शरद् ऋतुमा सगरमाथा आरोहणका लागि १० जनाले पाए अनुमति

काठमाडाैं– यो वर्षको शरद् ऋतुमा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि यो मौसममा अनुमति लिएको विगत तीन वर्षपछिकै पहिलो हो । अघिल्ला दुई वर्षमा एक जनाले पनि अनुमति नलिएको पर्यटन विभागका नायव सुब्बा रामेश्वर निरौलाले जानकारी दिए । तीन वर्षपछि सगरमाथा आरोहण गर्न अनुमति लिने एउटा समूहमा नौ र अर्को एकसहित १० रहेका उनको भनाइ छ । 

यस्तै निरौलाका अनुसार सोमबारसम्म सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि २७ समूहका २ सय ६४ ले अनुमति लिएका छन् । यो हिमाल संसारको आठौँ र नेपालको सातौँ अग्लो हिमाल हो । यसको उचाइ आठ हजार १ सय ५६ मिटर रहेको छ । त्यस्तै आठ हजार ५ सय १६ मिटर उचाइको ल्हाेत्से हिमाल आरोहणका लागि दुई समूहका १३ र सात हजार ८ सय ६१ मिटर उचाइको नुप्त्से हिमाल आरोहणका लागि एक समूहका आठजनाले अनुमति लिएका छन् । 

पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार आठ हजार २ सय ६७ मिटर उचाइको धवलागिरि हिमाल आरोहणका लागि दुई समूहका ३० जनाले अनुमति लिएका छन् । अहिलेसम्म देशका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिनेमा ६८ समूहका ५ सय १८ आरोही छन् । सोमा १ सय १४ महिला र ४ सय ४ पुरुष रहेकाे पर्यटन विभाग पर्वतारोहण शाखाका नायव सुब्बा निरौलाले जानकारी दिए । 

सगरमाथा आरोहणको इतिहास 

सन् १९५३ मे २९ तारिखका दिन बिहान ११ः१५ बजे न्युजिल्याण्डका नागरिक सर एडमण्ड हिलारी र नेपाली नागरिक तेञ्जिङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक पाइला टेकेका थिए । त्यसपछि आरोहणको क्रम सुरु भएको पाइन्छ । 

सगरमाथा आरोहणको उत्तम समय वसन्त ऋतुलाई लिइने गरिन्छ । शरद् ऋतुमा सगरमाथा आरोहणका लागि कठिन मानिन्छ । सन् २०१० को अक्टोबरमा अमेरिकी आरोही एरिक लर्सेनले आरोहण गरेयता शरद् ऋतुमा कोही पनि आरोही शिखरमा पुगेको रेकर्ड छैन । यो याममा आरोहण सफल हुने या नहुने भन्ने कुरा आरोही र मौसममा भर पर्छ ।



सन् २०१९ कै वसन्त ऋतुमा विभिन्न समूहका ३ सय ८१ ले आरोहण अनुमति लिएका थिए भने आरोही र उनका सहयोगीसहित करिब ७ सयले विश्वको सर्वोच्च शिखरमा पाइला टेकेका थिए । आरोहणका क्रममा नौको ज्यान गएको थियो । उनीहरुको मृत्युको कारण सगरमाथा आरोहणका क्रममा जाम भनेर दाबी गरिए पनि पर्यटन विभागले त्यसको खण्डन गरेको थियो ।

उक्त याममा हुने भिड र समस्यालाई शरद् ऋतुले आकर्षण गर्न नसकेको आरोही बताउँछन् । आरोही किताबसिं तामाङका अनुसार शरद् ऋतुमा आरोहण गर्न सकिने भए पनि हल्का वर्षासँगै हिमपात र वायुको गति उच्च हुँदा समस्या हुने गर्छ । वसन्त ऋतुमा आधार शिविरदेखि क्याम्प–१ सम्मको बाटो बनाउने र व्यवस्थापन गर्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिले पनि यो याममा भने आफ्नो जिम्मेवारी मान्दैन र कुनै पनि कार्य गर्दैन । 



समितिका अध्यक्ष आङदोर्जी शेर्पाका अनुसार वसन्त ऋतुमा ६ सय अमेरिकी डलरमा क्याम्प–१ सम्मको बाटो बनाउन सकिने भए पनि शरद् ऋतुमा कम्तीमा २५ हजार अमेरिकी डलर लाग्छ । नेपाल सरकारले समेत शरद् ऋतुमा आरोहणलाई प्राथमिकता दिएको पाइँदैन । यस याममा आरोहणका लागि आवश्यक पूर्वाधार तयार पार्न सरकारको ध्यान नगएको आरोही किताबसिंले बताए ।
 
चार करोड बढी राजस्व संकलन

विभिन्न हिमाल आरोहणबाट अहिलेसम्म चार करोड २८ लाख ४० हजार १ सय ७१ रुपैयाँ ५७ पैसा रोयल्टी प्राप्त जम्मा भएको पर्यटन विभागले जनाएको छ । सगरमाथा आरोहणको रोयल्टी ऋतुअनुसार फरक–फरक हुन्छ । विदेशी आरोहीले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ । यस्तै शरद् ऋतुमा पाँच हजार ५ सय डलर र गर्मी समयमा दुई हजार ७ सय ५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ । यस्तै नेपाली आरोहीले वसन्तु ऋतुमा ७५ हजार, शरद् ऋतुमा ३७ हजार ५ सय र गर्मीयाममा  १८ हजार २ सय ५० रोयल्टी तिर्नुपर्ने व्यवस्था छ ।

  • प्रकाशित मिति : असोज १५, २०७६ बुधबार १४:४४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया