डोल्पामा प्राणघातक रोग हेपाटाइटिस बीको समस्या बढ्दै

डोल्पा– उपल्लो डोल्पामा प्राणघातक रोग हेपाटाइटिस बीको समस्या बढ्दै गएको देखिएको छ । डोल्पोबुद्ध गाउँपालिकामा गरिएको बृहत् स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका ३ सय ४३ मध्ये ७० लाई हेपाटाइटिस बी पोजेटिभ देखिएको छ ।

शिविरमा जाँच गराएका ३० प्रतिशतमा हेपाटाइटिस बी पोजेटिभ देखिनु समस्या विकरालनै भएको वीरअस्पताल काठमाडौंका वरिष्ठ कलेजो रोग विशेषज्ञ सुधांशु केसीले बताए । ‘उपल्लो डोल्पामा हेपाटाइटिसको प्रकोप विकराल छ, प्रत्येक चारजनाको जाँच गर्दा एकजना पोजेटिभ भेटिन्छ, यसरी प्रत्येक वर्ष संक्रमितकाे संख्या बढ्दै गए महामारीकै रुप लिने निश्चित छ,' उनले भने ।

यस्तो रोग तिब्बतमा धेरै भएकाले त्यहाँका मानिससँगको हेलमेलका कारण रोग भित्रिएको बताउँदै बच्चा जन्मनेबित्तिकै लगाइने हेपाटाइटिस बीविरुद्धको खोप नलगाइनुले पनि रोगको प्रकोप बढ्दै गएको डा. केसीले बताए । हेपाटाइटिस बी संक्रमित सर्वसाधारणलाई समेत रोगका विषयमा कुनै पनि जानकारी नभएको पाइएकाले न्यूनीकरणका लागि स्थानीय सरकारले जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने उनको भनाइ छ ।

उपल्लो डोल्पाको धो गाउँमात्रै नभएर, साल्दाङ, भिजेर, छार्का, फोक्सुण्डोलगायतका गाउँका सर्वसाधारणलाई समेत संक्रमित देखिएका छन् । प्रत्येक वर्ष संक्रमितको संख्या बढ्दै गएको शिविर आयोजक संस्था एक–एक पाइला नेपालले जनाएको छ । स्वास्थ्य परीक्षणको क्रममा एकै घरका सम्पूर्ण परिवारमा हेपाटाइटिस बीका संक्रमित भेटिएका छन् । 

प्राणघातक रोगको रुपमा चिनिने हेपाइटिस बीको पूर्ण रुपमा निको पार्ने औषधि हालसम्म नबने पनि असर न्यूनीकरण गर्ने औषधि काठमाडौंमा पाइने बताइएको छ । हेपाटाइटिस बी आफैँमा प्राणघातक रोग भएकाले प्रकोप फैलिन नदिन रोगीले प्रयोग गरेको सुइ, लुगाफाटो प्रयोग नगर्ने, रोगीको जुठो नखाने र सरसफाइमा ध्यान दिनुपर्ने जिल्ला अस्पताल डोल्पाका डाक्टर मेलिना हमालले बताइन् ।





  • प्रकाशित मिति : असोज १५, २०७६ बुधबार १५:२०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया