काङ्ग्रेसले सभामुख वा उपसभामुख पाउने सम्भावना कति छ ?

काठमाडौं– चाडवाडको छेको पारेर बुधबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चियापानको आयोजना गरेको थियो । त्यो चियापानमा राजपाका नेताबाहेक अन्य दलका नेताहरु पनि पुगेका थिए । 

तिनैमध्ये एक थिए, नेपाली काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल । 

पौडेलले त्यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै भने– अब सभामुख र उपसभामुख पदमध्ये एक पद नेपाली काङ्ग्रेसलाई चाहिन्छ ।

यसअघि नेपाल कम्युनिस्ट पार्टीको एकीकरण नभइसकेकाले एमाले र माओवादी फरक फरक दल भएको दलिल पेश गर्दै सभामुख र उपसभामुख दुवै पद नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले पाएका थिए । 

तर, यौन दुव्र्यवहारको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिए । अब त्यो पद खाली भएको छ । अब चाहिँ खाली भएको त्यो पदमा संवैधानिक व्यवस्थाअनुसार फरक फरक दल हुनु पर्ने माग कांग्रेसका नेताहरुले राख्न थालेका हुन् । 

काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राखेको यो माग संविधानको भावना र मर्म, संसदीय मूल्य र मान्यतालाई ख्याल गर्ने हो भने अत्यन्त उति छ । तर, यसको अर्थ के होइन भने सभामुख वा उपसभामुखमा काङ्ग्रेस मात्रै दाबेदार हो । संसदमा भएका अन्य साना दलको भागमा पनि यी दुईमध्ये एक पद जान सक्छ । 



त्यसका लागि अब नेपाल कम्युनिस्ट पार्टीले कस्तो समीकरणमा काम गर्छ भन्ने मुख्य कुरा हो । 

पछिल्लो समय नेकपाका शीर्ष नेताहरु यो विषयमा छलफल गर्न जुटिसकेका छन् । केही दिनअघि मात्र नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर नै यस विषयमा कुराकानी गरेका थिए । तर, उनले शिवमायालाई तत्काल राजीनामा दिएर पार्टीलाई सहज वातावरण निर्माण गरिदिन अनुरोध चाहिँ गरेनन् । ओलीनिकट नेकपाका एक नेताले यस विषयमा अब प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सल्लाह गर्नेछन् । सचिवालय बैठकमा पनि यो विषयमा छलफल हुने ती नेताले अनुमान गरेका छन् । 



अर्कोतिर, नेकपाभित्र सम्भावित सभामुख भन्दै केही नेताको नाम लिन थालिएको छ । यो सूचीमा सबैभन्दा अग्रस्थानमा छन्, पूर्वसभामुख सुवास नेम्वाङ । त्यस्तै पूर्वएमालेबाट खगराज अधिकारीलाई पनि सभामुख बनाउन सक्ने संकेत नेकपा नेताहरुले गर्न थालेका छन् । तर, नेकपाभित्र पूर्वमाओवादी नेताहरु भने अबको सभामुखमा पनि पूर्वमाओवादी फ्य्राक्सनबाट नै नेताहरु हुनु पर्ने दाबी गर्न थालेका छन् । उनीहरुले देव गुरुङ, अग्नि सापकोटालगायतका नेताको नाम अगाडि सारेका छन् । 

तर, यो सब हुनका लागि पहिले उपसभामुख शिवमायाले राजीनामा दिनु पर्ने हुन्छ । 

 

के राजीनामा देलिन् त शिवमायाले ?

एक नेकपाका नेताअनुसार शिवमायालाई मन्त्री बनाउने वाचासहित प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन कन्भिन्स गर्ने पक्षमा छन् । तर, शिवमायाले विभिन्न सन्चारमाध्यमसँग कुराकानी गर्दै आफूले मन्त्री पदसँग आफूले सभामुख पद नसाट्ने बताएकी छिन् । सँगसँगै उनले पार्टीले भनेमा आफूले उपसभामुख पद चाहिँ छोड्ने बताएकी छिन् । 

शिवमायाले उपसभामुख पद छोडेको खण्डमा सदनमा सभामुख र उपसभामुख दुवै पदका लागि निर्वाचन हुन्छ । त्यस्तो अवस्था आएमा नेकपाले सभामुख पद आफूसँग र उपसभामुख पद अन्य साना दललाई दिने सम्भावना बढी हुन्छ । 

‘हाम्रो पार्टीको दुईतिहाइ हुनुको अर्थ हामीले सभामुख र उपसभामुखमा जसलाई चह्यौँ, तिनै निर्वाचित हुन्छन्,’ नेकपाका ती नेताले भने, ‘यस्तो अवस्थामा प्रमुख प्रतिपक्ष कांग्रेसलाई नै उपसभामुख पद दिनु पर्छ भन्ने छैन । संविधानमा पनि प्रमुख प्रतिपक्षकै उपसभामुख हुनु पर्ने भन्ने व्यवस्था छैन ।’

प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम ९१० अनुसार सभामुखले उपसभामुखलाई सम्वोधन गरी आफ्नो पदबाट राजीनामा दिन सक्नेछन् । उपसभामुखले आफ्नो पदबाट राजीनामा दिँदा सभामुखलाई सम्वोधन गरी दिनु पर्नेछ ।

तर, अहिले सभामुख पदमा कोही पनि नभएकाले शिवमायाले राजीनामा दिन मिल्दैन भन्ने तर्क पनि बाहिर आइरहेका छन् । यो तर्कले त्यो पदमा शिवमाया नै रहिरहने र सभामुखका लागि नयाँ चुनाव हुने विषयले स्थान पाउनु त्यति जायज हुँदैन । किनकि नेकपाले आफूले पाउने सभामुख पद सहजै गुमाउन पाउँदैन । 

त्यसैले, नेकपाले सुरुमा उपसभामुखका लागि अन्य दलबाट एकजना उठाउने निक्र्योल पहिले गर्छ । यसका लागि उसले उसँगका साझेदार वा संसदमा रहेका अन्य दल समाजवादी पार्टी, राजपा, राप्रपा वा नेमकिपाबाट एकजनालाई उपसभामुखमा प्रस्तावित गर्न सक्छ । यसमा सबैभन्दा बलियो सम्भावना समाजवादी पार्टीको भएको नेकपाका नेताहरुको छलफलमा सुनिन थालेको छ । 

‘सरकारमा पनि समावेश भएकाले समाजवादी पार्टीबाटै उपसभामुख चयन हुनसक्छ,’ एक नेताले भने, ‘त्यसो त कुराकानी मिलेको खण्डमा कांग्रेसलाई नै पनि उपसभामुख पद दिन त्यति समस्या हुँदैन ।’

तर, यो सबका लागि शिवमायाले पहिले उपसभामुख पद छोड्नु पर्ने हुन्छ । त्यसका लागि उनी पार्टीले भनेको खण्डमा तयार पनि रहेको जानकारी दिइसकेकी छिन् ।

 

काङ्ग्रेस नेताको आशः उपसभामुख चाहिँ पक्कै पाइन्छ

यो सब प्रक्रियाबाट गुज्रनु पर्ने भए पनि कांग्रेस वृत्तमा चाहिँ उपसभामुख पद आफूहरुले पाउने चर्चा हुन थालेको छ । 

‘नेकपा अहिले बहिष्कारको राजनीति गरेर अगाडि बढ्ने देखिँदैन,’ नेपाली काङ्ग्रेसका एक नेताले भने, ‘यो विषयमा दुई पार्टीबीच छलफल हुँदा त्यति ठूलो समस्या होला भन्ने लाग्दैन । नेकपाले यसलाई त्यस्तो ठूलो इस्यु नबनाउला ।’

  • प्रकाशित मिति : असोज ३०, २०७६ बिहीबार १६:१२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया