Wed, 13 Nov, 2019


साख गुमाएको एनआरएनए
फरकधार / असोज २९, २०७६

गैर आवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका लागि काठमाडौंमा आज (बुधबार) साँझ मतदान हुँदैछ । आआफ्ना प्यानलसहित कुमार पन्त र कुल आचार्य चुनावी प्रतिस्पर्धामा छन् । 



मतदान सकिएपछि यी दुईमध्ये एकले एनआरएनएलाई नेतृत्व गर्नेछन् । उनीहरुको नेतृत्व कस्तो हुनेछ भन्ने आउँदा दिनहरुले देखाउला । तर, त्योभन्दा अगाडि एनआरएनएका सदस्यले कसरी यो संस्थाको बिजोग बनाइरहेका छन् भन्ने चर्चा गर्दा असान्दर्भिक नहोला ।

यो संस्थाले आफ्नो भूधरातल छोडेको कुरा त यसका संस्थापक अध्यक्ष उपेन्द्र महतोले यसपटकको सम्मेलनलाई बहिष्कार गर्नुले नै प्रमाणित गर्छ । यदि त्यस्तो हुँदैनथ्यो भने महतो आफूले जन्माएको संस्थालाई यसरी बहिस्कार गर्ने मुडमा पक्कै पुग्दैनथे । 

महतोले प्रष्ट भनेका छन्, उनले यो सम्मेलन अस्वीकार गर्नुको कारण संस्थामा राजनीति छिर्नु हो । तर, एनआरएनएमा राजनीति छिरेको आज होइन । अहिलेका अध्यक्ष भवन भट्ट निर्वाचित भएको दुई वर्षअघिको सम्मेलनमा नै राजनीतिको त्यो रंग यो संस्थामा छिरिसकेको थियो । 

एनआरएनएका एक सदस्यले केहीअघि कुमार पन्त किन अध्यक्षमा उठ्दैछन् भन्ने विषयमा एउटा रोचक प्रसंग सुनाएका थिए ।

यो सन् २०१७ को कुरा हो । त्यति बेला पनि प्रधानमन्त्री थिए, केपी शर्मा ओली । एनआरएनएको सम्मेलन काठमाडौंमा हुँदै थियो । कुमार पन्त अध्यक्षमा उठ्ने सम्भावना थियो । तर, भवन भट्टले उनलाई लिएर पुगेछन्, ओलीकहाँ । अनि ओलीकै अगाडि वाचा गरेछन्– अर्कोपटक पन्तजीलाई म साथ पनि दिन्छु । 

कुमार पन्तले त्यति बेला भवनलाई अध्यक्ष पद छाडिदिए । तर, केही महिनाअघि भट्टले एउटा कार्यक्रममा फ्याट्टै भनिदिए– यसपटक अध्यक्षमा मैले दोहोर्याउने हो ! भट्टको यो अभिव्यक्ति आएपछि उनको मोबाइलमा विभिन्न देशबाट कल आयो । धेरैले ओलीको अगाडि गरेको उनको वाचा सम्झाए । त्यसपछि कुमार पन्तलाई अध्यक्षको उम्मेदवार बनाउन राजी भए, भवन ।

यो प्रसंगलाई दुई अर्थमा लिन सकिन्छ, एउटा गन्थन । अर्को कस्तो नेतृत्वमा एनआरएनए रहेछ भन्ने गम्भीर प्रश्न । जसले आफूले गरेका वाचा समयमा बिर्सिन्छ, जसले समाजका लागि के दिन सक्छ ? हामी नेपाली सानैदेखि नीति शिक्षा पढेर हुर्किएका छौँ तर जो यी सब कुराबाट पर रहन्छ, उसले पक्कै पनि राम्रो नतिजा दिन सक्दैन । 

तर, यही एउटा विषयका कारण मात्र एनआरएनएले साख गुमाएको होइन । 

केहीअघिको प्रसंग सम्झिऔँ । 

भवन भट्ट नेपालबाट जापान जाँदै थिए । उनी सिल्क एयरको विमानबाट जापान जाँदै थिए । तर, दिउँसै रक्सी पिएर विमानस्थल पुगेका भवनले त्यहाँ जे व्यवहार गरे, त्यसले एउटा नमीठो छाप यो संस्थामाथि पारेर गएको छ । त्यो दिन उनलाई सिल्क एयरले उडाउन मानेन । मदिराको मातमा उडिरहेका भवन विदेश उड्न नपाएको यो घटना यति ठूलो जिम्मेवारी र सम्मान बोकेको संस्थालाई सुहाउने कुरै थिएन । 

विमानस्थलकै अर्को प्रसंगमा केही दिनअघि पक्राउ परेका नेपाली मूलका अष्ट्रेलियाली पासपोर्ट बोकेका रमेश कुमार थापालाई पनि बिर्सनु हुँदैन । उनले विमानस्थलमा जे गरेका थिए, त्यो स्वीकार्य कदापि हुन सक्दैन । तर, उनले त्यहाँ आफूलाई गलत तरिकाले प्रस्तुत गरेको लज्जाबोध गरेनन्, उल्टै उनलाई पक्राउ गरेपछि छुटाउनका लागि प्रहरी उच्च स्रोतमा फोन बज्न थाल्यो । 

अर्कोतिर, एनआरएनएको सम्मेलन सुरु भएपछि पछिल्लो समय विभिन्न सन्चारमाध्यमहरुमा खबर आइरहेका छन्– होटलमा एनआरएनएहरुले रक्सीको खोले बगाइरहेका छन् । 

खासमा यो समय त एनआरएनएले यी दुई वर्षमा गरेका राम्रा कामको चर्चा हुनु पर्ने समय थियो । तर, जति समाचार र विषय बाहिर आइरहेका छन्, ती कुनै पनि सकारात्मक छैनन् । जस्तो, यहाँभन्दा पहिले एनआरएनएले गरेका सम्झौताहरु कुनै पनि पूरा भएका छैनन् । यसको एउटा उदाहरण हुनसक्छ, जानकी मन्दिर व्यवस्थापनसँग भएको एनआरएनएको सम्झौता । उसले त्यहाँ केही रकम लगानी गरेर जानकी मन्दिरलाई सुन्दर बनाउने सम्झौता गरेको थियो । तर, यो काम यसै अलपत्र परेको छ । 

भूकम्पपछि एनआरएनएको सक्रियतमा बारपाकमा बस्ती बनेको एउटा सुखद समाचारबाहेक एनआरएनएले पछिल्ला केही वर्षमा नेपालमा केही पनि गरिरहेको छैन । सधैं सम्मेलन हुँदा नेपालका उच्चपदस्थ व्यक्ति गएर एनआरएनहरुलाई भन्छन्– नेपालमा लगानी गर्नुहोस् । तर, अहिलेसम्म प्रभावकारी रुपमा एनआरएनए संलग्न कुनै पनि परियोजनाले नेपाली समाजमा परिवर्तन ल्याउन सकेका छैनन् । 

बरु उल्टै एनआरएनएमा पुग्न खोज्ने नेतृत्वमाथि बेलाबखत गम्भीर आरोपहरु लाग्छन्, मानवतस्करी गरेको सम्म । यस विषयमा त्यो संस्थाले कहिल्यै पनि तार्किक जवाफ दिएको पाइँदैन । बरु बहसमा त एनआरएनहरुले दोहोरो नागरिकता पाउनु पर्नेजस्ता विषयले प्राथमिकता पाउँछ । खासमा एनआरएनहरुले त नेपाली समाजलाई अझ परिस्कृत र समृद्ध बनाउन लगानी गर्नु पर्ने होइन र ?

हो, सम्मेलनको समयमा दुई चार दिन एनआरएनहरु आएर संस्था र आफ्नो हल्ला अलिक चर्काउन न चर्काउँछन् । तर, त्यसले नेपाली समाजलाई अहिलेसम्म कुनै उपलब्धि दिन सकेको छैन । र, सम्भवतः अब चुनिने नयाँ नेतृत्वले पनि जिम्मेवार भएर अगाडि नबढ्ने हो भने यो संस्थाले गुमाएको साख अझ गिर्दै जाने देखिन्छ ।

किनकि यस्तो लाग्छ, जो एनआरएनएका सदस्य हुन्, उनीहरुले नेपाली माटोको सुवास र सुगन्ध, नेपाली माटोको माया र यसप्रतिको कर्तव्य भुलिसकेका छन् ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्