विदेशमा अध्ययन गर्न चाहने विद्यार्थी सचेत हुन जरुरी छः उद्धव खड्का

पछिल्ला केही वर्षयता उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीको पहिलो रोजाइ बनेको छ, अष्ट्रेलिया । यसको कारण त्यहाँको वातावरण, त्यहाँ काम गर्न पाउने अवधि र त्यसको पे र सहज भिसा प्रोसेसिङ हो । तर, केही समययता अष्ट्रेलिया जाने विद्यार्थीहरुको संख्यामा कमी आइरहेको छ । बरु विकल्पमा बेलायत देखिन थालेको छ ।

त्यसो त सन् २००९ तिर पनि बेलायत नेपाली विद्यार्थीको पहिलो रोजाइमा पथ्र्यो । त्यहाँ विभिन्न नियममा परिवर्तन आएपछि यो क्रम चाहिँ स्वाट्टै घटेको थियो । के अब फेरि बेलायत नेपाली विद्यार्थीको पहिलो अध्ययन गन्तव्य बन्ला त ? शैक्षिक परामर्श कम्पनीहरुले केही दिनयता बेलायतसँग सम्बन्धित विज्ञापनलाई बढाएको यो सन्दर्भमा हामीले हब इन्टरनेसनल एजुकेसनका प्रबन्ध निर्देशक तथा नायरका महासचिव उद्धव खड्कासँग कुराकानी गरेका छौँ । त्यही कुराकानीको सम्पादित अंशः

 

पछिल्लो समय बेलायतमा उच्च शिक्षाका लागि पढ्न जाने विद्यार्थीको चासो अलिक बढेको जस्तो देखिन्छ । के अब अष्ट्रेलिया जाने विद्यार्थी कम हुँदै जाने र बेलायत जाने विद्यार्थीको संख्या बढ्दै जाने हो ? 

वास्तवमा भन्ने हो भने बेलायतमा पढ्नका लागि जाने विद्यार्थीको संख्यामा कहिल्यै कमी आएको थिएन । साँचो चाहिँ के हो भने बेलायतमा जेनियुन विद्यार्थीहरुमात्र गइरहेका थिए, पढ्नकै लागि । अब फेरि बेलायतले इमिग्रेसन नियममा केही परिवर्तन ल्याएको छ, त्यसले नेपाली विद्यार्थीलाई अलिक बढी आकर्षित गर्ने निश्चित छ । यसको अर्थ के होइन भने यसअघि बेलायतका राम्रा विश्वविद्यालयहरुमा नेपाली विद्यार्थीको कुनै चासो नै थिएन, त्यहाँ त वर्षेनी उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरु पुगिरहेका थिए ।

अर्कोतिर, अब विस्तारै अष्ट्रेलियाले इमिग्रेसनमा अझ बढी कडाइ गर्ने अनुमान गर्न सकिन्छ । पछिल्लो समय अष्ट्रेलियाका प्राइभेट कलेजहरुमा पढ्न जान खोज्ने विद्यार्थीहरुको भिसा अस्वीकार गर्न थालिएको छ । यसले गर्दा पनि अब विद्यार्थीहरु अर्को विकल्प सोच्न बाध्य हुन सक्छन् ।



 

नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया र बेलायतमध्ये कुन बढी ठिक ?



राम्रो पढ्न चाहने हो भने विद्यार्थीहरुका लागि दुवै देश उत्तिकै राम्रा छन् । विडम्बना नेपालका सबै विद्यार्थीको पहिलो चाहना पढाइ वा अध्ययनमात्र हुँदैन, उनीहरु केही पैसा पनि कमाउन चाहन्छन् । यस्ता उदाहरणहरु पर्याप्त छन् । 

अष्ट्रेलियामा पनि विश्वको र्याङ्किङमा टप सयभित्र पर्ने विश्वविद्यालयहरु छन्, त्यहाँको शिक्षा पनि विश्वभर निकै लोभलाग्दो छ र अष्ट्रेलियामा पढ्ने विद्यार्थीहरुले आफ्नो करिअर जुनसुकै देशमा बनाउन सक्छन् । 

सँगसँगै बेलायत अझ राम्रो किन हुन सक्छ भने बेलायतमा विश्वमै नाम चलेका अक्सफोर्ड, क्याम्ब्रिजजस्ता विश्वविद्यालयहरु छन् । हामीले नेपालका कलेजमा अध्ययन गर्नु पर्ने महान् साहित्यकार तथा वैज्ञानिकहरु पनि बेलायतमा जन्मिएका छन्, पढेका छन् । इतिहास हेर्ने हो भने महान् साहित्यकार, विचारकहरुको देश हो, बेलायत । त्यो वातावरणले नेपाली विद्यार्थीलाई पनि थप परिस्कृत बनाउन सक्छ । त्यसैले पनि नेपाली विद्यार्थीका लागि अझ सुन्दर गन्तव्यका रुपमा बेलायतलाई लिन सकिन्छ । 

 

तर, सन् २००९ लाई फर्केर हेर्ने हो भने बेलायतका शैक्षिक संस्थाहरुमा ठूलो समस्या आयो । कतिपय नेपाली विद्यार्थीको लाखौँ पैसा पनि डुब्यो । अब त्यस्तो नहोला भनेर कसरी निश्चिन्त हुने ? 

त्यति बेला बेलायतको सरकारले अचानक आफ्नो नीतिमा परिवर्तन ल्याउँदा त्यस्तो समस्या आएको हो । फेरि त्यति बेला अलिक जिम्मेवार शिक्षण संस्थाहरुमा जो जानु भएको थियो अध्ययनका लागि, उहाँहरुमा त्यस्तो समस्या देखिएन । जब नेपाली विद्यार्थीले आफू जाने संस्थाबारे राम्रोसँग जानकारी लिएर जानुपर्छ । यो कुरा बेलायतको सन्दर्भमा मात्र होइन, अन्य देशका सन्दर्भमा पनि लागु हुन्छ ।

अर्कोतिर, नेपाली विद्यार्थीले आफू विदेशमा पढ्न जान चाहँदा राम्रा शैक्षिक परामर्श संस्थाको पनि छनोट गर्न सक्नुपर्छ । लामो समय देखि काम गरिरहेका वा छोटो समयमा पनि जिम्मेवार भएर काम गरिरहेका संस्थाहरु उनीहरुले छानेको खण्डमा मात्र भोलि अध्ययन गर्न जाँदा ठूलो समस्या आउँदैन । जस्तो कि, हब इन्टरनेसनल एजुकेसनले लामो समयदेखि बेलायतका शैक्षिक संस्थाहरुसँग मिलेर काम गरिरहेको छ । हामीले विद्यार्थीलाई राम्रो काउन्सिलिङ गर्नेमात्र होइन, कुन संस्थामा किन जाने भन्ने विषयमा पनि राम्रो खाका उपलब्ध गराउन सक्छौँ । भोलि समस्या नहोस् भन्नका लागि विद्यार्थीले यस्ता विषयमा ध्यान दिन जरुरी छ । 

 

पछिल्ला केही दिन केही कन्सल्टेन्सीहरुले बेलायतको विषयमा आक्रामक विज्ञापन गरिरहेका छन् । यसको अर्थ अब त्यहाँको शिक्षाका लागि नेपाली विद्यार्थी सहजै जान पाउँछन् भन्ने हो ? 

त्यस्तो होइन । नेपाली शैक्षिक परामर्शको क्षेत्रमा यस्ता केही समस्याहरु छन्, जसबारे हामीले निकै गम्भीर भएर चर्चा गर्नु पर्ने हुन्छ । हामीले नेपाली बजारमा अत्यन्त अस्वस्थ्य प्रतिस्पर्धा भएको पनि देखिरहेका छौँ । यसले विद्यार्थीहरुमा भ्रम मात्र छरिरहेकोमा कसैको पनि दुई मत नहोला । तर, यसलाई रोक्ने उपाय भनेको विद्यार्थी नै सचेत हुनु हो । जब विद्यार्थीहरु सचेत भएर अगाडि बढ्छन् तब मात्र राम्रा परामर्शदाताहरुले गरेका उत्कृष्ट कामहरु बाहिर आउँछन् । यो क्षेत्रमा नराम्रो काम गरिरहेकाहरु पनि विस्तारै ओझेलमा पर्छन् । यसले सबैलाई फाइदा पुग्छ । 

 

अब बेलायतका शिक्षण संस्थाहरुको अवस्था र तीबारे बुझ्न नेपाली विद्यार्थीले कहाँ सम्पर्क गर्ने त ? 
हामीले केही समयपछि नै बेलायतका विभिन्न जिम्मेवार शिक्षण संस्थाहरुलाई बोलाएर एउटा फेयर गर्न लागिरहेका छौँ । हब एजुकेसनको भवनमा नै यो फेयर हुँदैछ । विद्यार्थीहरुले यो फेयरमा आएर धेरै जानकारी लिन पाउनेछन् । हामीले फेयरको नाममा फेयर मात्र नभएर एउटा गम्भीर फेयरको आयोजना गर्न खोजिरहेका हौँ । हामी विद्यार्थीलाई जानकारी राम्रो होस् भन्ने चाहन्छौँ । फेयरको मिति र समयबारे हामीले केही समयपछि सार्वजनिक रुपमा विद्यार्थीहरुलाई जानकारी दिनेछौँ ।

  • प्रकाशित मिति : असोज २४, २०७६ शुक्रबार १६:२२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया