काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार बिहान धापासीमा रहेको ग्रान्डी अस्पतालमा लगियो । अहिले उनी त्यहाँ भर्ना भएर उपचार गराइरहेका छन् ।
बुधबार अचानक यो समाचारले देशका मिडियामा स्थान पायो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले विभिन्न मिडियालाई भनेका छन्, ‘उहाँ नियमित स्वास्थ्य जाँचका क्रममा ग्रान्डी जानु भएको हो ।’ मानौँ, प्रधानमन्त्री आज पहिलो पटक ग्रान्डी पुगेका हुन् ।
तर, वास्तविकता यस्तो होइन । प्रधानमन्त्री निवास बालुवाटारका एक अधिकारीले चाहिँ प्रधानमन्त्री तिहारअघि पनि बारम्बार ग्रान्डी गएको बताएका छन् । ‘उहाँ तिहारअघि कम्तिमा पाँच पटक स्वास्थ्य परीक्षणका लागि ग्रान्डी पुग्नु भएको छ,’ ती अधिकारीले नाम नलेखिदिन अनुरोध गर्दै भने, ‘उहाँको स्वास्थ्यमा अलिक बढी नै समस्या देखिएपछि उहाँ ग्रान्डी जान थाल्नु भएको हो ।’
यसअघि सामान्य अवस्थामा चेकजाँचका लागि प्रधानमन्त्री ओली महाराजगन्जस्थित शिक्षण अस्पतालमा पुग्ने गरेका थिए । यसपटक केही समययता ओली ग्रान्डी गएका छन् ।
१३ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गराएको ओलीको समयसमयमा स्वास्थ्यम जाँच गर्ने गरिएको छ । दुई महिनाअघि मात्र प्रधानमन्त्री ओली सिंगापुर पुगेर स्वास्थ्य उपचार गराएर फर्किएका थिए । त्यहाँ प्लाज्माफेरेसिस प्रक्रियाबाट शरीरमा भएको एन्टीबडी नस्ट गरेर प्रधानमन्त्री ओली दुई साता लामो अस्पताल बसाइपछि नेपाल फर्किएका थिए । त्यसपछि पनि ओलीले काठमाडौंमा नियमित स्वास्थ्य जाँच गराइरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।