तिहारमा बालबालिकाका निम्ति युट्युबमार्फत वर्णमाला उपहार

काठमाडौं– मौलिक र स्तरीय बालरचनाको अभावलाई ध्यानमा राखेर नेपालयले बालबालिका निम्ति नेपाली भाषामा बालरचना निर्माण गर्न सुरु गरेको छ । नेपालयले नेपालभित्र र विश्वभर छरिएर रहेका नेपालीभाषी बालबालिकाहरूमै समर्पित हुनेगरी यो काम अघि बढाएको हो ।

यस्ता गीतमा शिशु कक्षादेखिका बालबालिकालाई शैक्षिक हिसाबले समेत काम लाग्नेगरि बाह्रखरी, अंकगणितसँगै विविध विषय समेटिएका छन् । बालबालिकाको मनोभावलाई सुहाउनेगरी संगीतकार आभासले बालरचना तयार गरेका छन् । आभासले केटाकेटीका निम्ति तयार पारेका बालगीत पहिले पनि लोकप्रिय भइसकेका छन् ।

‘आफ्नै पारिवारिक परिवेशका निम्ति उपयुक्त बालगीतको खोजी गरिरहेका आभासलाई मैले यस क्षेत्रमा उनले पुरानै सीप र अनुभव प्रयोग गरेर नयाँ गीत तयार पार्न सक्ने अनुरोध गरेको थिएँ,’ नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘केही महिनामै उनले वर्णमालामा आधारित गीत नै तयार पारिदिए ।’ किरणका अनुसार यस्ता बालगीतलाई पुस्तकाकारमा पनि पब्लिकेसन नेपालयले तयार पारेर सर्वत्र उपलब्ध गराउने तयारी गरिरहेको छ । 

आभासले केटाकेटीका निम्ति त्यस्ता शिक्षाप्रद र रमाइला गीतको सेटै केही समयमा तयार पारिसक्ने जानकारी दिएपछि नेपालयले यसतर्फ काम अघि बढाउन थालेको थियो । आभासले विविध विषय समेटिएका झण्डै ४० वटा बालगीत तयार पारिसकेका छन् । तिनलाई क्रमशः कार्टुन चलचित्रसहित ‘नेपाली बालरचना’ च्यानलमार्फत सार्वजनिक गरिने नेपालयले जानकारी गराएको छ ।

यसैक्रममा नेपाली चाड तिहारको सुअवसर पारेर युट्युबमार्फत् बालबालिकालाई उपहार स्वरुप वर्णमालामा आधारित गीतको शृंखला सार्वजनिक गरिने भएको हो । ‘नेपाली बाल रचना’मा संकलित वर्णमालाका यी गीतलाई बालबालिकाले अब कार्टुन चित्रसहित हेर्न र सुन्न सक्नेछन् ।

आभासले तयार पारेका वर्णमालाका गीतमा गायिका मिना निरौला र बेनुका राईले स्वर दिएका छन् । निकट भविष्यमै ‘स्वर माला’ पनि सार्वजनिक हुने जानकारी उत्पादक संस्था नेपालयले गराएको छ । स्वर मालालाई रमाइलो बनाउने उद्देश्यले आभासले ‘अक्कलमान’ नामको चरित्र उभ्याएका छन्, जसलाई उनी स्वयंले गाएका छन् ।



नेपालयले यसरी तयार भएका प्रारम्भिक सिर्जना युट्युब र सामाजिक सञ्जालमा ‘नेपाली बाल रचना’को नामले उपलब्ध गराउने जानकारी ६ महिनाअघि नै गराइसकेको थियो । आभासले अलिक अगावै तयार पारेका यस्ता केही बालगीतलाई ललितपुरको डिएभी स्कुलस्थित सभाकक्षमा आयोजित पलेँटी उत्सवका वेला प्रस्तुत पनि गरेका थिए । त्यसैगरी आफैँले संयोजन गर्दै आएको पलेँटी शृंखलामा पनि आभासले ती गीतको झलक सुनाउँदै आएका छन् ।

‘बालबालिका निम्ति बालरचना तयार गर्दा मैले उनीहरूकै जिज्ञासाका विषय छानेको छु, बेलाबखत पलेँटीमा त्यसको झलक प्रस्तुत पनि गरेको थिएँ,’ गीतकार तथा संगीतकार आभासले भने– 'मैले मेरो छोराका निम्ति तयार पारेका यी बालगीत अब विश्वभरिका नेपालीभाषी केटाकेटीले उपयोग गर्नसक्ने गरी सार्वजनिक हुँदै छन्, यसले नेपालीभाषाको आँगनलाई जोगाउन मद्दत गर्छ भन्ने कामना छ।’ यी गीतले केटाकेटीलाई एकसाथ रमाइलो प्रदान गर्दै शिक्षाप्रद र ज्ञानगुनका कुरा प्रवाहित गर्न सहयोग पुग्ने विश्वास रहेको कुरा आभास बताउँछन् ।



आफ्ना बालबालिकालाई नेपाली वर्णमाला सिकाउन इच्छुक सबै अभिभावकले आजैदेखि अब https://www.youtube.com/balrachana च्यानलमा गएर आफूले समेत आनन्द लिन सक्नेछन् । 

  • प्रकाशित मिति : कात्तिक ५, २०७६ मंगलबार १५:५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया