एन्ड्यु याङ, सन् २०२० का ट्रम्पका प्रतिस्पर्धी, एक ताइवानी जो ‘म्याथ’मा अब्बल छन्

एजेन्सी– अमेरिकामा सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनको माहोल निकै बढिसकेको छ । र, यही माहोलमा अचानक देखा परेर त्यहाँको बहसलाई अर्को युटर्न दिएका छन्, एन्ड्र्यु याङले । र, उनका समर्थक निकै उत्साहित भइसकेका छन् । 

को हुन् खासमा याङ ? उनी आफैं भन्छन्, उनी एक एसियन युवा हुन् जो गणितमा अब्बल छन् ।

प्रत्येक महिना एक हजार डलर आम्दानीको प्रस्तावसहित उदाएका याङको पछिल्लो समय चर्चा निकै चुलिएको छ । सबैभन्दा पहिले त याङ कुन पार्टीका हुन् भन्ने नै थाहा थिएन । तर, अब उनी डेमोक्रेटिकबाट राष्ट्रपतीय निर्वाचनका लागि निकै चर्चामा पुगिसकेका छन् । उनका फलोअर्सहरु हुन्, याङ ग्याङ । अनि उनलाएई मिम किङ भनेर चिन्नेहरु पनि निकै भइसकेका छन् ।

४४ वर्षे याङको सबैभन्दा ठूलो उद्देश्य हो, लाभांश वितरण गर्ने । र, त्यसअनुसार उनले वाचा गरेका छन्, १८ वर्ष कटेका सबै अमेरिकीलाई उनले प्रतिमहिना कुनै कामविना वा कुनै सर्तविना एक हजार अमेरिकी डलर दिनेछन् । र, उनैले चुनौति दिएका छन् अबको तीन दशकमा अमेरिकामा बेरोजगारी दर निकै बढ्नेछ । प्रविधिमा अब्बल उनले यसको कारण पनि भनेका छन्– आर्टिफिसियल इन्टिलिजेन्स ।

याङले आफूले राष्ट्रपतिका लागि उम्मेदवारी दिने कुरा त सन् २०१७ मा नै बताएका थिए । पछिल्लो समय चाहिँ उनी आफ्नो क्याम्पेन मेक अमेरिका थिंक हार्डरमा विशेष काम गरिरहेका छन् । उनको र्यालीमा त्यसैले हजारौँ समर्थकले एउटा सिम्बोल उठाउँछन्– एमएटिएच अर्थात् मेक अमेरिका थिंक हार्डरको छोटकरी रुप ।

उनले आफ्ना समर्थकलाई निकै लोभ्याइसकेका छन् । उनले अलास्काको उदाहरण दिइरहेका छन् र भनिरहेका छन्, अबको दुनियाँमा अलास्काको जस्तो इन्धन भएको केही हुनेछ भने त्यो प्रविधि हुनेछ । अमेरिकामा अलास्कामा सन् १९८२ देखि त्यहाँको सरकारले वर्षेनी त्यहाँ बस्ने सबैलाई लाभांश बाँडिरहेको छ । अब याङ अलास्कामा तेलमाथि गरेको राज्यको लगानीजस्तै अमेरिकाभरबाट प्रविधिमा लगानी गर्ने र त्यसबाट  हुने मुनाफाको लाभांश बाँड्ने योजनामा लागेका छन् । उनले आफ्ना समर्थकलाई यसको आश्वासन पनि दिएका छन् ।



सबैभन्दा महत्वपूर्ण कुरा त के भने याङलाई इलन मस्कले पनि समर्थन गरेका छन् । इलन मस्कले याङको प्रविधिको बुझाइलाई पनि निकै उच्च तहको रहेको बताएका छन् । 

अनि याङ राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने पहिलो पूर्वी एशियाली हुन् जो ताइवानी मूलका बाबुआमाका छोरा हुन् ।



त्यसैले पनि अहिले उनको विषयमा चीनका सन्चारमाध्यमले पनि प्राथमिकताका साथ लेख्न थालेका छन् । तर, के उनले डेमोक्रेटिकका अन्य उम्मेदवारहरुलाई पछाडि छोड्न सक्लान् ? के उनी साँच्चिकै डोनाल्ड ट्रम्पका अबका प्रतिस्पर्धी होलान् ? 

जे होस्, उनले छोटो समयमा नै इन्टरनेटमा व्यापक समर्थन पाइसकेका छन्, अमेरिकी राजनीतिमा आफ्नो अनुहार राम्रोसँग चिनाउन सफल भइसकेका छन् ।

  • प्रकाशित मिति : असोज १२, २०७६ आइतबार २३:१७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया