‘यसको त दसैं आएछ यार,’ कोही साथीहरूले नयाँ कपडा लगाएको देखे भने जिस्क्याएर हैरान बनाउँछन् । दसैंमा नयाँ कपडा लगाउनुपर्छ भन्ने हाम्रो ‘कल्चर’ नै बनिसकेको छ ।
दसैंमा नयाँ कपडा मात्र होइन, लामो बिदा हुने भएकाले रमाइलो माहोल बन्छ । मलाई त यो माहोल नै अर्कै लाग्छ, चंगा ।
मानिसहरू वर्षदिनभरि काम गरेर थाकेका हुन्छन् । अनि दसैंको लामो बिदामा रमाइलो गर्न चाहन्छन् । केही दिन भए पनि कामबाट मुक्त हुन चाहन्छन् । वर्षभरि व्यस्त हुनुपर्ने हुँदा इष्टमित्र तथा आफन्तसँग भेटघाट गर्ने समय हुँदैन । त्यसैले पनि दसैंमा टाढाटाढा रहेका आफन्तहरूसँग भेट हुन्छ । यो बेला सबैलाई आनन्द तथा रमाइलो महसुस हुन्छ । दसैंमा परिवारका सबै सदस्य भेट हुने भएकाले पनि रमाइलोे हुन्छ ।
१० वर्षको उमेरमा म एन्फा एकेडेमीमा छानिएँ । त्यसपछि परिवारबाट छुट्टिनु प¥यो । ट्रेनिङमा भएका हामीलाई दसैंमा लामै बिदा हुन्थ्यो । यसैले बाल्यकालमा दसैंमा टीका लगाउने भन्दा पनि छुट्टी मनाउन धेरै ध्यान र रमाइलो हुन्थ्यो ।
हाम्रो घर मोरङ हो । यसपालिको दसैं पनि त्यहीँ भेला भएर मनाउने योजना छ । दसैंमा घरनजिकै ठूलो मेला लाग्थ्यो । हामी मेला हेरेर खुब रमाउँथ्यौं । ममी–बाबाले हरेक वर्ष दसैंमा नयाँ लुगा किनिदिनुहुन्थ्यो । त्यो सम्झँदा अहिले पनि बाल्यकालमा फर्किन पाए हुन्थ्यो भन्ने लाग्छ ।
यसपटकको योजना
दसैंमा सबैभन्दा धेरै सम्झिने भनेको घर–परिवार नै हो । तर यसपटक घर जाने÷नजाने टुंगो भइसकेको छैन । ममी–बुबा घरमै हुनुहुन्छ । केही दिनअघि दाइ पनि जानुभयो ।
श्रीमती बिरामी छिन् । घर जान भनेर टिकट लिएको पनि छैन । आफ्नै मोटरसाइकलमा जानुपर्छ । श्रीमतीलाई ठीक भयो भने जाने योजना छ । उनी केही दिनका लागि भए पनि जानुपर्छ भनिरहेकी छिन् ।
ममी, ड्याडी, दाइ, भाउजू र भतिज घरमै हुनुहुन्छ । हामीचाहिँ दसैंमा गएनौं भने तिहारमा चाहिँ अवश्य घर जान्छौं ।
तिहारलगत्तै ए डिभिजन लिग हुन्छ । त्यसको तयारी गर्नुपर्छ । कात्तिक ५ गते तालिममा उपस्थित हुनैपर्छ । घरमा गएँ भने पनि चाँडै फर्किनुपर्छ । त्यसैले यसपालि घर जाने सम्भावना कम नै छ । घर नगएको खण्डमा साथीहरुसँग दसैं मनाइन्छ । उनीहरू दसैंमा काममा व्यस्त त हुन्छन्, तर साथीका लागि समय दिन्छन् । सायद विराज महर्जनसँग बसेर यसपालिका दसैं मनाइन्छ ।
भारतको नयाँदिल्लीमा सुप्रुदो कप फुटबल हुन्थ्यो । त्यो जहिले पनि दसैंको बेलामा नै पर्छ । अहिले पनि त्यो खेल भइरहेको होला । तर, नेपालले सधंै त्यसमा भाग लिँदैन । म अन्डर–१४, १६ र १७ हुँदा तीन वर्ष सुप्रुदो कप खेलेको छु । त्यो दसैंको बेलामा नै थियो । त्यतिबेला किरण चेम्जोङ, विराज महर्जन र म सँगै थियौँ । त्यो तीन वर्ष मैले दसैं तिनीहरूसँग नै मनाएँ ।
राष्ट्रिय टिममा परेपछि पनि हामी दसैंको बेला खेलका लागि बाहिर गएका थियौं । त्यो कुन वर्ष थियो याद भएन । तर, दसैंका समयमा भए पनि दसैंको दिन चाहिँ अहिलेसम्म कुनै प्रतियोगिता खेलेको याद छै्रन ।
अहिलेसम्म दसैंमा ममीका लागि कुनै उपहार किनिदिएको छैन । ड्याडीका लागि भने कहिलेकाहीँ कपडा किनिदिएको छु ।
यो वर्ष दसैंमा घर जाने÷नजाने टुंगो नभएको हुनाले केही सामान दाइलाई पठाइदिएको छु । ममीलाई के किन्ने भन्ने हुन्छ । ममीलाई नयाँ कपडा किन्नू भनेर पैसा पठाइदिएँ ।
सबैभन्दा पहिला त म नेपाली सेना हो । त्यसपछि मात्र खेलाडी । आर्मी क्याम्पभित्र दसैं खुब मज्जाले मनाइन्छ । एन्फामा दर्ता भएका खेलाडीलाई भने दसैंमा जहिले पनि छुट्टी दिइन्छ । त्यसैले अहिलेसम्म मैले दसैं क्याम्पभित्र नै मनाउन भने परेको छैन । अहिले मलाई खेलाडीसँगै नेपाली सेनाको अफिसर भएको हुनाले पनि सजिलो भएको छ ।
यदि भोलि मलाई सेनाले तैंले फुटबल खेल्न पाउँदैनस् भन्यो भने म बन्दुक बोकेर हिँड्नुपर्ने हुन सक्छ । तर त्यस्तो नहोस् भनेर कामना गर्छु । हामी खेलाडी भएको हुनाले आफ्नै क्याम्पमा पनि केही सुविधा भने छ । त्यसैले पनि दसैंजस्ता चाडहरूमा रमाउन पाइन्छ ।
सेनाका धेरै साथीले छुट्टी पाउँदैनन् । उनीहरूका लागि ब्यारेकमै दसैं मनाउने कार्यक्रम हुन्छ । ब्यारेकमा रहेका साथीहरू आफूभन्दा सिनियरसँग टीका थाप्ने र आशीर्वाद लिने गर्छन् ।
सेना तथा प्रहरीहरू देशको सुरक्षामा खटिनुपर्ने हुँदा परिवारसँग बसेर दसैं मान्न नपाएको वर्षौं भएको हुन सक्छ । ब्यारेक खाली गरेर बिदा दिने कुरा पनि भएन । यही विषयमा विभिन्न गीत पनि रचिएका छन् । त्यस्तो गीत सुन्दा÷हेर्दा नरमाइलो लाग्छ ।
अघिल्लो वर्ष दसैंको बेला कुनै खेल भएन । यो वर्ष पनि कुनै खेल भएको छैन । गत वर्ष तिहारमा मलेसियाको सोलिडारिटी कप भएको थियो । त्यो बेला खेल जितेर हामीले तिहार मनायौं ।
कुनै प्रतियोगिता जित्नु नै सबैभन्दा ठुलो कुरा हो, त्यो बेलामा अझै खेल नै जितियो भने त्योभन्दा ठूलो कुरा केही लाग्दैन ।
विवाह भएको दुई वर्ष भयो । यो बिहेपछिको दोस्रो दसैं हो । अघिल्लो वर्ष पनि हामीले काठमाडौंमै दसैं मनाएका थियौं । हाम्रोमा बिहे गरेको वर्ष दसैंमा जसरी पनि ससुराली जानुपर्ने परम्परा छ ।
अघिल्लो वर्ष दसैंको दिन एकैछिन ससुराली पुगेको थिएँ । टीका लगाएर छिट्टै फर्कियौं । बसाइ शंखमूल र ससुराली पाटन भएकाले गर्दा जान–आउन सजिलो र नजिक पनि छ ।
मेरो परिवार र ससुरालीमा फरक संस्कृति छ । मलाई दुवै संस्कृति मन पर्छ । म ससुराली पनि टीकाका लागि भन्दा पनि भेट्नका लागि जान्छु ।
घर नगएको खण्डमा साथीहरूसँग दसैं मनाउने गर्छु । विराज महर्जन, सन्तोष महर्जन र म दसैंमा सँगै हुन्छौँ । हामीसँगै अन्डर १७ खेलेको साथी सन्तोषको घरमा मेरो अक्सर दसैं हुन्छ । हामी उसको घरमा जाने, खाना खाने गर्छौं । हामी तीन जना मिलेर दसैं मनाउन लागेको धेरै वर्ष भइसक्यो । हामी अक्सर कुपन्डोलमा रहेको दुर्गाको मन्दिरमा पूजा गर्ने गरेर मनाउँछौं ।
विदेशमा हुँदा दसैंमा घर आउने कुरा भएन । नेपालमा हुँदा पनि धेरैवटा दसैंमा यतै बसियो । २०६९ सालमा नेपाली सेनामा भर्ती भएँ । त्यसपछि २४ महिना तालिम हुन्थ्यो । त्यो तालिमको बेलामा अरू बेला बिदा नभए पनि दसैंको बेलामा भने पाँच दिन बिदा हुन्थ्यो घर जान पाइन्थ्यो । तर, म त्यो दुई वर्ष दसैंमा घर नगई काठमाडौंमा नै मनाएँ ।
तालिमले गर्दा निकै थाकिएको हुन्थ्यो, त्यति टाढा घरमा जाँदा पनि झनै थाकिने, फेरि फर्केर आउनुपर्ने हुँदा गाह्रो लाग्थ्यो । त्यसैले पनि घर नगई यतै साथीहरूसँग फिल्म हेर्न गएर रमाइलो गरेर दसैं मनाएको थिएँ ।
ममी–ड्याडी दसैंमा घर बोलाउनुहुन्छ । सबै जना भेला हुँदा रमाइलो हुन्छ आऊ भन्नुहुन्छ । त्यसो भन्दा जान मन लाग्छ । परिवारसँग पनि भेट हुन्थ्यो । तर, दसैंमा खासै इन्ट्रेस्ट नभएको हुनाले जाँदैनथें ।
तिहारको झिलिमिली मलाई निकै मन पर्छ । तिहारमा साथीभाइसँग पनि भेट हुन्छ त्यसैले, बढी मन पर्छ ।
मानिसहरू जसरी दसैं मनाउँछन् मलाई भने दसैं त्यतिसाह्रो रमाइलो लाग्दैन । मेरो फेबरेट चाड दसैंभन्दा पनि तिहार हो । त्यसैले दसैंमा टीका लगाउने भन्दा पनि म लामो बिदा मनाउने र परिवारसँग भेट गर्ने राम्रो बहानाको रूपमा लिन्छु ।
(कुराकानीमा आधारित)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।