उपत्यकाबाट १० लाख बाहिरिए

दसैँ, तिहार र छठलगायतका चाडपर्व मनाउनका लागि पछिल्लो एक हप्तामा १० लाख मानिस काठमाडौंबाट बाहिरिएका छन् । यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार काठमाडौंबाट बाहिरिने चार नाका प्रयोग गरी मंगलबारसम्ममा १० लाख मानिस बाहिरिएका छन् । तर, विभिन्न नाकाबाट काठमाडौंमा ६ लाख मानिस भित्रिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ  । 

यातायात व्यवस्था विभागका निर्देशक तीर्थराज खनालले दैनिक १ लाखदेखि १ लाख २५ हजारसम्म मानिस बाहिरिने गरेको बताए । ‘सवारीसाधनको सिट क्षमता, टिकट बुकिङलगायतका आधारमा यो संख्या अनुमान गरिएको हो,’ उनले भने । पछिल्ला वर्षहरूमा यात्रु आफैँले सवारीसाधन रिजर्भ गरेर पनि घर जाने चलन छ । त्यो संख्यालाई भने नजोडिएको उनको भनाइ छ । ट्राफिक प्रहरीले भने १० लाख मानिस बाहिरिए पनि ६ लाख मानिस काठमाडौं भित्रिएको जानकारी दिएको छ  । 

काठमाडौंमै दसैँ मनाउने संख्या बढ्दै
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार केही वर्षदेखि काठमाडौंमै दसैँ मनाउने क्रममा वृद्धि भइरहेको छ । पहिले काठमाडौंबाट बाहिरिने मानिस मात्र हुन्थे, तर अहिले भित्रिने मानिसको संख्या पनि उत्तिकै छ,’ प्रवक्ता पौडेलले भने । यसले पनि उपत्यकाभित्रै दसैँलगायतका पर्व मनाउने क्रम वृद्धि हुँदै गएको उनको भनाइ छ । 

बिहीबारदेखि ३ दिन अत्यधिक चाप हुने
बिहीबारदेखि शनिबारसम्म काठमाडौंबाट घर फर्किनेको संख्या अधिक हुन्छ । ती तीन दिनमा यातायात व्यवस्थापन कठिन हुने यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले बताएका छन् । तर, ट्राफिक प्रहरीले भने सबै नाकामा आवश्यक जनशक्ति पर्याप्त रहेको र कुनै अप्रत्याशित घटना नभएको अवस्थामा सहज रूपमा यातायात व्यवस्थापन हुने जानकारी दिएको छ । केही दिनपहिलेसम्म थानकोटदेखि नौबिसे पार गर्न घन्टौँ लाग्ने अवस्थालाई सुधार ल्याएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता पौडेलले दाबी गरे । ‘अहिले कुनै किसिमको अवरोध छैन,’ उनले भने ।

खाल्टाखुल्टीले गन्तव्यमा पुग्न ढिलाइ
सडकका खाल्टाखुल्टीले गन्तव्यमा पुग्न ढिलाइ भइरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । ‘खाल्डाले गर्दा यात्रुबाहक सवारीको गति कम हुने र त्यसैका कारण गन्तव्यमा पुग्न ढिलाइ भइरहेको छ,’ उनले भने । यसका साथै दसैँ–तिहारको समयमा यात्रुबाहक सवारीसाधनलाई पहिलो प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।    

बिपी राजमार्गबाहेक कुनै पनि सडकमा सवारी रुट परमिट लिनुनपर्ने
यातायात व्यवस्था विभागले यसअघिको सूचनालाई सच्याउँदै बिपी राजमार्गबाहेक सडकमा रुट परमिट लिनुनपर्ने व्यवस्था गरेको छ । विभागले १२ असोज (आइतबार) देखि १९ असोजसम्म रुट परमिट लिनुनपर्ने व्यवस्था गरेको हो । दसैँ, तिहार, छठजस्ता चाडपर्व मनाउन घर जाने यात्रुको सहजका लागि ८ दिनका लागि बाटो इजाजतपत्र नचाहिने व्यवस्था गरिएको यातायात व्यवस्था विभागका निर्देशक तीर्थराज खनालले जानकारी दिए । 



तर, बिपी राजमार्गमा भने सडकको संवेदनशीलताका कारण ठूला सवारीसाधन सञ्चालन गर्न अनुमति लिनुपर्नेछ । ‘जुन पायो त्यही सवारीसाधन बिपी राजमार्गमा चलाउन पाइँदैन,’ उनले भने । इजाजतपत्र लिनुनपर्ने व्यवस्थाले यातायात व्यवस्थापनमा ठूलो सहयोग पुग्ने विभागको भनाइ छ । यसअघि जारी गरिएको सूचनामा सबै बाटोका लागि इजाजत अनुमति लिनुनपर्ने उल्लेख थियो ।

- रासस



  • प्रकाशित मिति : असोज १५, २०७६ बुधबार १३:१०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया