Wed, 20 Nov, 2019


हिटलर पथमा नेपाल कम्युनिस्ट पार्टी !
फरकधार / असोज १२, २०७६

५ मार्च १९३३ । विश्वलाई फरक तरिकाले मोडिदिएको दिन हो यो । त्यो दिन जर्मनीमा आम निर्वाचन थियो । प्रतिस्पर्धामा उत्रिएका थिए तीन दल, एनएसडिएपी, एसपिडी र केपिडी । र, यी तीन दलमध्ये ४३ प्रतिशत मत ल्यायो, एनएसडिएपी । 



सामान्यतया एउटा दलले एउटा देशमा ४३ प्रतिशत मत ल्याउँदा विश्व नक्सामा त्यस्तो ठूलो परिवर्तन आउँदैन भन्ने बुझाइ हुनसक्छ । तर, जब त्यो दललाई एडोल्फ हिटलरको थियो भन्ने थाहा हुन्छ, सबैले सोचिरहेको नक्सामा एउटा परिवर्तन आउँछ । सामान्य बहुमतका लागि चाहिने ३२४ सिटमा २८८ सिट जितेको थियो हिटलरले सन् १९२१ देखि नेतृत्व गरिरहेको दलले । 

हिटलर सत्तामा पुगे । त्यसपछिको इतिहासका पाना पल्टाउँदा जसले पनि ठूलो विष्मयको अनुभूत गर्छन् नै ।

एकपटक लेखिएको इतिहास अर्कोपटक पुनर्लेखन कुनै शासकले पनि गर्न सक्दैन । तर, सत्ताको उन्मादमा शासकहरु यो सोच्छन् कि इतिहास उनीहरुकै पक्षमा लेखिन्छ । उनीहरुलाई हेक्का हुँदैन त्यो आफूले लेखाएको इतिहासका भित्री पानामा वा शब्दहरुबीच वास्तविकता अर्कै लेखिएको हुन्छ । ती लुकाइएका शब्दहरु विस्तारै यत्रतत्र यसरी छरिन्छन् त्यसलाई सम्हालेर फेरि आफ्नो गुणगानमा लगाउन कसैले पनि सक्दैन । सक्दैनन् सत्तासीनहरुका वरपर रहेर आफूले आकाश थामिरहेको अभिनय गर्नेहरुले पनि ।

जो अभिनय गरिरहेका छन्, उनीहरुलाई लागिरहन्छ, उनीहरुको रंगमन्चको पर्दा कहिल्यै उत्रिँदैन । उनीहरुलाई लागिरहन्छ— संसारमा उनीहरुमात्र सुरक्षित छन् ब्ल्याकहोलहरुबाट । अनि मन चिस्याउने रोदनलाई उनी छोप्न खोज्छन्, अट्टाहासपूर्ण हाँसोबाट ।

पछिल्ला गतिविधि हेर्दा नेपाल कम्युनिस्ट पार्टीमा यस्तै एउटा रंगमन्चमा अभिनय गरिरहेका केही ‘अभिनेता’हरुको बाहुल्यता बढ्दै गएको आभास गर्न सकिन्छ । यसका लागि दुई घटनालाई लिऔँ । 

पहिलो, चितवनमा ज्ञानेन्द्र शाही नामका एक युवामाथि भएको आक्रमण । ज्ञानेन्द्र शाही को हुन् भन्ने यो समाजले अझै चिनिसकेको छैन । चिन्नु पनि पर्दैन । किनकि संक्रमणकालिन समयमा जो कोहीले आफूलाई जुनसुकै बिल्ला भिराएर पनि चिनाउन प्रयास गरिरहेको हुन्छ । त्यस्तो प्रयास सशस्त्र द्वन्द्वबाट मूलधारको राजनीतिमा आउँदा किनारामा धकेलिएका केही माओवादी लडाकूले पनि गरिरहेका छन् । जसरी ती आफ्नो माउ पार्टी वा हिजोका आफ्ना नेतामाथि बेलाबेलामा खनिएका छन्, त्यसरी नै ज्ञानेन्द्र शाही नामबाट एक झुन्ड हामीले पाएका यी उपलब्धीमाथि खनिएका छन् । 

ज्ञानेन्द्र शाहीजस्ता युवाहरुले जे गरिरहेका छन्, त्यो नेपाली समाजको स्थिरताका लागि स्वीकार्य छैन । उनीहरुका पपुलिस्ट नाराहरुले नेपाली समाजलाई झन् विग्रहतर्फ धकेलिरहेको निष्कर्ष निकाल्न कुनै समाजशास्त्रको विद्यार्थी हुनु जरुरी छैन । तर, यसको उपचार भनेको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले जे गरे, त्यो कदापि होइन । उनीहरुजस्ता वा उनीहरुको जस्तो उग्रतालाई सम्बोधन गर्ने काम राज्यको हो । सत्तामा रहेको दलका कार्यकर्ताले गरेका पाइलापाइलाको जवाफ नेतृत्वले दिनुपर्छ । अन्यथा नेतृत्वले स्वघोषणा गर्नुपर्छ, ऊ फेलियर हो । सत्तासिन नेतृत्व फेलियर भनेको राज्य फेलियर हुनु हो । यसको जवाफ प्रत्येक नेपालीले आफूले निर्वाचनमा मत दिएको नेतासँग सोध्न पाउनु पर्छ ।

दोस्रो, आज (आइतबार) तनहुँमा नेपाली काङ्ग्रेसका नेताहरुमाथि जे भयो, त्यो पनि स्वीकार्य छैन । यस्तो हुलहुज्जत गर्ने काम सत्तामा रहेको पार्टीलाई सुहाउँदैन, उसका कार्यकर्तालाई सुहाउँदैन । यही गरेर अगाडि बढ्ने नेपाल कम्युनिस्ट पार्टीले सोचेको हो भने ऊ हिटलर पथमा छ ।

स्मरणीय के हो भने हिटलरले पनि निर्वाचनबाट ४३ प्रतिशत जनताको मन जितेर सत्ता गठन गरेका थिए । तर, उनले जुन बाटो रोजे, त्यसले उनको अस्तित्वमात्र समाप्त गरेन, उनलाई इतिहासमा पनि एउटा कलंकका रुपमा चित्रित गरिदियो । के नेपाल कम्युनिस्ट पार्टीले यो सोच्दैन ? अब सोच्नुपर्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्