बढी भाडा असुलेका सुमाे कारवाहीमा
साङ्‌केतिक तस्वीर ।

हेटौँडा–काठमाडौं छोटो मार्गमा चल्ने टाटा सुमोले तोकिएको भन्दा बढी भाडा असुलेपछि कारबाही गर्न थालिएको छ । सो रुटका यात्रुसँग प्रतिव्यक्ति ३ देखि ४ सयभन्दा बढीसम्म भाडा असुलेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटेको टोलीले कारबाही प्रक्रिया अघि बढाएको हो । हेटौँडाबाट सञ्चालित सुमोले दसैँको मौका छोपेर बढी भाडा लिएको गुनासो बढ्न थालेपछि सञ्चालन स्थलमै प्रहरीले निगरानी बढाएको जनाएको छ । 

प्रशासनले प्रहरीलाई निर्देशन दिएसँगै असोज २२ र २३ गते ७ वटा सुमोलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्रिभुवन राजपथ सडकखण्ड र हेटौँडा १ स्थित सुमो पार्कमा चेकजाँच गर्दा बढी भाडा असुलेको पाइएपछि कारबाही गरिएको प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ना१ज ७२०१, ना१ज ४६६४, ना१ज २०९९, ना१ज ३८८५, ना१ज २९७४, ना१ज २९५५ तथा ना१ज २२२१ नम्बरको सुमोले ५७ जना यात्रुबाट बढी भाडा असुलेका थिए । सोबापत १३ हजार दुई सय रुपैयाँ रकम फिर्ता गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नियन्त्रणमा लिइएको सुमोमध्ये केहीलाई जरिवाना र कागजात लिइएको प्रहरी (डिएसपी) भट्टराईले जानकारी दिए । कागजपत्र नियन्त्रणमा लिइएका सवारीसाधनको थप अनुसन्धान हुने प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले छाटोमार्ग भएर चल्ने टाटा सुमोको निगरानी निरन्तर जारी रहने प्रतिक्रिया दिए ।उनले दसैँ तिहारमा सुमोले मनलाग्दी भाडा लिने र यात्रुलाई सास्ती दिने गुनासो धेरै आएकाले प्रशासनसँगको समन्वयमा निगरानीलाई निरन्तरता दिँदै कारबाही गरिने बताए ।





  • प्रकाशित मिति : असोज २५, २०७६ शनिबार ८:८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया