भारत र चीनकाे आपसी सम्बन्ध सुमधुर भयाे, नेपाल सँगसँगै अगाडि बढ्न चाहन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारत र चीनका पुराना कुरा बिर्सेर सम्बन्धको नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । उनले नेपाल आपसी सम्बन्ध सुधार्दै सहकार्यमा सँगसँगै अगाडि बढ्ने बताएका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सभ्यता, ज्ञान, खोज र संस्कृतिको जननी एसिया भएकाले यस सम्पन्नतालाई प्रवर्द्धन गर्दै आपसी सहकार्यबाट यी देशको आर्थिक समृद्धि वर्तमानको कार्यभार भएको पनि बताए ।

चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण अत्यन्तै सफल भएको र राष्ट्रपति सीले नेपाल आउनुअघि भारतको भ्रमण गर्नुभएकाले एसियाका देश कस्तो नयाँ चरणको सम्बन्धको विकास गरिरहेका छन् भन्ने सन्देश दिएको उल्लेख गरे । राष्ट्रपति सीले यही असोज २५ र २६ मा नेपालको राजकीय भ्रमण गरेका थिए ।

प्रधानमन्त्री ओलीले भने, ‘विश्वमै धेरै जनसंख्या रहेका भारत र चीन पुराना कुरा बिर्सेर आपसी सम्बन्धलाई सुमधुर बनाउँदै छन् । नेपाल पनि सँगसँगै अगाडि बढ्न चाहन्छौँ । एसिया अब कटुताको होइन, पारस्परिक एकता, मानवहित र समृद्धिको बाटोमा अघि बढ्न चाहन्छ ।’ पूर्वीय सभ्यता र संस्कृति उत्कृष्ट र लोभलाग्दो भएको उल्लेख गर्दै उनले यसका राम्रा पक्षहरुको संरक्षण गर्दै जान आग्रह गरे ।

जारी सम्मेलनका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेपालका लागि बंगलादेश र पाकिस्तानका राजदूत, संस्कृतिविद् सत्यमोहन जोशीलगायतले सम्मेलन सफलताको कामना  गरे । सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, ब‌गलादेश, श्रील‌ंका र माल्दिभ्सबाट संस्थागत प्रतिनिधित्वका साथै विदेशका २० र नेपालका ४० गरी ६० साहित्यकारको सहभागिता हुनेछ ।
 
सम्मेलनमा चार नेपाली र १२ अन्य देशका गरी १६ कार्यपत्र प्रस्तुत हुनेछ । प्रतिष्ठानका कुलपति ग‌ंगाप्रसाद उप्रेतीले पश्चिमा संस्कृतिको गलत प्रभाव चिरेर एसियाली संस्कृतिको प्रवर्द्धन गर्ने सम्मेलनले सघाउने बताए ।

सम्मेलनका अवसरमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सांस्कृतिक एवं पर्यटकीयस्थलको अवलोकन गराई पर्यटन प्रवर्द्धनसमेत गरिने कार्यक्रम छ । असोज ३० चन्द्रागिरि तथा आगामी कात्तिक १, २ र ३ गते विदेशी सहभागीलाई काठमाडौं र पोखराका पर्यटकीय, ऐतिहासिक, पुरातात्विक एवं सांस्कृतिकस्थलको भ्रमण गराइनेछ । यसअघि पहिलो सम्मेलन सन् २०१७ मा चीनको सिचुवान प्रान्तस्थित छेन्दुमा भएको थियो । 





  • प्रकाशित मिति : असोज २८, २०७६ मंगलबार १४:२१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया