शरदको ‘द वाइल्ड जर्नी: म्यान भर्सेस वाइल्डमा ग्रिल्सलाई भेट्ने धोको

घुमफिर गर्न कसलाई मन नहोला र ? तर, समय व्यवस्थापन, आर्थिक स्रोत व्यवस्थापन तथा कामको प्रेसरले जो कोहीलाई निस्फिक्री घुम्न जान दिँदैन । घुमफिर गर्न मन हुने तर अनेक वाहनाले अल्मलाएकाले निस्कने आँट नहुने युवाहरु बर्गेल्ती भेटिन्छन् । 

सायद, सबैमा हुँदैन घुम्न निस्किनकै लागि शरद कोइरालाको जस्तो हिम्मत !

शरदको जस्तो हिम्मत ! किनकि उनी झन्डै दुई वर्ष पहिले नेपाल घुम्न निस्किँदा न उनीसँग पैसा थियो, न कुनै निश्चित खाका । 

‘गोजीमा सात सय रुपैयाँ लिएर घुम्न निस्किएको म,’ केही दिनअघि बानेश्वरमा शरदले सुनाए, ‘झगडा गरेरै दिदीलाई एउटा झोला किन्न बाध्य पारेँ, आफूसँग भएका किताब बेचेँ अनि नेपाल टुरमा निस्किएँ ।’

काभ्रेको धुलिखेलका शरद पैदल नै नेपाल घुम्न त्यही दिदीले किनिदिएको झोलामा एक थान तन्ना, एक जोर कपडा, नेपालको झन्डा र बुद्धको तस्वीर राखेर २०७४ साल भदौ २० गते निस्किए ।

त्यसपछि सुरु भयो उनको ‘वाइल्ड जर्नी’ । 



शरदले यो हिम्मत डिस्कभरी च्यानलको म्यान भर्सेस वाइल्ड कार्यक्रमबाट जुटाएका थिए । म्यान भर्सेस वाइल्डमा बियर ग्रिल्सलाई बच्चैदेखि फलो गरेका शरदको आँटमा अर्को इँटा थपिदिएका थिए, पुस्कर शाहले । पुस्करको पुस्तक ‘संसारलाई साढे पाँच फन्को’ पढेका २० वर्षे शरदले संकल्प लिए– म पनि हिँडेरै नेपाल घुम्छु । 

अब त उनको यो जोशमा अर्को योजना थपिएको छ– विश्व साइकल यात्रामा निस्कने । योसँगै उनले आफ्ना ‘आइडल’ बियर ग्रिल्सलाई पनि भेट्ने मन बनाएका छन् । 



बियरलाई भेट्ने उनको योजना पूरा होला या नहोला, शरदले आइतबार (जेठ ५, २०७६)बाट चाहिँ विश्व घुम्न साइकलको पाइडलमा खुट्टा राखिसकेका छन् । तर, यो सब शरदको परिवारको इच्छा विपरित हो । 

‘बुवा त मलाई साइकल यात्रामा नजा भन्दै हुनुहुन्थ्यो,’ शरदले सम्झिए, ‘बुवा यस्तो यात्राहरुलाई बकवास भन्नुहुन्छ । तर, मेरो इच्छा साइकल यात्रा गर्ने नै छ ।’ यही दृढ इच्छाशक्तिका कारण शरद यसअघि नेपाल भ्रमणमा निस्किएका थिए । त्यसैले अब जस्तोसुकै समस्या भए पनि उनकै नगरपालिकाले किनिदिएको साइकलको ब्रेक लाग्ने छैन । 

‘नेपाली माटोमा हिँड्दा मैले धेरै अनुभव सँगालिसकेको छु,’ शरदले भने, ‘त्यो अनुभव अब विश्व साइकल यात्रामा सहयोगी हुनेमा विश्वस्त छु ।’

नेपालका सबै जिल्ला पैदल यात्रा गर्दा शरदले दुःखसुख सबै भोग्न पाए, गाह्रोसाह्रो महसुस गर्न पाए । त्यसले आफूमा ‘इनर्जी’ थपेको मान्छन्, शरद । ‘र, यही क्रममा मैले कसरी कम पैसामा बाँच्ने, जंगलहरुमा कसरी सुरक्षित हुने र विभिन्न ठाउँ पुग्दा के कुरामा ध्यान दिने भन्ने पनि सिक्न पाएँ,’ उनले सुनाए । 

धुलिखेलबाट नेपाल घुम्न निस्केका शरद पहिलो रात दोलालघाट पुगेका थिए । दोस्रो दिन बाह्रबिसे, तेस्रो दिन चरिकोट पुगेपछि उनको हिम्मतलाई थप टेवा पुग्दै गयो, उनको यात्रा अगाडि बढिरह्यो । पहिले पूर्वका जिल्लाहरु घुमेका शरदले यसबीच खासै गाडीको प्रयोग गरेनन्, बझाङ–बाजुरामात्र होइन, हुम्ला जुम्ला पनि पुगे । अनि नेपाल छिचोले १४ महिनामा ।

शरदले घरबाट लिएर हिँडेको सात सय त केही दिनमै सकियो । त्यसपछि के गर्ने भन्ने अन्योलमा पर्न थाले शरद । उनले आइडिया निकाले– प्रहरीसँग सहयोग माग्छु । नेपालको झन्डा लिएर नेपाल घुम्छु भन्दै निस्केको एउटा ठिटो देख्दा नेपाल प्रहरीका अधिकांशमा माया पलायो । ‘प्रत्येक जिल्लामा उहाँहरुले ठूलो सहयोग गर्नुभयो,’ शरदले भने, ‘कुनै कुनै ठाउँमा आफूजस्तै युवाहरुबाट पनि सहयोग पाएँ ।’

शरदलाई सहयोग गर्ने यो शृङ्खलामा सामाजिक सन्जालका विभिन्न ग्रुपहरु पनि थपिए । ‘एमआआर भन्ने ग्रुपका साथीहरुबाट पनि निकै सहयोग पाएँ,’ शरदले सम्झिए । 

सहयोग त शरदलाई विभिन्न जिल्लाका स्थानीयले पनि गरे । तर, कहिलेकांही चाहिँ उनले निकै दुःख पनि भोगे । ‘कति ठाउँमा त मलाई निकै हेलाँ गरेर गाली गरेजस्तो पनि गरिन्थ्यो,’ आफू बास बस्न जाँदाका घटना शरद सम्झिन्छिन्, ‘दिनभर हिँडेर पुग्दा अनुहार विद्रुप हुन्थ्यो, मलाई राम्रै मान्छे हो, यात्रामा निस्किएको मान्छे हो भनेर पत्याउनेहरु कम हुन्थे ।’ यस्तो अवस्थामा शरद आफूले झोलामा हालेको तन्ना झिक्थे, कुनै एउटा घर वा होटलको छेउ पारेर रात कटाउँथे । 

तस्वीर: शरदकाे फेसबुकबाट ।

शरदले १४ महिने लामो यात्रामा अनेक अनुभव बटुले । लगातार ५६ किलोमिटर हिँडेर बाँके राष्ट्रिय निकुन्ज छिचोलेको दिन, सुदूरपश्चिममा भाषा नबुझ्दा परेका समस्या, त्यहाँको खानपिन र लवज, प्राकृतिक सौन्दर्य र नेपालीको आत्मीयता शरदको मनमा ढुंगामा खोपिएको नामजस्तै नमेटिने गरि बसेका छन् ।

यी सम्झनालाई लिएर शरद अब विश्व यात्रामा निस्किएका हुन् । वाइल्ड भर्सेस म्यानबाट प्रभावित शरदको योजना छ– १०–१२ वर्षमा विश्व घुमेर सक्ने । 

बाबुआमाले जापान–कोरिया गएर पैसा कमा भनिरहँदा शरद किन यसरी विश्व घुम्न चाहन्छन् त ?

‘विश्वमा नेपाल चिनाउन,’ विश्व यात्रामा निस्कने सबैले दिनेजस्तै यो वाक्य बोलिसकेपछि शरदले थपे, ‘र, ती ठाउँबाट लिएको अनुभव र विकसित देशका प्रविधि नेपाल भित्र्याएर केही गर्न चाहन्छु म !’

  • प्रकाशित मिति : कात्तिक ७, २०७६ बिहीबार ०:४१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया