सरुभक्तकाे सातौँ उपन्यास ‘प्रतिगन्ध’ बजारमा

काठमाडौं । साहित्यकार सरुभक्त १५ वर्षपछि सातौँ उपन्यास ‘प्रतिगन्ध’ लिएर पाठकसमक्ष आएका छन् । अमेरिकामा बसेका नेपालीको भोगाइको साझा चित्रणलाई सरुभक्तले १५ वर्षपछि प्रतिगन्ध उपन्यासमा सार्वजनिक गरेका हुन् । २०६१ सालमा अमेरिका भ्रमणमा पुग्दा नेपालीले भोगिरहेका विविध पक्ष नियाल्दा उत्पन्न अनेक अनुभूतिको सम्मिश्रणलाई उतार्न अठोट लिएर उनी नेपाल फर्किएका थिए ।

लामो समयपछि आउनुको कारणबारे आफैँ प्रस्ट्याउँदै उनले भने, ‘म त्यस्तो जाँगरिलो लेखक होइन । मलाई बढी अल्छी मान्न जाँगर चल्छ । जुन वेला अल्छी मान्ने जाँगर चल्दैन, त्यो वेला लेख्छु ।’ प्रतिगन्ध भिन्न डायस्पोराको कथा भएको उनले बताए ।

सरुभक्तले आफूले यसअघिका किताब त्यति धेरै सम्पादन गर्ने नगरेको, तर यसलाई निर्ममतापूर्वक सम्पादन गरेको अनुभव सुनाए । उनले यसका २५० पृष्ठ हटाएको भन्दै झन्डै–झन्डै एउटा उपन्यास नै हटाएको बताए । प्रत्येक लेखक आफैँ एक सम्पादक भएको बताउँदै लेखकले आफ्नो कृतिलाई राम्ररी सम्पादन गर्नुपर्नेमा जोड दिए । उनले लामो व्याख्या र वर्णन गर्ने अहिलेसम्मको प्रयोगलाई भत्काएर नयाँ स्वाद दिएको बताए ।

पोखराको पुरानो वाङ्मयी संस्था पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा पछिल्लो पुस्ताका चर्चित युवा आख्यानकाहरू गनेस पौडेल, सरस्वती प्रतीक्षा र तीर्थ गुरुङले संयुक्त रूपमा प्रतिगन्धको आइतबार लोकार्पण गरेका हुन् ।

कार्यक्रममा कवि तीर्थ श्रेष्ठले सरुभक्त जीवन्त लेखाइमा सफल भएको बताए । फरक दृष्टकोणबाट लेखकीय प्रस्तुति नै उनको विशेषता भएको भन्दै श्रेष्ठले लेखकीय दृष्टिकोण नै निकै गज्जबको भएको अनुभव सुनाए ।

नथिया कि लेखक सरस्वती प्रतीक्षाले प्रतिगन्धको शक्तिले उपन्यास पढ्ने पाठकलाई फरक स्वाद दिन सफल भएको बताए । एउटै उपन्यासभित्र चार-पाँचवटा उपन्यास पढेजस्तै लाग्ने यसभित्र बिदेउिसने युवाको जीवन्त कथा भएको बताए ।



आख्यानकार गनेसले प्रतिगन्ध अमेरिकाकै कुनै लेखकले लेखेको कथाजस्तो लाग्ने बताए । भारतीय, ब्रिटिस, हङकङ लाहुरे हुँदै विस्फोटक रूपमा फेरिएको लाहुरेको परिभाषा र त्यसैअनुरूप अमेरिका पुगेकाको कथा प्रतिगन्धमा रहेको छ । पाठशाला उपन्यासका लेखक गुरुङले प्रतिगन्धमा अमेरिकी लाहुरेको मार्मिक कथा भएको बताए ।

सरुभक्तको पागल बस्ती उपन्यासको नयाँ प्रयोगले उनलाई मदन पुरस्कारसमेत दिलाएको थियो भने उनका अभिमन्यु, तरुनी खेती, बालउपन्यास अँध्यारो कोठा, समय त्रासदी र चुली उपान्यास प्रकाशित भइसकेका छन् । प्रतिगन्ध उनको साताैँ उपन्यास हो । उनका विभिन्न विधामा झन्डै ५० कृति प्रकाशित छन् ।



  • प्रकाशित मिति : असोज १३, २०७६ साेमबार १५:४०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया