गण्डकी प्रदेश सरकारको निर्देशिका : औपचारिक कार्यक्रम बढीमा डेढ घन्टा, तीनजना मात्र वक्ता

पाेखरा— गण्डकी प्रदेश सरकारले औपचारिक कार्यक्रम बढीमा डेढ घन्टामा सक्ने र तीनजनाभन्दा बढी वक्ता नराख्ने व्यवस्थासहितको सार्वजनिक निकायको औपचारिक बैठक तथा समारोह सञ्चालन निर्देशिका स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्को १८औँ बैठकले निर्देशिका स्वीकृत गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए । मुख्यमन्त्री कार्यक्रममा बोलाएको समयभन्दा डेढ/दुई घन्टा ढिलो जाने गरेको गुनासो आइरहेका वेला मन्त्रिपरिषद् बैठकले सो निर्देशिका स्वीकृत गरेको हो । 

प्रमुख अतिथि, अतिथिहरूलाई सार्वजनिक कार्यक्रमबारेको जानकारी तीन दिनअघि नै दिनुपर्ने, अतिथिलाई फूलमाला, खादाले स्वागत सम्मान नगर्ने र गर्नै चाहे तीमध्ये एउटा चिजले मात्र गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । 

बैठकले नवलपुरबाट सवारी लाइन्सेन्स वितरणको व्यवस्था गर्ने निर्णयसमेत गरेको छ । यस्तै, कास्की जिल्ला बार एसोसिएनको भवन निर्माणका लागि १५ लाख, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको भवन निर्माणका लागि १५ लाख, पत्रकार महासंघ बाग्लुङको भवनका लागि १५ लाख र तनहुँको भवन निर्माणका लागि १० लाख रुपैयाँ दिने निर्णयसमेत बैठकले गरेको छ ।

गत आर्थिक वर्ष ०७५/७६ मै सरकारले ती संस्थालाई भवन निर्माणका लागि रकम उपलब्ध गराउने निर्णय गरे पनि रकमान्तर गर्न नमिलेपछि चालू वर्षको बजेटबाट रकम दिने गरी बैठकले निर्णय गरेको हो । बैठकले पोखरामा रहेको क्षेत्रीय क्षयरोग केन्द्र प्रदेशलाई हस्तान्तरण गर्न संघ सरकारसँग अनुरोध गर्ने निर्णयसमेत गरेको छ । 

बैठकले स्याउ विशेष कार्यक्रम ०७६ स्वीकृत गर्दै गोर्खा, मनाङ र मुस्ताङमा स्याउखेतीका लागि चार करोड रुपैयाँ छुट्याएको छ । स्याउ किसानलाई प्रोत्साहित गर्न अघि सारिएको कार्यक्रमअनुसार किसानलाई ७० प्रतिशतसम्म अनुदानमा स्याउका बेर्ना दिइनेछ । स्याउका बेर्ना इटलीबाट ल्याइनेछ ।





  • प्रकाशित मिति : असोज २४, २०७६ शुक्रबार ९:११:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया