एक घन्टा बढी सुत्दा कति हुन्छ फाइदा ?

एजेन्सी– हामी धेरै जसोको एउटा सामान्य रुटिन छ, जिम जानेहरु हामी बिहान छिटो उठ्न खोज्छौँ । कहिलेकांही काम परेर नै राती अबेरसम्म कम्प्युटर चलाएर बस्छौँ । 

ल, केही काम छैन भने पनि हामी कहिलेकांही मोबाइल चलाएर बिछ्यौनामा केही समय यसै बिताइदिन्छौँ । 

जे होस्, हामी सुत्ने समयमा कटौती गरिदिन्छौँ । तर, हामीलाई एउटा स्वस्थ जीवनशैली चाहिएको छ भने हामीले सुत्नका लागि सक्दो धेरै समय निकाल्नु पर्ने हुन्छ ।

सुत्नका लागि हामीले एक घन्टा मात्र बढी निकाल्यौँ भने पनि हामी अझ ताजा देखिन्छौँ, अझ फुर्तीफार्ती देखिन्छौँ । विशेषज्ञहरुले त अझ के भनेका छन् भने एक घन्टा बढी सुत्नु जति फाइदाजनक हुन्छ, त्यति नै एउटा निश्चित रुटिन बनाएर त्यही अनुसार सुत्नु धेरै फाइदाजनक हुन्छ ।

आवश्यकताअनुसार हामीले सुत्यौँ भने त्यसका अनेकौँ फाइदा छन् । अमेरिकाको जोन हपकिन्स विश्वविद्यालयका एसोसियटेड प्रोफेसर र्याचेल सलास निद्रासम्बन्धी एक विशेषज्ञ हुन् । उनले भनेका छन्, ‘आवश्यक निद्रा पुग्यो भने मानिसले आफूलाई राम्रो महसुस गर्नुका साथै आफूमा धेरै ऊर्जा भएको महसुस गर्छ । र, यसले राम्रा विचारहरु पनि जन्माउँछ । जो मानिस राम्रोसँग सुत्छ, उसले आफ्नो संगठनमा पनि राम्रो गर्न पाउँछ ।’

निद्राले हाम्रो शरीरलाई राम्रै असर गर्ने उनल बताएका छन् । जब मानिसहरुले आफ्नो निद्रालाई कटाउँदै लैजान्छन्, उनीहरुको तौल बढ्दै जान्छ । झन्, आँखाहरु थकित देखिनु त सामान्य हो ।



कतिसम्म भने एक घन्टा थप सुत्दा मानिसहरुको मानसिक दक्षता पनि निकै धेरै वृद्धि भएको पाउन सकिन्छ । कतिपय अध्ययनहरुले के पाएका छन् भने जसले पूरा निद्रा सुत्छ, उसले जीवनमा राम्रो गर्छ ।

गत महिना अमेरिकामा भएको एक अध्ययनले पूरा निद्रा सुत्ने विद्यार्थीले अन्तिम परीक्षामा राम्रो गरेको देखाएको थियो । मिसिगन विश्वविद्यालयमा अक्टोबरमा गरिएको एउटा रिसर्चले निद्रा कम हुँदा मानिसको दक्षतामा कमी आउँछ ।



अर्को एक अध्ययनले कोही पनि व्यक्ति दुई दिनसम्म लगातार ६ घन्टाभन्दा कम सुतेको छ भने उसलाई एक सातासम्म काममा समस्या पर्ने देखाएको छ । अर्को एउटा अध्ययन जुन सन् २०१८ मा स्वीडेनमा प्रकाशित गरिएको थियो, त्यसले पनि कम निद्रा हुनेहरुको मृत्यु छिटो हुने जनाएको छ । यो अध्ययनमा ४० हजार मानिसलाई समावेश गरिएको थियो ।

जे होस्, अहिलेसम्म जति अध्ययन गरिएका छन्, ती सबैले एक घन्टा बढी सुत्दा जीवनशैली, कामको क्षमता तथा सोच र स्वास्थ्यमा राम्रो हुने निष्कर्ष निकालेका छन् ।

  • प्रकाशित मिति : असोज २८, २०७६ मंगलबार २३:१५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया