साढे तीन वर्षपछि क्यानकाे निलम्बन फुकुवा गर्याे आइसिसीले

काठमाडाैं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले साढे तीन वर्षपछि नेपाल क्रिकेट संघ (क्यान)माथिको निलम्बन फुकुवा गरेको छ । १२ वैशाख ०७३ देखि निलम्बित क्यानलाई आइसिसी बोर्ड बैठकले सोमबार निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । 

आइसिसीका अनुसार क्यानको नयाँ कार्यसमितिले तत्काल पूर्ण हैसियतमा काम गर्न पाउनेछैन । आइसिसीले फेरि क्यानको नयाँ कार्यसमितिसँग समयतालिकासहित नयाँ योजना बनाउनेछ र ती योजनाअनुसार मात्रै रकम विनियोजन गर्नेछ । 

‘क्यानलाई फेरि आइसिसीको सदस्यराष्ट्रका रूपमा पुनस्र्थापित गर्ने निर्णय भएको छ,’ बैठकपछि आइसिसीका अध्यक्ष शशांक मनोहरले भनेका छन्, ‘हामी क्यानका लागि यो संक्रमणकालीन अवस्थालाई हेरेर केही योजना बनाउनेछौँ । ती योजना मुख्यगरी एसोसिएट सदस्यताको मापदण्ड पूरा हुने गरी बनाइनेछन् । त्यसमा क्यानले पाउने आर्थिक सहायतामा समेत नियन्त्रण हुनेछ ।’

०७२ मा क्यानको निर्वाचनसँगै दुई समानान्तर कमिटी गठन भएपछि आइसिसीले निलम्बन गरेको थियो । २८ मंसिर ०७२ मा तोकिएको निर्वाचन रोक्न तत्कालीन अध्यक्ष टंक आङबुहाङ राष्ट्रिय खेलकुद परिषद् (राखेप) को शरणमा पुगेका थिए । तर, निर्वाचन तोकिएको समयमा भयो । उनकै कार्यसमितिमा उपाध्यक्ष रहेका चतुरबहादुर चन्द नयाँ अध्यक्ष र महासचिव अशोकनाथ प्याकुरेल पुनः महासचिव चुनिए ।

लगत्तै राखेपका निवर्तमान सदस्यसचिव केशवकुमार विष्टले चन्द र प्याकुरेल नेतृत्वको समितिको समानान्तरमा अर्काे समिति गठन गरिदिए, जसको संयोजक बने राखेपका वर्तमान सदस्यसचिव रमेश सिलवाल । यही विवादपछि आइसिसीले स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन नसकेको तथा सरकारी हस्तक्षेप भएको भन्दै क्यानलाई निलम्बन गरेको थियो । 

आइसिसीले क्यानमाथि अझै केही समय कडाइ गर्ने स्पष्ट संकेत दिएको छ । क्यानको सुशासन र आर्थिक पारदर्शितामा उसको जोड रहनेछ । आइसिसीले सुरुवातबाटै क्यानमा यी पाटोमा जोड दिँदै आएको थियो । आफैँले तय गरेको नयाँ बाटोअनुसारबाट पनि पुरानै नेतृत्व दोहोरिएपछि आइसिसीले सुशासन र आर्थिक पारदर्शिता हुने निश्चित नभएसम्म क्यानको नयाँ नेतृत्वलाई सहज छाड्नेछैन । 





  • प्रकाशित मिति : असोज २८, २०७६ मंगलबार ९:५४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया