नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्टलाई कहिल्यै सत्ता आउन नसक्ने गरी सिध्याउन सक्ने बताएका छन् । कांग्रेसले राणा शासन, पञ्चायत र राजतन्त्र सिध्याएको भन्दै कम्युनिष्ट पनि सिध्याउन सक्ने उनले बताए ।
सभापति देउवाले काभ्रेको बनेपामा नेपाल शिक्षक संघले आयोजना गरेको वडा दशैं, दिपावली तथा छठको शुभकामना आदनप्रदान तथा चियापन कार्यक्रममा सम्बोधन गर्दै चाह्यो भने कम्युनिष्टलाई सिध्याउन सक्ने बताए । ‘नेपालको कम्युनिष्ट पार्टीमा विचार नै छैन,’ उनले भने, ‘कहिले लेलिन, कहिले माओत्सेतुङ हुँदै अहिले सिजिनपिङको विचारमा हिँडिरहेका छन् ।’
जनताको मन जिते मात्र मत जित्न सकिने उल्लेख गर्दै देउवाले वर्तमान दुई तिहाईको कम्युनिष्ट सरकारले जनतालाई दुःख मात्र दिएको बताए । जनतालाई अनावश्यक कर थोपारेर दुःख दिएको उनको भनाइ थियो ।
सोही कार्यक्रममा कांग्रेस नेता कृष्ण सिटौलाले वर्तमान सरकार एक दलीय शासन लाद्न प्रयासरत रहेको बताए । गणतन्त्र आइसक्दा कम्युनिष्ट सरकारले चीनको एक दलीय विचारधारामा लागेको उनले आरोप लगाए । ‘हामीले गुठी विधेयकदेखि अन्यमा सरकारलाई घुडा टेकाइसकेका छौँ,’ उनले भने, ‘फेरि सरकारलाई घुडा टेकाउन नपरोस ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।