जुम्लामा गाेली हानी भालु मारियाे

जुम्ला– गुठीचौर गाउँपालिकामा भालुले स्थानीयलाई आक्रमण गर्न सुरु गरेपछि वन डिभिजन कार्यालयको टोलीले गोली हानी भालुलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणलामा लिन वन अधिकृतसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी गाउँमा परिचालन गरिएको थियो ।

वन डिभिजन कार्यालयले कार्यविधि अनुसार बिहीबार गोली हानी भालु नियन्त्रणमा लिइएको थियो । गाउँबाट भालुलाई जंगलतिर धपाउन विभिन्न उपाय गर्दा पनि नभागेपछि गोली हानी नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेशजंङ्ग खत्रीले बताए । उनका अनुसार भालुले २–३ दिनदेखि गाउँमा पसेर स्थानीयलाई त्रसित बनाइराखेको थियो । 

भालुलाई गोली हानी नियन्त्रण गर्ने क्रममा मरेपछि डिभिजन वन कार्यालयको परिसरमा शुक्रबार गाडिएको छ । प्रहरी प्रशासन, स्थानीय सरकार र पत्रकारहरुको रोहबरमा कार्यालयको परिसरमा गाडिएको हो । 

समयमै भालु नियन्त्रण नगरेको भन्दै प्रहरी चौकीमा ढुंगामुढा
भालुको आक्रमणमा परी गाउँमा पाँच जना घाइते हुँदासमेत नजिकैको प्रहरी चौकीले समयमा नियन्त्रण नगरेको भन्दै स्थानीयले प्रहरी चौकीमा ढुंगामुढा गरेका थिए । स्थानीयले भालु मारेर शान्तिपुर्ण वातावरण सिर्जना गरिदिन माग गरेका थिए । तर प्रहरीले भालु मार्ने अधिकार प्रहरीलाई नभएको भनेपछि स्थानीयले चौकीमा ढुंगामुढा गरेको स्थानीय हरि रोकायले बताए ।

भालुको आक्रमणबाट घाइते भएकालाई अस्पताल ल्याउन पुगेको प्रहरी टोली माथि स्थानीयले ढुंगामुढास गरेपछि प्रहरीले भिड नियन्त्रण गर्न चार राउण्ड हवाइफायर गरेको प्रहरी नायब उपरीक्षक डिएसपी लालबहादुर धामीले बताए ।

स्थानीयले प्रहरी भ्यान पनि तोडफोड गरेका छन् । ढुंगामुढा लागेर एक प्रहरी हवलदारसमेत घाइते भएको डिएसपी धामीले जानकारी दिए । भालुको आक्रमणबाटघाइते भएका पाँच जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । अस्पतालमा भर्ना भएका सबै बिरामीको अवस्था खतारामुक्त रहेको उपचारसमा संलग्न चिकित्सकले बताए । 



भालुकोे आक्रमणबाट स्थानीय खगेन्द्र अधिकारी, बसन्ती भण्डारी, मानबहादुर भण्डारी, इश्वर बुढा र कालु परियार घाइते भएका छन् । 

यसअघि भालुले तिला गाउँपालिकाको तुही गाउँका एक स्थानीयलाई आक्रमण गरी घाइते बनाएको थियो । सिँजा र हिमा गाउँपालिकामा पशुमाथि आक्रमण गर्नुको साथै मकैबाली नष्ट पारेको थियो । भालुले मकै धान खेती नष्ट गर्न थालेपछि एक महिना अघि भालुलाई थापेको धरापमा परेर एक स्थानीय घाइते भएका थिए ।



  • प्रकाशित मिति : असोज २४, २०७६ शुक्रबार १६:४८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया