ज्ञानेन्द्र शाहीमाथिको आक्रमणको अनुसन्धानका लागि समिति गठन

चितवन– भ्रष्टाचारविरोधी अभियान चलाउँदै आएका ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले समिति गठन गरेको छ । प्रहरी नायव उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो । 

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पीडित पक्षबाट हालसम्म उजुरी परेको छैन । चौबीस घण्टासम्म पनि उजुरी नपरेपछि प्रहरी कार्यालयले घटनाको अनुसन्धान गर्न समिति बनाएको हो । ‘के, कसरी घटना घट्यो र संलग्न व्यक्तिको पहिचान गर्न समितिले काम गर्नेछ,’ मल्लले भने । समितिले तीन दिनभित्र आफ्नो प्रतिवेदन पेस गर्नेछ । सोही आधारमा दोषीलाई कारबाही गर्न सहज हुने उनले बताए । 

शनिबार दिउँसो भरतपुरको चौबिसकोठीमा शाहीले सम्बोधन गर्न लागेको कार्यक्रम बिथोलिएपछि फर्कने क्रममा होटल परिसरमा उनीमाथि आक्रमण भएको थियो । उनी चढेको माइक्रोबसमा आक्रमण भएको हो । सो क्रममा घाइते भएका शाहीलाई चितवन मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि सोही दिन काठमाडौं लगिएको थियो । 

सो घटनापछि सामाजिक सञ्जालमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको चरित्र हत्या हुने गरी अपशब्दहरु लेखिएको भन्दै महानगरपालिकाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ । प्रहरी प्रमुख मल्लका अनुसार सो उजुरीपछि खैरहनीका ३० वर्षीय पशुपति श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । अन्य व्यक्तिको खोजी भइरहेको छ । महानगरको उजुरी साइबर क्राइम ब्युरोमा पठाइएको र त्यहाँबाट पनि अनुसन्धान थालिएको मल्लले जानकारी दिए ।





  • प्रकाशित मिति : असोज १३, २०७६ साेमबार १६:४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया