लाई,
कमरेड सी, चिनियाँ राष्ट्रपतिको कार्यालय
बाट,
द काठमाडौं स्क्वायार, काठमाडौं, रातिको ११ बजे ।
प्रिय कमरेड,
समय आफ्नै रफ्तारमा बग्छ । रफ्तारले समयलाई रोक्न सक्दैन ।
केही समयअघि नेपालमा र त्यो पनि काठमाडौंमा निकै ठूलो चर्चाको विषय थियो– माओ र सी अब समान हैसियतमा छन् । र, सबैभन्दा खुसीको कुरा त के भने तपाईं नेपाल भ्रमणमा आउने पक्कापक्की भएको छ । केही दिनअघिसम्म यो कुरा अविश्वसनीय लागेको थियो । तर, जब नेपालको एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा तपाईंका बुलेटप्रुफ गाडी झरेको ‘कन्फर्मेसन’ आयो, तपाईं आउने पक्कापक्की भयो । फेरि नेपालमा सबैभन्दा विश्वासिला अनलाइनले पनि तपाईं आउने समाचार लेख्न थाले ।
अनि शुक्रबार त गोरखापत्रमा तपाईंको आलेख नै छापियो । विशेष आलेख । त्यसपछि यो कुरामा कुनै द्विविधा रहेन, तपाईं काठमाडौं झर्दै हुनुहुन्छ ।
यतिबेला म आफ्नो वर्क स्टेसनमा छु, बाहिर सहर रंगिन बनिसकेको छ । तपाईंको स्वागतका लागि ।
कमरेड सी, भोलि जब तपाईं विमानस्थलमा आउनुहुनेछ, त्यहाँ केवल केही व्यक्ति तपाईंको स्वागतका लागि आउनेछन् । तपाईं त एउटा त्यस्तो देशको राष्ट्रपति हो, जसको जनसंख्या विश्वको जनसंख्याको महत्वपूर्ण हिस्सा हो । विमानस्थलमा के नसोच्नुस् भने नेपालमा विमानहरु अवतरण नै हुँदैनन्, नेपालमा मानिसहरु नै छैनन् । किनकि जब तपाईं नेपाल आउँदै हुनुहुन्छ, त्यति बेला नेपालमा कफ्र्यु लागेको हुनेछ ।
कफ्र्यु लागेको हुनेछ, कफ्र्यु लागेको हुनेछैन । समय आखिर आफ्नै रफ्तारमा बग्नेछ, सयमको रफ्तारलाई कसैले रोक्न सक्दैन ।
यो तपाईंको पहिलो काठमाडौं सयर हो । त्यसैले मैले दुस्साहस के गरेको छु भने तपाईंले नघुमेको काठमाडौं म घुमाउन चाहन्छु । अक्सर ती व्यक्तिहरु काठमाडौं घुम्दैनन्, जो नेपाल भ्रमणमा आउँछन् ।
एकपटक हिजोमात्र तपाईंले भेट्नु भएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौं घुमेका थिए । उनले त चावाहिल भन्ने ठाउँमा गाडीबाट झरेर नेपाली मनहरुसँग हात मिलाएका थिए । त्यसको प्रतिफलमा उनले नेपाललाई नाकाबन्दीको उपहार दिएका थिए । के तपाईं पनि नेपाली मनहरुसँग हात मिलाउन चाहनुहुन्छ ? मिलाउनुहोस्, तर त्यसको प्रतिफल हामीलाई चाहिँदैन । किन पनि भने हामीले विश्वास गरेका छौँ, कर्म गर, फलको आश नगर !
तपाईंको कम्युनिजममा पनि यस्तै हुन्छ ? यस्तै अर्थात् कर्म गर, फलको आश नगर ?! नेपालमा यो विषयमा अब कम्युनिस्ट सरकारले कुनै जवाफ दिने छैन ।
त,
अब तपाईं विमानस्थलबाट बाहिर निस्किनुभयो । केही अगाडि बढ्ने वित्तिकै तपाईंले देख्नुहुनेछ एउटा सुन्दर पार्क, तिनकुने पार्क ।
महोदय,
यो पार्क धेरै अघि यहाँ थिएन । नेपाली मनमा चाहिँ थियो, मनको पार्क तपाईंको भ्रमणमा सरकारले पूरा गरिदिएको छ । तपाईं होइन, नेपालीहरु यसलाई हेर्न आतुर छन् । मैले पढेको थिएँ, तपाईंले नेपाल सरकारको मुखपत्रमा लेखेको विशेष आलेखमा उल्लेख गरिएको छ– तपाईंलाई जेपाल अपरिचित लाग्दैन, यो तपाईंको पहिलो भ्रमण भएता पनि ।
तपाईंले भन्नुभएको छ– नेपालमा सानदार पहाड र नदीहरु छन् । तर, आलेखमा भन्नुभएको छैन, ती नदीहरु नेपाली मनबाट निस्किएका आँसुका समिश्रण पनि छन् ।
किनकि तपाईंलाई थाहा नै छैन– केही अघि तपाईंको विचार लेखिएको पुस्तक त्यही फुटपाथमा बेचिएको थियो जहाँ तपाईं अहिले सुनसान गल्ली देखेर अगाडि बढ्नुहुनेछ ।
महोदय,
अलिक अगाडि पुग्नेवित्तिकै तपाईंले अर्को हरियाली पार्क देख्नुहुनेछ । यो यही ठाउँ हुनसक्छ, तपाईंको देशले बनाइदिने भनेको रेल स्टेसनको एउटा ट्रान्जिट ।
अँ, साँच्चि, मैले यस्तो दुस्साहस गर्न नहुने, तपाईंहरुको रेल परियोजना मलेसियामा किन रद्द भयो ? अनि श्रीलंकामा त बन्दरगाह थियो, नेपालमा त्यस्तो बन्दरगाह नभेट्दा के तपाईंको मन शान्त नै रहनेछ ?
महोदय,
काठमाडौंमा तपाईंलाई स्वागत छ । तपाईंले चीनबाट के ल्याउनु भएको छ ? के त्यसले नेपाली जनको सपना पूरा गर्ला ?
गरोस्, मेरो कामना छ । तपाईंलाई स्वागत गर्न र काठमाडौंमा गाइड गर्न तयार प्रत्येक नेपाली छन् । के यी सब नेपालीको मनमा रोपिएको रेलको बिउले उनीहरुको टाउकोमा थप ऋणको भारी थप्देला र ?
उही,
एक नेपाली,
जो काठमाडौंलाई आफ्नो मनले पूरै छोपेर तपाईंको स्वागतमा तयार !
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।