प्रचण्डसँग दूरी बढ्ने सम्भावना छैन: ओली
फाइल तस्वीर

काठमाडाैं– प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग आफ्नो दूरी बढने सम्भावना नभएको बताएका छन् । 

असंलग्न राष्ट्रहरुको बाकुमा आयोजित १८ औं सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अर्का अध्यक्ष दाहालसँग दुरी बढने कुनै अवस्था नरहेको बताए । 

‘रमाईलो कुरा गर्नु भयो, काठमाडौं हुँदा भन्दा बाकुमा हुँदा टाढा त हुनै नै भयो,’ प्रधानमन्त्री ओलीले व्यंग्यात्मक शैलीमा भने, ‘यसभन्दा बाहेक दुरी बढेको छैन, दूरी बढेको भन्ने गणित चाँही मिलेन । हामी बीच कुनै प्रकारको दुरी बढने सम्भावना र अवस्था छैन ।’  प्रधानमन्त्री ओली र दाहालबीच पछिल्लो समय दुरी बढेको समाचार समाचार माध्यममा आएको थियो ।

दाहालले मदन भण्डारीसँग आफूलाई तुलना गरेको भन्ने संचारकर्मीको प्रश्नमा उनले कुन प्रसंगमा त्यसो भनेको थाहा नभएको र आफुले नसुनेको बताए । ‘म यति भन्न सक्छु, उहाँले म मदन भण्डारीको विचारहरुलाई लिएर पार्टीलाई समय अनुकूल अगाडि बढाउँछु, बढाउने इच्छा राख्छु भन्नु भएको हुनुपर्छ,’ उनले भने, ‘त्यसकारण यस विषयलाई लिएर आफूहरुबीच दुरी बढेको भन्न मिल्दैन, बरु दुरी घटेको भन्नुपर्छ ।’





  • प्रकाशित मिति : कात्तिक १०, २०७६ आइतबार १७:२३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया