एक तानाशाह जो दैनिक २५ पटक रक्सीले धुन्थे हात

एजेन्सी– अहिले धेरैलाई विश्वास नहुँदो हो, ६० को दशकमा रोमानियामा निकोलस चाचेस्कुको यस्तो ठूलो प्रभाव थियो कि उनले रोमानियामा २५ वर्ष शासन मात्र गरेनन्, आफ्नो देशको कुरा मिडियामा बाहिर जानबाट पनि रोके । यतिमात्र होइन, उनले खानेपानी, तेल तथा औषधिसमेतमा कर लगाइदिएका थिए । 

यसको कारण त्यहाँ भोकमरी फैलिएको थियो, हजारौँ मानिसले ज्यान गुमाएका थिए ।

तैपनि निकोलसलाई त्यहाँको नेता मानिन्थ्यो, उनकी पत्नी एलिनालाई राष्ट्रमाताको उपाधि दिइएको थियो ।

रोमानियामा भारतका राजदूत राजीव डोगरा थिए । निकोलसको शासन अन्त्य भएको दश वर्ष हुँदा पनि मानिसहरु उनको विषयमा कुरा गर्ने र उनीसँग डराउने गरेको अनुभव उनले बिबिसी हिन्दीसँग सेयर गरेका छन् । ‘मानिसहरु आफ्नो छायासँग पनि डराउँथे,’ उनले भनेका छन्, ‘आफूलाई कसैले फलो गरिरहेको त छैन भन्दै उनीहरु डराइरहेका हुन्थे ।’

एक रमोनियाकी महिला थिइन्, कार्मेन बुगान । उनका पिताले निकोलसको विरोध गरेका थिए । यसको प्रतिफलमा के भयो भने उनीहरुको घरमा बोलिएका सबै कुरा रेकर्ड गर्न थालिए । सन् १९८२ को १० मार्चमा निकोलसका सुरक्षाकर्मीले उनको घरमा छापा मारे । 

तिनै बुगानले बिबिसीलाई भनेकी छिन्, ‘म त्यो दिन स्कुलबाट फर्किएकी थिएँ । घरभर प्रहरी मात्र थिए । मेरो घरमा माइक्रोफोनहरु जोडिएको थियो ।’  आफ्ना बाबुले निकोलसको विरुद्धमा पर्चा बाँड्ने गरेको र उनी भूमिगत भएको ती महिलाले बताएकी छिन् । त्यसरी छापा मार्न आएको प्रहरीले आफ्नो घरमा भएको सबै खाना लिएर गएको र आफू तीन सातासम्म पानीमा मात्र बाँचेको उनले बताएकी छिन् । 



निकोलसको उचाइ ५ फिट ४ इन्चमात्र थियो । तर, उनले रोमानियका फोटोग्राफरहरुलाई आदेश दिएका थिए– यसरी मात्र फोटो खिच्नु कि मेरो उचाइ सबैभन्दा अग्लो देखियोस् । उनी ७० वर्षको हुँदा उनका त्यस्ता फोटोहरु मात्र प्रकाशनमा आउँथे जुन उनी ४० वर्षको हुँदा खिचिएिका हुन्थे । 

निकोलसकी पत्नीले पनि १४ वर्षमा पढ्न छाडेकी थिइन् । तर, जब निकोलस सत्तामा आए, एलिनासँग पिएचडीको सर्टिफिकेट भएको कुरा रोमानियामा फैलाइएको थियो ।



निकोलस खासमा विश्वशक्ति बन्न चाहन्थे । त्यसका लागि रोमानियाको जनसंख्या धेरै हुनु पर्ने उनको धारणा थियो । त्यसैले रोमानियामा गर्भपतन गर्न नपाइने नियम लगाइएको थियो । त्यति मात्र होइन, निकोलसले रोमानियाको राजधानी बुकारेस्टमा एउटा यति ठूलो भवन बनाए कि अहिले पनि भवनका ७० प्रतिशत कोठाहरु खाली छन् । यो भवन बनाउन १५ हजार मजदूरले काम गरेका थिए ।

निकोलसको जीवनी समेटिएको एउटा पुस्तक पनि प्रकाशन भएको छ । त्यसमा लेखिएको छ, ‘निकोलस निकै धेरै सचेत थिए, उनी इन्फेक्सनबाट बच्न दिनमा बीस पटक रक्सी वा मदिराले आफ्नो हात धुन्थे ।’

निकोलसले चाहिँ सोभियत संघको कहिल्यै पनि समर्थन गरेनन् । बरु उनी सोभियत संघलाई रिस उठ्ने कामहरु गर्थे । त्यसका लागि उनी आफ्नो देशमा कहिले चीनका प्रधानमन्त्री बोलाउँथे त कहिले अमेरिकी राष्ट्रपति । 

यतिमात्र होइन, आफ्ना भ्रान्तिहरु उनी निकै सहज ढंगले अगाडि बढाइरहेका हुन्थे । उनी जन्मिन चाहिँ अत्यन्त गरिब परिवारमा जन्मिएका थिए । उनी स्कुल पनि नाङ्गै खुट्टा जाने गर्थे भन्ने एक फ्रेन्च प्रोफेसरले आफ्नो किताबमा लेखेका छन् । तर, उनी रोमानियाका स्कुलमा पढाइने पुस्तकहरुको पहिलो पानामा आफ्नो फोटो छपाउँथे, त्यहाँका पत्रिकाहरुलाई उनको विषयमा दैनिक ठूला समाचार लेख्न लगाउँथे ।

सन् १९७९ मा उनी बेलायत पुगेका थिए । त्यहाँ बेलायती महारानीले उनको निकै भव्य स्वागत गरेकी थिइन् । तर, निकोलसले जो कसैसँग पनि हात मिलाएपछि मदिराले हात धुन्थे । यसले चाहिँ बेलायती महारानीको मनमा नमीठो भाव पैदा गरिदिएको थियो । त्यति मात्र होइन, उनले एक दिन विहान निकोलसले आफ्ना सुरक्षाकर्मीसँग कुराकानी गरेको बगैँचामा पनि सुनिन् । त्यसपछि बेलायती महारानीले निकोलससँगको सम्बन्धलाई वास्ता गर्न छोडेको फ्रेन्च पत्रकारले लेखेको एउटा पुस्तकमा उल्लेख गरिएको छ ।

तर, निकोलसको अन्त्य चाहिँ सहज भएन । रोमानियामा जे काम गर्दा पनि उनको अनुमति लिनु पर्ने हुन्थयो । सन् १९७९ को १७ डिसेम्बरमा उनका सैनिकले प्रदर्शनकारीमाथि गोली चलाएपछि त्यहाँ प्रदर्शन निकै चर्किन थाल्यो । त्यहाँका जनता कति आक्रोशित थिए भने उनले गरिरहेको एउटा भाषणमा नै उनीमाथि आक्रमण हुन थाल्यो । पूरै देशमा विरोध कार्यक्रम बढ्न थाल्यो । पूरै रात त्यहाँका सैनिकले विद्रोहीमाथि गोली चलाए । तर, उनका सबै योजना असफल रहे । 

कतिसम्म भने अर्को दिन सेनाले पनि विद्रोहीको साथ दिन थाल्यो । प्रदर्शनकारीले निकोलसको घर घेर्न थालिसकेका थिए । 

अब निकोलस हेलिकोप्टरमा भाग्ने भए । तर, उनलाई उनको भवनको लिफ्टले साथ पनि दिएन । त्यही भवनको छतमा राखिएको हेलिकोप्टरमा उनी भाग्नका लागि पाइलट नेर घुँडाले टेकेर बसेका थिए । 

त्यो हेलिकोप्टरमा ती पाइलटले निकोलस र उनकी पत्नीलाई रोमानियाको राजधानीभन्दा केही पर लगेर छोडे । उनीहरुसँग एकजना अंगरक्षक पनि थिए । 

तर, त्यही दिन निकोलस गिरफ्तारमा परे । क्रिसमसको त्यो दिन निकोलसमाथि एक सैनिक अदालतमा मुद्दा लगाइयो । उनी र उनकी पत्नीलाई हातमा हतकडी लगाएर उभ्याइएको थियो । त्यसपछि उनीहरुमाथि मृत्युको सजाय सुनाइयो । 

दुवैलाई अलगअलग गोली हानेर मारिने भनिएको थियो । तर, एलिनाले सँगै मर्न चाहिन् । अनि दुवैलाई एकै ठाउँमा राखेर गोली हानेर मारियो । 

२५ वर्षसम्म रोमानियमा शासन गरेका तानाशाह निकोलसको अन्त्य भयो ।

त्यसैले अहिले पनि रोमानियामा एउटा कुरा निकै प्रचलनमा छ, जसलाई माक्र्सले भनेका थिए– मानिसहरु आफ्नो इतिहास आफैं बनाउँछन् तर इतिहास कहिल्यै पनि उनीहरुको चाहनाअनुसार बन्दैन ।

  • प्रकाशित मिति : कात्तिक २, २०७६ शनिबार १७:२०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया