केकीको घरमा कसैलाई आउँदैन सेलरोटी पकाउन

काठमाडौं– आज नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन । तिहार रंगीचंगी पर्व हो, उज्यालोको पर्व हो । सँगसँगै तिहारमा घरघरमा मिठाइहरु पनि पकाइन्छ । 

अभिनेत्री केकी अधिकारीलाई पनि तिहार त्यत्तिकै राम्रो लाग्छ । तिहारमा हुने झिलिमिली बत्ती र फूलहरुले उनको मन लोभ्याउँछ । ‘तिहार उज्यालो पर्व हो नि त,’ उनले फरक धारसँगको टेलिफोन कुराकानीमा भनिन्, ‘त्यसै भएर पनि मेरो मन तिहार आएपछि फुरुङ्गै हुन्छ ।’

तिहारमा केकीले आफ्ना चार दाजुभाइलाई टीका लगाइदिन्छिन् । ‘गिफ्ट भन्ने चाहिँ थाहा छैन,’ उनले भनिन्, ‘म दाइहरुलाई भाइ मसला दिन्छु, उहाँहरु मलाई दक्षिणा दिनुहुन्छ ।’

तर, तिहारमा दाजुभाइसँग हुने यो टिकाटालो भन्दा पनि केकीलाई तिहारमा गरिने जनावरहरुको सम्मान विशेष लाग्छ । ‘तिहार मलाई किन पनि औधी मन पर्छ भने अरु चाडवाडमा जनावरको हिंसा गरिन्छ, जनावर काटमार गरिन्छ,’ केकीले भनिन्, ‘तर, तिहारमा जनावरको नै विशेष पूजा गरिन्छ । यसले पनि मलाई तिहार औधी मनपर्छ ।’

केकी तिहारमा भैलो खेलेको सन्दर्भ पनि सम्झिन्छिन् । तर, आजभोलि उनी देउसी वा भैलो खेल्ने सोचमा नै पुगेकी छैनन् । पहिले सानोमा देउसी खेल्दाका भने पल पल उनलाई सम्झना छ । 

‘सानो हुँदा त देउसी खेलेपछि एक वर्षसम्म नै त्यसको सम्झना भइरहन्थ्यो,’ केकीले भनिन्, ‘देउसीमा उठेको पैसा बाँड्ने, पिकनिक जाने जस्ता कामहरु अलिक पछि हुन्थे । अनि देउसी र त्यस्ता कार्यक्रमले दिने झङ्कार पछिसम्म रहिरहन्थ्यो ।’



तिहारमा अधिकांश नेपालीको घरमा सेलरोटी पकाउने चलन छ । चलन त केकीको घरमा पनि छ । तर, उनको आफ्नै घरमा चाहिँ अहिलेसम्म तिहारमा सेलरोटी पाकेको छैन । 

‘घरमा सेलरोेटी पकाउन कसैलाई आउँदैन,’ केकीले भनिन् । 



केकीकी आमालाई पनि सेलरोट पकाउन नआउने भएकाले उनले पनि कहिल्यै सेलरोटी पकाउन सिकिनन् । 

अनि अब तिहारमा सेलरोटी नै खानुहुन्न त भन्ने प्रश्न सुनेपछि केकी हाँसिन् अनि भनिन्, ‘हाम्रोमा त पहिले देखि नै सेलरोटी मामाघरबाट ल्याउने चलन छ ।’

  • प्रकाशित मिति : कात्तिक ८, २०७६ शुक्रबार १३:५४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया