काठमाडौं– सरकारले सार्वजनिक यातायातको भाडादर निर्धारणलाई वैज्ञानिक बनाउन अध्ययन सुरु गरेको छ ।
अहिलेसम्म ३५ प्रतिशत पेट्रोलियम पदार्थ र ६५ प्रतिशत जनशक्तिबापत लाग्ने खर्च र सवारीसाधनमा प्रयोग हुने उपकरणलगायतलाई आधार बनाएर भाडादर निर्धारण हुँदै आएकामा यही आधार ठीक हो–होइन भनी निर्क्याेल गर्न अध्ययन थालिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
एक दशक पहिलेदेखि सुरु भएको भाडादरको आधारमा पुनरावलोकन गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनले भने, ‘केही महिनाभित्रमा त्यसको अध्ययन हुनेछ ।’
अहिलेसम्म सरकारले १८ सूचकलाई आधार बनाएर भाडा निर्धारण गर्दै आएको थियो । ती सूचक बढ्न वा घट्न सक्ने उनको भनाइ थियो । भाडा निर्धारण सूचकमा पुनरावलोकन भएपछि मात्रै भाडा समायोजन गरिने महानिर्देशक हमालले बताए । यातायात व्यवसायी महासंघले सरकारले समयसमयमा भाडा समायोजन गर्नुपर्नेमा जोड दिँदै आएको थियो ।
पेट्रोलियम पदार्थका मूल्यलाई आधार बनाएर भाडा समायोजन भए पनि सवारी साधनका उपकरण र जनशक्तिको सुविधाका आधारमा लामो समयसम्म भाडादर समायोजन हुन नसकेको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।