रोशनी शाही कुटिएको शिक्षण अस्पतालद्वारा पुष्टि

काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयास भएको भनेर सञ्चारमाध्यममा अन्तवार्ता दिएकी संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीको घाउजाँच प्रतिवेदन सार्वजनिक भएको छ । घाउजाँच प्रतिवेदनअनुसार उनीमाथि कुटपिट भएको पुष्टि भएको छ ।

शाहीको घाउजाँच प्रतिवेदनमा कसैले उनलाई हिर्काएर चोट लगाइदिएको उल्लेख छ । त्रिवि शिक्षण अस्पतालले केही दिनअघि सो प्रतिवेदन दिएको थियो । सो दिन शाहीको कोठामा महराबाहेक अन्य कोही प्रवेश नगरेको भेटिएकाले सो कुटपिट उनैले गरेको प्रहरी स्रोतको भनाइ छ ।

गत असोज १२ गते राति महराले बलात्कार प्रयास गरेको भन्दै शाहीले १३ गते स१चारमाध्यममा बयान दिएकी थिइन् । त्यसको चार दिनपछि असोज १७ गते शाहीले प्रहरीमा जाहेरी दिएकी थिइन् । प्रहरीले १७ गते नै उनको शरीरमा लागेको घाउजाँचका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको थियो ।

रोशनीको हात, औँला, अनुहारलगायत शरीरका विभिन्न ठाउँमा चोट देखिएको थियो । शाहीले जाहेरीमा महराले कुटपिट गर्दा सो चोट लागेको उल्लेख गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अनुसन्धान प्रतिवेदन तयार गर्ने क्रममा डाक्टरबाट आएको घाउजाँच प्रतिवेदन पनि प्रमुख प्रमाणकै रूपमा राखिन्छ । कुटपिट गर्दा फुटेको महराको चस्मा, जुत्ताको तलुवा, रक्सी पिएको गिलास, रक्सीको बोत्तल फरेन्सिक जाँचको रिपोर्ट भने आउन बाँकी छ । 

जबरजस्ती करणी उद्योगमा मुद्दा अघि बढाइएका महरालाई जिल्ला अदालत काठमाडौंले थप तीन दिन थुनामा राख्न मंगलबार अनुमति दिएको छ ।





  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार १५:११:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया