धादिङ– धादिङको सिद्धलेक गाउँपालिका ४ सलाङ गौंथलेका ९४ परिवारले भूकम्प प्रतिरोधात्मक पक्की घर पाएका छन् । भूकम्पले वर्षाैँदेखि बस्दै आएको घर भत्किएपछि प्रभावितहरू लामो समयदेखि अस्थायी टहरामा बस्दै आएका थिए । नयाँ घर पाएपछि उनीहरूको मुहारमा खुसी छाएको छ ।
सिमेन्ट तथा बालुवाको प्लास्टर लगाइएका, रंगरोगनले आकर्षक बनाइएका चिटिक्कका घरले झुरुप्पको बस्ती गौंथले गाउँको मुहार नै फेरिएको छ । नयाँ घर पाएपछि टीकामाया थापा मगर खुसीले गदगद भएकी छिन् । ‘भूकम्पपछि वर्षाैँसम्म टहरामै बसियो । कति दुःख भयो, कुरा गरिसाध्य छैन,’ पुराना दिन सम्झँदै उनले भनिन्, ‘श्रीमान् गुमाएको वर्षाैँ भइसक्यो । छोरा पनि सानो छ । यो जुनीमा घर बनाउन सकँुला जस्तो लागेकै थिएन । तर, नयाँ घर पाएँपछि जुनी फेरे जस्तै भएको छ ।’
१२ वैशाख ०७२ को भूकम्पले गौंथले गाउँमा रहेका प्रायः सबै घर ढले । आर्थिक अवस्था कमजोर भएका टीकामायाजस्ता थुप्रैले घर बनाउन सकेनन् । उनले भनिन्, ‘एक छाक भएपछि अर्को छाक के खाउँ भन्ने अवस्था छ । यस्तो दुःखमा परेका वेला संस्थाले घर बनाइदिएर गुन लगायोे ।’ घर निर्माणमा करिब एक लाख रुपैयाँ लगानी आफूहरूले पनि गरेको बताइन् ।
गौंथलेकै वीरबहादुर थापा मगर नयाँ घरमा दसै मनाउन पाउँदा खुसीले दंग छन् । ‘भूकम्पले घर भत्किएपछि फेरि नयाँ घर बनाउन सकिएला भन्ने लागेको थिएन,’ उनले भने, ‘लामो समय अस्थायी टहरामै बसियो । अहिले बलियो घर पाएपछि खुसीको सीमा छैन । डलब दसैँ आएको जस्तो भएको छ ।’
‘गौंथलेवासीको मुहारमा उज्यालो छाए मात्रै नयाँ घरले गाउँको मुहार फेरिएको औचित्य हुन्छ,’ उनले भने, ‘गौंथले गाउँलाई सर्वांगीण विकासमा लैजानुपर्छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सञ्जालजस्ता कुरामा जोड दिनुपर्छ । कला, संस्कृतिको जगेर्ना गर्न सके पर्यटन प्रवद्र्धनमा सहयोग पुग्छ र गौंथलेवासीको जीवनस्तरमा सुधार आउँछ ।’ उनले नयाँ घर पाएपछि खुसी भएजस्तै आफ्नो गाउँ आफैँ बनाउने अभियानमा लाग्न सुझाब दिए ।
एकीकृत सामुदायिक विकास अभियान नेपाल धादिङको सिद्धलेक गाउँपालिका–४ गौंथलेका ९४ घर परिवारलार्ई घर बनाइदिएको हो । अभियानका अध्यक्ष पर्शुराम दुवाडीले केकेएस र बिएमजेड जर्मनीको सहयोगमा ९४ घर बनाएको जानकारी दिए । उनले बस्ती निर्माणमा सात करोड ५५ लाख ६१ हजार सात सय ८५ रुपैयाँ खर्च भएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।