी कम पिउने बानी वा राम्रोसँग चबाएर खाना नखाँदा
–मानसिक तनाव, चिन्ता, रिस वा शोकको अवस्थामा खाना खाँदा
–खानामा रेसायुक्त खानाको कमी
–धेरै चिया, कफी, चुरोट, रक्सी, सुर्ती आदिको सेवन 
–व्यायाम गर्दै नगर्नु, धेरै आराम गर्न रुचाउने बानी
–खाना खानेबित्तिकै फ्रिजको चिसो पानी पिउनु
–राति ढिला खाना खानु र खाना खानेबित्तिकै सुत्नु
कब्जियतका लक्षण
–दिसा धेरै साह्रो र सुक्खा हुनु
–हप्तामा ३ पटकभन्दा कम दिसा लाग्नु 
–दिसा गर्ने वेलामा धेरै गाह्रो हुनु
–दिसा गर्न धेरै बल गर्नुपर्ने अवस्था आउनु
–दिसा गरिसक्दा पनि अझै बाँकी छ जस्तो लाग्नु
–पेटमा दुख्नु
–टाउको दुख्नु
–पेटमा ग्यास जम्मा हुनु 
–पेटको ऐठन
–अपच हुनु
–वाकवाकति लाग्नु र भोक कम लाग्नु
–खुट्टामा दुखाइ हुनु 
–रिंगटा लाग्नु
–सास गनाउनु
–ढाड दुख्नु
–एकदमै कमजोरी भएको अनुभव हुनु
–पेट भारी भएजस्तो अनुभव हुनु
–ब्लडप्रेसर बढ्नु
–पेटमा ग्यास भरिनु
–डिप्रेसन हुनु
–घाँटी दुख्नु

यसरी पाइन्छ कब्जियतबाट छुटकारा



१.अत्यधिक पानी पिउने : थोरै मात्रामा पानी पिउनाले कब्जियत हुन सक्छ । यो समस्यामा आन्द्रामा जम्मा भएको  खाना सुक्छ, त्यसैले दिसा गर्न अत्यधिक बल लगाउनुपर्छ । यस्तो समस्या भएका व्यक्तिले बढी मात्रामा पानीको सेवन गर्नुपर्छ । एक दिनमा करिब ३–४ लिटर पानीको सेवन गर्ने बानी बसाल्नुपर्छ । खाना खानुभन्दा आधा घन्टाअघि वा पछि मात्र पानी पिउने बानी बसाल्नुपर्छ । 

२. मेवा र अम्बा खाने : कब्जियतको समस्या छ भने मेवा र अम्बा खानुपर्छ । दुवै फलमा भएको गुणले हाम्रो पेटलाई फाइदा गर्छ । 

३. तामाको भाँडामा राखेको पानी पिउने : तामाको भाडामा एक चम्चा त्रिफला पानीसँग मिसाएर रातभरि राख्ने र बिहान पानी छानेर पानी पिउनुपर्छ । यो बानी दिनहुँ गर्नाले पुरानोभन्दा पुरानो कब्जियतबाट पनि मुक्ति मिल्छ ।

४. बदामको तेल : बदामको तेल पनि कब्जियतको समस्यामा एकदमै लाभदायक हुन्छ । यसले आन्द्राको कार्यक्षमता बढाउने काम गर्छ । राति सुत्नुभन्दा अघि दूधमा एक चम्चा बदामको तेल मिसाएर पिउनुपर्छ । १५ दिनसम्म लगातार यो उपाय लागू गरेमा कब्जियत ठीक हुन्छ ।

५. कागती पानी : एक चम्चा मनतातो पानीमा एउटा कागती निचोरेर पिएमा आन्द्रामा जम्मा भएको मल बाहिर निष्काशन गर्न मद्दत मिल्छ ।

६. तातो दूधः रातिमा तातो दूध पिएर सुत्नुपर्छ । यदि आन्द्रामा मल टाँसिएर बसेको छ भने दूधमा क्यासटर तेल मिलाएर पिउनुपर्छ ।

७. रेसायुक्त खानेकुराः रेसादार खानेकुरा खानुपर्छ । हरियो सागसब्जी, फलफूल वा सलादमा अत्यधिक मात्रामा फाइबर पाइन्छ । कब्जियतबाट छुटकारा पाउन पालकको जुस पनि लाभदायक हुन्छ ।

८. सुक्खा अंगुर (दाख): १०–१२ वटा सुक्खा अंगुर दूधमा मिलाएर उमाल्ने र राति सुत्नुअघि पिउनुपर्छ । बिहान हुन्जेल कब्जियत खुल्छ ।

९. सुन्तलाः ८–१० दिनसम्म लगातार बिहानपख खाली पेटमा सुन्तला या सुन्तलाको जुस पिउनाले कब्जियत ठीक हुन्छ । तर, जुसमा केही पनि नमिलाई खानुपर्छ ।

१०. व्यायामः दिनहुँ व्यायाम गरेमा कब्जियतको समस्याबाट छुटकारा मिल्छ ।

  • प्रकाशित मिति : असोज १२, २०७६ आइतबार १३:१३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया