सोलुखुम्बु– सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख आफैँ सडकमा आएर सवारी जाँचको अनुगमन गरेका छन् । चाडपर्वको अवसरमा विभिन्न बहाना पारी यात्रुलाई ठगेको सूचनाका आधारमा ट्राफिक प्रहरीले चेकिङलाई समेत कडाइ गर्दै आएको छ ।
प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल र प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमोरिया आफैँ सडकमा आएर नागरिकको गुनासो सुनेको यो पहिलोपटक हो । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त टोलीले बढी भाडा लिने सवारीलाई कारबाही गर्दै यात्रुको रकम फिर्ता गराइरहेको छ ।
बारम्बार सचेत गराउँदासमेत विभिन्न बहाना पार्दै यात्रुलाई बढी भाडा लिए पनि कतिपय यात्रु स्वयंले ढाँटेर दोषीलाई उन्मुक्ति दिने काम गरेको पाइएको प्रमुख जिल्ला अधिकारी खनालले बताए । उनले भने, 'ट्राफिक प्रहरीको सक्रियता सन्तोषजनक छ, तर पनि स्थलगत गुनासो सुन्ने र आगामी योजना निर्माण गर्ने गरी राति नै सडकमा गयौँ, हेर्यौँ धेरै कुरा बुझ्यौँ ।'
आइतबार ओखलढुंगाबाट सोलुखुम्बु भित्रिएका सवारीसाधानमा जाँच गर्दा सात यात्रुबाट ५० का दरले बढी लिएको पाएपछि रकम फिर्ता गराइएको प्रहरी नायव उपरीक्षक चिमोरियाले जानकारी दिए । ओखलढुंगा सल्लेरीका लागि ४५० भाडा कायम गरिएको छ ।
प्रहरीकै अगाडि भाडा बुझाउनुपर्ने
टिकट नदिने र प्रहरीको चेकिङ सकिएपछि मात्रै भाडा लिन थालेपछि प्रहरीकै रोहवरमा भाडा तिर्न लगाउने र गाडी छुटाउनेसम्मको काम प्रहरीले गर्दै आएको छ । योे अवधिमा १०० भन्दा बढी सवारी कारबाहीमा परेको प्रहरीले जनाएको छ ।
अहिले अस्थायी जिल्ला ट्राफिक प्रहरी पोस्ट र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको संयुक्त टोलीले बिहान ४ बजेदेखि राति १०ः३० बजेसम्म नियमित ड्युटी गर्ने गरेको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए । 'बेला–बेलामा रातको कुनै प्रवाह नगरी हामी पनि बाहिर निस्केर हिँडिरहेका हुन्छौँ”, उनले भने, 'कसैले ठगिएको महसुस भए प्रहरीलाई खबर गर्न सकिन्छ ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।