अब कसले सम्हाल्ला नेपाली क्रिकेट टिम ?

काठमाडौं– नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानबाट राजीनामा दिएसँगै खेल वृत्तमा अब नेपाली क्रिकेट टोलीको कप्तानी कसले सम्हाल्ला भन्ने चर्चा सुरु भएको छ ।

नेपाली टिमको कप्तानका लागि नेपाल क्रिकेट एसोसियसन (क्यान)ले पदाधिकारी बैठक बोलाएर नयाँ नेतृत्व चयन गर्नेछ । तर, अहिलेसम्म पारसले आफ्नो राजीनामा आधिकारिक रुपमा क्यानलाई बुझाएका छैनन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यो विषयमा आफूहरुलाई आधिकारिक जानकारी आएपछि पदाधिकारी बैठक डाकेर निर्णय गर्ने बताएका छन् ।

अर्कोतिर, पारसले राजीनामा दिएपछि नेपाली टिम अब कसले सम्हाल्ने भन्ने विषयमा सामाजिक सन्जालमा पनि चर्चा सुरु भएको छ । क्रिकेटका जानकारहरु अब नेपाली टिमको नेतृत्व ज्ञानेन्द्र मल्लको हातमा जाने सम्भावना देख्छन् । मल्लले पारस कप्तान हुँदा नेपाली टिमको उपकप्तानका रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए । त्यसैले यसमा उनी नै सबैभन्दा बढी दाबेदार हुने धेरैको अनुमान छ । 

अर्कोतिर, नेपाली घरेलु क्रिकेटमा सर्वाधिक सफल कप्तान शरद भेषवाकरको पनि नाम नयाँ कप्तानको सूचीमा आउन थालेको छ । उनले घरेलु क्रिकेटमा नेतृत्व गरेका खेलहरुमा प्रायः सबैपटक टिम फाइनलसम्म पुर्याएका छन् । त्यसैले उनलाई अबको नेपाली टिमको नेतृत्व दिन सकिने अनुमान धेरैले गरेका छन् । 

यस्तै, नयाँ कप्तानको नाममा दीपेन्द्र सिंह ऐरीको पनि नाम आउन थालेको छ । उनले नेपालको यु–१९ टिमको कप्तानी सम्हालिसकेकाले  राष्ट्रिय टिमको कप्तानी पनि दिन हुने तर्क गर्न थालिएको छ । उनले नेपाल सिङ्गापुर तथा ओमान भ्रमणमा हुँदा टिमको उपकप्तानका रुपमा टिमलाई सम्हालेका थिए । 

अर्कोतिर, पारस खड्का फेरि कप्तानमा फर्किएलान् भन्ने अनुमान पनि गर्न थालिएको छ । तर, मंगलबार पत्रकार सम्मेलनमा पारसले यसलाई प्रष्ट पारेका छन्– म अब कप्तानका रुपमा फर्किन्नँ । उनले आफूले कप्तान पदबाट राजीनामा दिने यही नै उचित समय भएको पनि बताएका छन् । 



सन् २००४ देखि राष्ट्रिय टोली राष्ट्रिय टोलीबाट खेल्न थालेका पारसले सन् २००९ देखि राष्ट्रिय टोली सम्हालेका थिए । त्यसअघि विनोद दास नेपाली क्रिकेट टिमका कप्तान थिए । पारसकै कप्तानीमा नेपालले सन् २०१४ को टि –२० विश्वकप खेलेको थियो भने सन् २०१८ मा एक दिवसीय मान्यता पायो ।



  • प्रकाशित मिति : असोज २८, २०७६ मंगलबार १६:५२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया