Fri, 15 Nov, 2019


[कमनरकाे कथा] सनिक्ष राम जसलाई लाग्छ, काम पाए पनि उनी भक्तपुरमा ‘बाँच्न’ पाएका छैनन्
मनिषा पाैडेल
फरकधार / कात्तिक ७, २०७६

सनिक्ष रामसँग महोत्तरीबाट काठमाडौं पस्दा जुन जोश थियो, त्यो अहिले लगभग हराइसकेको छ । 



महोत्तरीबाट काठमाडौं आएका ३० वर्षका सनिक्षले सपना ‘सानो’ देखेका थिए, काठमाडौंमा जीवन बिताइरहेकाहरुका लागि । तर, उनका लागि त्यो सपना ठूलो थियो । यति ठूलो कि मानौँ यो कतै परको क्षितिज हो र त्यहाँ पुग्दा त्यो हराइजान्छ । 

सनिक्षलाई काठमाडौं पनि त्यस्तै क्षितिज भयो; उनी यहाँ आएपछि जे गर्छु भन्ने सोचेका थिए, त्यस्तो भएन; उनी यहाँ आएपछि जे हुन्छु भनेका थिए, त्यो भएन; उनले काठमाडौं सपना जुन बनाएका थिए, त्यो पूरा हुन पाएन; उनले काठमाडौंप्रति जुन विश्वास पालेका थिए, त्यो यहाँ पाएनन्; उनले जस्तो काठमाडौं कल्पना गरेका थिए, काठमाडौं त्यस्तो रहेन; उनले जुन विरक्ति मेट्छु भनेका थिए, त्यो मेटिएन, झन् बढ्यो ।

खासमा सनिक्षको कथा सुरु हुन्छ, उनको बाल्यकालबाट । महोत्तरीमा उनका बाबु खेती किसानी गर्थे । आफ्नो खेत भन्ने खासै थिएन । त्यसैले साहुको खेत कमाउनु पथ्र्यो । 

घरमा काम गर्ने मान्छेको सधैं अभाव हुन्थ्यो । त्यसैले सनिक्षका बाबुले ‘आइडिया’ लगाए, घरमा ‘बुहारी’ ल्याउने भए । 

‘१६ वर्ष अगाडि नै बिहे भयो,’ पुरानोठिमीको बाहाखा चोकमा जुत्ता सिलाइरहेका सनिक्षले भने, ‘बिहेपछि मलाई बोझ थपियो ।’

त्यही बोझले विरक्त बनायो सनिक्षलाई । त्यसमाथि सनिक्षकी आमा बिरामी परिन्, औषधिमूलो गर्ने पैसाको अभाव नै भयो ।

दमकी बिरामी आमालाई औषधि किन्न नपुग्ने परिवारमा वर्षभरलाई खान पुग्ने अवस्था पनि थिएन । त्यसमाथि विवाहपछि सनिक्षका चार सन्तान भए, अनि बाबुलाई बुढ्यौली लाग्दै गयो ।

‘घरको बोझ सबै मेरो टाउकोमाथि पर्यो,’ सनिक्षले भने, ‘अनि विरक्त लाग्न थाल्यो, जीवनदेखि ।’ 

त्यही विरक्तीले सनिक्षलाई काठमाडौं ल्याएको हो, केही गर्ने सपना बोकाएर । 

‘तर, काठमाडौं आउँदा मेरो हातमा कुनै सिप थिएन,’ सनिक्ष हाँसे, ‘काठमाडौं त महोत्तरीभन्दा गाह्रो ठाउँ रहेछ, म यहाँ भौँतारिन थालेँ ।’ तर, सनिक्षलाई थाहा थियो, उनकै गाउँको काका पर्ने एकजना कलंकीमा बस्छन् । उनी कलंकी पुगे, काकालाई खोज्न थाले । 

‘उहाँले जुत्ता सिलाउने काम गर्नुहुन्छ भन्ने थाहा थियो,’ सनिक्षले भने, ‘मैले पनि काकासँग काम सिकाइ मागेँ, काम सिकेपछि धुन्चेपाखामा बस्न थालेँ ।’ भक्तपुर सनिक्षको रोजाइ किन बन्यो भने यहाँ उनलाई कोठाभाडा सस्तो पथ्र्यो । 

तर, भक्तपुरका सुरुवाती दिनका मीठा सम्झना छैनन् सनिक्षसँग । उनीसँग त नरमाइला पल छन्, मन कुटुक्क खाएका सम्झना छन् । ‘सबैले हेप्थे यहाँ,’ उनले भने, ‘सबैले मधेशी भन्थे, मुखभर जेजे आउँथ्यो, त्यही भन्थे ।’

कहिलेकांही त मानिसहरुले यतिसम्म भन्थे कि सनिक्ष सोच्न बाध्य हुन्थे, ‘के म पनि मान्छे नै हुँ ?’

अनि उनी फर्किन्थे, आफ्नो विगतमा । 

सानोमा स्कुल गएको खासै सम्झिँदैनन् सनिक्ष । ‘पढ्न कहाँ पाउनु ?’ उनको प्रश्न छ, ‘हामीले पढ्न कसरी पाइन्थ्यो र ?’ उनका साहुका छोराहरु चाहिँ स्कुल ब्याग भिरेर पढ्न जान्थे । त्यति बेला पनि आफू के हुँ भन्ने प्रश्न सनिक्षको मनमा आउँथ्यो । तर, यही प्रश्न पनि पूरै सोच्न पाउनुभन्दा अगावै सनिक्ष कुनै काममा लागिहाल्नु पथ्र्यो । 

त्यही प्रश्न सोच्दा जस्तो महसुस हुन्थ्यो सनिक्षलाई, त्यस्तै सामना गरे उनले भक्तपुरमा सुरुवाती दिनमा । 

‘अहिले पनि कहाँ मलाई कसले राम्रोसँग बोलाउँछ र ?’ सनिक्ष भन्छन्, ‘म नेपाली हुँ तर कसैले मलाई नेपाली जस्तो गर्दैनन् ।’ 

त्यसैले उनलाई लाग्छ, ‘भक्तपुरमा अलिअलि काम त गरेको छु तर राम्रोसँग बाँच्न पाएको छैन ।’

अहिले जेनतेन आफ्नो घरको खर्च त जुटाइरहेका छन्, सनिक्षले । सँगै उनलाई साथ दिन थालेका छन् उनका दुई छोराहरुले । ‘एउटा छोरो इन्डिया गएको छ काम गर्न,’ सनिक्षले भने, ‘अर्को यहाँ नै मसँग सिकिरहेको छ ।’

तर, सनिक्षको गुनासो यसमा होइन, अहिले चलिरहेको उनको जीवनमा होइन । ‘भक्तपुरमा सम्मानका साथ बाँच्न पाइए हुन्थयो,’ उनी भन्छन् । उनी त कामलाई कसैले नहेपे हुन्थ्यो भन्नेमा छन् । ठूलो आस र चाहना सनिक्षसँग केही छैन, बस उनी त अरुले मधेशी भएको र जुत्ता सिलाएकोमा नै नहेपुन् भन्ने चाहन्छन् ।

बरु उनीसँग प्रश्न छ, ‘सबै डाक्टर र इन्जिनियर हुने हो भने तिनीहरुले लगाउने जुत्ता र कपडा कसले सिलाउने ?’


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्